राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको छ : प्रचण्ड

 चैत २८, २०७७ शनिबार १४:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताउनु भएको हो । यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौं । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो विडम्बनाको स्थिति हो ।’

सरकारले कानुनअनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि प्रचण्डले बताउनुभयो । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्नतर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताउनुभयो ।

यस्तै सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे । लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उहाँकाे भनाइ छ ।

‘साँच्चै संविधानलाई मिच्ने नै कोसिस जारी रहयो यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुस र स्वेच्छाचारी ढङ्गले नै जाने कोसिस भयो भने एउटा अर्को नयाँ खालको विद्रोहमा हामी सङ्गठित हुनुपर्ने, विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ’, उहाँले भन्नुभयो  ‘हामी त्यो परिस्थिति आउनु भन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकार मार्फत यो बिचमा भएका ज्यादतिहरुलाई सच्याउन चाहन्छौं ।’

सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरुलाई अगाडि बढाउन नचाहँदा कतिपय ऐनहरु बन्न नसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । निजामती कर्मचारी ऐन पनि प्रधानमन्त्रीले नै रोकेका कारण संसदमा आउन ढिलाे भएकाे बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया