‘हाम्राे जस्ताे उर्बर जमिनमा खान–लाउन पनि नपुग्ने उत्पादन हुन सक्छ ? याे नसुहाउने कुरा हाे’

 बैशाख २, २०७८ बिहिबार १८:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा खाद्यान्नको अभाव नहुने गरी उत्पादन भएको भए पनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताउनुभएकाे छ । बिहीवार नापी कार्यालयबाट अनलाइन प्रणाली 'मेरो कित्ता' मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सरकार लागेको उहाँले बताउनुभयो । 

नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उहाँको जोड छ । दुई/तीन वर्षभित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्ने गरी काम अगाडि बढाएको उहाँले बताउनुभयो । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अलिकति हाम्रो आनीबानीमा सुधार गर्नुपर्ने छ । खाद्यवस्तु हामीलाई पुग्ने गरी हाम्रो देशमा उत्पादन छ तर हाम्रो गलत बानीका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । अलिकति हाम्रा आनीबानी परिवर्तन गर्‍याैँ भने हामीलाई ती कुराहरू पनि पुग्छ । हामी भूमिलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा भूमि आयोग निर्माण गरेका छौँ । त्यसले अब जमिन एकातिर, धनी पुर्जा एकातिर, बसोबास एकातिर, यस प्रकारको स्थितिलाई अन्त्य गरेर त्यसले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या, देखिने अनेक प्रकारका समस्याहरू समाधान गर्न कम्मर कसेर लागेको छ । अर्को भूमि आयोगले काम अगाडि बढाउने छ । कृषिको आधुनिकीकरणको सम्बन्धमा हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत अनेक सुपरजोन, जोन, पकेट आदि यस्ता क्षेत्र तोकेरै एउटा ड्राइभ गर्न खोजेका छौँ । माछा, मासु, दूध, अण्डामा आत्मनिर्भर भइसक्या छौँ । अलिकति ध्यान पुर्‍याए सागसब्जीमा आत्मनिर्भर हुन सक्छौँ । खाद्यवस्तुमा सम्पूर्णरूपमा आत्मनिर्भर हुन सक्छौँ ।’ 

प्रधानमन्त्री ओलीले हाम्रो जस्तो उर्बर देश, मेहनती देश खान लाउन पनि नपुग्ने हाम्रो उत्पादन हुन सक्छ ? भन्दै भन्नुभयाे, ‘यो अत्यन्तै हाम्रो निम्ति अशोभनीय । हाम्रो निम्ति सुहाउँदै नसुहाउने कुरा हो । त्यसकारण यो नसुहाउने कुरा हामीले अन्त्य गर्नुपर्दछ । हामी खाद्यान्न, खाद्यवस्तुका निर्यातक देश हुनुपर्दछ । आयातक होइन । हामीले आयात गर्ने कुरा केही वर्षभित्र छोटो अवधिमै अन्त्य गर्नुपर्दछ । मैले दुई/तीन वर्षभित्रै यी कुरालाई अन्त्य गर्ने सोचिरहेको छु । यसअनुसार हामी विभिन्न ढङ्गले काम गरिरहेका छौँ । हाम्रो व्यापार असन्तुलन भयावह छ, त्यसलाई विगत केही वर्षदेखि क्रमशः घटाउँदै आएका छौँ र हरेक वर्ष ग्यापलाई अलिक न्यारोडाउन गर्ने काम गर्दै आएका छौँ । अब व्यापार असन्तुलनलाई थप असन्तुलन हुन दिँदैनौँ हामी । त्यसलाई सन्तुलनतिर लैजान्छौँ ।’ 

प्रधानमन्त्री ओलीले अन्य कुराहरूमा निर्यातमा जोड दिए पनि लगानी र प्रविधि भने आयात गर्ने बताउनुभयो । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उहाँले कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणमार्फत आत्मनिर्भर हुन जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी लगानी आमन्त्रण गर्छाैँ । प्रविधिमा पनि हामी ल्याउँछौँ । अरू कुराहरू हामी धेरै आयातमा रुचि राख्दैनौँ तर अहिलेसम्म हाम्रो आयात यतिधेरै छ कि आत्मनिर्भरतातर्फ हामीले जानुपर्ने छ । यस सन्दर्भमा हामी कमसेकम कृषिको क्षेत्रमा, जमिनको उपयोगको क्षेत्रमा आत्मनिर्भर हुन सक्यौँ भने आत्मनिर्भरताको सुरुवात अरू क्षेत्रमा पनि हुन्छ । कृषिको आधुनिकीकरण भयो भने, कृषिको व्यवसायिकीकरण भयो भने त्यसले साइडमा कृषि आधारित उद्योगहरू पनि खोल्छ । त्यतापट्टि अब देश लान चाहिरहेका छौँ ।’ 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Pushpa Raj Panthi

    April 16, 2021, 11:58 a.m.

    देशका स्वस्थ युवालाई वैदेसीक नोकर बनाई पठाउने, अनि बुढा बुढीहरुले आफुले खानी बाहेक अरु कसका लागि खेती गर्ने त ? युवा अनि नेताहरु त देशका गहना हुन् नी त !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया