कर्णाली प्रदेश : केन्द्रको निर्णय कुर्दै कांग्रेस

 बैशाख ३, २०७८ शुक्रबार १३:४५:२२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा शुक्रवार (आज) प्रदेश सरकारले संसदबाट विश्वासको मत लिँदैछ । शुक्रवार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन लाग्नुभएको हो ।

तर नेपाली कांग्रेसले कसलाई सहयोग गर्ने भन्ने विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन । शुक्रवार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष सकिएको छ । कर्णालीमा कांग्रेसले कसलाई सहयोग गर्ने भनेर केन्द्रको निर्णय कुरेको छ । केन्द्रले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढ्ने कांग्रेसका सांसदले बताएका छन् । 

नेपाली कांग्रेसका सांसद अमृता शाहीले केन्द्रको निर्णय नआएकाले बिहान बसेको बैठक निष्कर्षविहीन भएकाे र अहिले फेरि बस्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले कांग्रेस, राप्रपा र एमालेकाे माधव–नेपाल पक्षका सांसदको मत पाउने अपेक्षाअनुसार विश्वासको मत लिन लाग्नुभएको हो । कर्णालीमा ३९ सांसदमध्ये एमालेका सभामुखसहित २०, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । मुख्यमन्त्रीले एमालेबाहेक अन्य दलको साथ लिए पनि विश्वासको मत पाउने सम्भावना छैन । 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनादेखि कर्णाली प्रदेश सरकार अल्पमतमा छ । एमालेले गएको चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।     
 

अन्तिम अपडेट: चैत ३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया