राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
लमजुङ– जन्मथलो एउटै, विचार, भावना एउटै, उद्देश्य पनि एउटै । त्यसैले पनि सानैदेखि प्रगाढ सम्बन्ध थियो, भगत खत्री र अजय मिश्रको । उहाँहरू दुवै जनाको घर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर हो ।
दुवैको सानैदेखिको सपना थियो– ‘आफ्नो कर्मबाट देशको पहिचान विश्वसामु पुर्याउने ।’ त्यसैले दश जोड दुईसम्मको अध्ययनपछि उहाँहरूले साइकल तथा पैदल यात्रा गरी विश्व भ्रमण गर्ने योजना बनाउनुभयो ।
‘त्यति बेला साइकलको प्रयोगको प्रचलन बढी नै थियो । त्यसैले साइकलबाट विश्व यात्रा गरौँ भन्ने दुवैको योजना भयो । आफ्नो देशको मौलिक कला, परम्परा, संस्कृति विश्वसामु पनि पुर्याउन सकिने सोचेर हामीले विश्व साइकला यात्रा सुरु गरेका हौँ’, साइकल यात्री अजय मिश्रले भन्नुभयो ।
उहाँहरूले २०६१ साल साउन १८ गते ठिमीबाटै विश्व साइकल यात्रा सुरु गर्नुभएको हो । सुरुमा उहाँहरूले देशका ४७ जिल्लामा साइकलबाटै यात्रा गरी अन्य देशको यात्रामा निस्कनुभएको हो ।
१७ वर्षमा सय देशकाे भ्रमण
अहिलेसम्म उहाँहरूले साइकल र पैदल यात्राबाट एसिया, दक्षिण एसिया, पूर्वी एसिया, अस्ट्रेलिया, खाडी देश, पश्चिम एसियाका साथै अफ्रिका, युरोपलगातका एक सय देश भ्रमण गरिसक्नुभएको छ ।
‘१७ वर्षको अवधिमा हामी दुई जनाले सँगसँगै विश्वका एक सय देश भ्रमण गरिसकेका छौँ’, अर्का साइकलयात्री भगत खत्रीले भन्नुभयो ।
देशको झण्डा, गौतम बुद्ध र सगरमाथासँगै देशको पहिचान बोकेर विश्व यात्रामा हिँड्न पाउँदा ज्यादै खुसीको अनुभूति भएको उहाँहरूले बताउनुभयो ।
‘विश्व यात्रामा देशको पहिचान बोकेर हिँड्न पाउँदा ज्यादै खुसी छौँ । अरू देशमा साइकल र ट्रलीमा नेपालको झण्डा, सगरमाथा र बुद्धको तस्बिर राखेर हिँड्दै गर्दा त्यस देशका नागरिकले नेपालको बारेमा थप जिज्ञासा राख्थे’, उहाँहरूले एकै स्वरमा भन्नुभयो, ‘विदेशमा आफ्नो देशको बारेमा बताउन पाउँदा खुसीको झनै सीमा नै हुन्थेन ।’
परदेशमा नेपालीको सहयोग
विश्व भ्रमणका क्रममा विदेशमा रहेका नेपालीबाट राम्रो साथ, सहयोग, समन्वय हुने गरेको उहाँहरूले बताउनुभयो ।
कोरोना भाइरसकाे प्रभावका कारण गएकाे दुई वर्षदेखि उहाँहरूको यात्रा अभियान रोकिएको छ तर पनि उहाँहरू यस समयमा देशभित्रै विभिन्न सामाजिक सेवाका क्षेत्रमा जुटिरहनुभएको छ ।
उहाँहरू अहिले एउटा भ्यानमा रेडिमेड कपडा राखेर बिक्री गर्न देशका विभिन्न सहर, बजार पुग्नु हुन्छ । उहाँहरूले व्यापारबाट आएको २० देखि २५ प्रतिशतसम्म रकम सामाजिक सेवाका क्षेत्रमा खर्चँदै आउनुभएको छ ।
‘समयको सदुपयोग पनि हुने, जीवनयापनका लागि सघाउ पनि पुग्ने भएकाले कपडा बेच्दै हिँडेका छौँ, सँगसँगै व्यापारबाट आएको मुनाफाको केही प्रतिशत सामाजिक सेवाका क्षेत्रमा पनि खर्चँदै आएका छौँ’, अजयले थप्नुभयो ।
देशका विभिन्न ठाउँमा रहेका अनाथ, असहायका साथै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण हुँदै आएको उहाँहरूले बताउनुभयो ।
यसैगरी उहाँहरूले तनहुँको राष्ट्रिय मावि मयखुमा खेलकुदका साथै विभिन्न शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका ६ मा रहेको शान्ति निकेतन प्राविका ४८ जना विद्यार्थीलाई टी–सर्ट र मन्टेश्वरी शैक्षिक सामग्री उहाँहरूले वितरण गर्नुभएको छ ।
सुन्दरबजार नगरपालिकाको सत्रसयमा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयका २८ जना विद्यार्थीलाई एक–एक थान ट्रयाक सुट, मन्टेश्वरी शैक्षिक सामग्रीसमेत वितरण गरिएको उहाँहरूले बताउनुभएको छ ।
‘कोरोना प्रभाव कम भएसँगै यात्रा अघि बढ्छ’
सहज परिस्थिति भएसँगै फेरि साइकल तथा पैदल यात्रालाई अघि बढाउने उहाँहरूले बताउनुभएको छ ।
उहाँहरूले भन्नुभयो, ‘कोरोना प्रभावले हाम्रो यात्रा रोकिएको छ । कोरोना प्रभाव कम हुनुका साथै सहज परस्थिति भएपछि हाम्रो विश्व साइकल तथा पैदल यात्रा अघि बढ्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।