चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – गएको बुधवार प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो । दुर्घटना अन्य ११ जना घाइते भए । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र आफन्त बोकेर स्वर्गद्वारी दर्शनमा गएको जीप रुमाले नजिकै सडकबाट खसेको थियो ।
यस्तै गएको चैत ३१ गते दोलखाको बिगु गाउँपालिकाको लादुकमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो । दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको जीप दुर्घटनामा परेको थियो ।
गएको चैत २९ गते चितवनको राप्ती नगरपालिका ११ चिउरीटार खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । यी त केही दिनयता भएका दुर्घटनाका केही उदाहरणमात्र हुन् । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको तथ्याङ्क मात्रै हेर्ने हो भने दुर्घटनामा परेर १३ सय ८३ जनाको ज्यान गइसकेको छ ।
दुर्घटनाको बढ्दो ग्राफ
गएको १० वर्षको तथ्याङ्कलाई केलाउने हो भने गाडी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या निकै बढेको देखिन्छ । आर्थिक वर्ष २०६६/०६७ मा १७ सय ३४ जनाको ज्यान गएको छ । जसमा १२ सय ५२ पुरुष, दुई सय ९३ महिला, एक सय ३६ जना बालक र ५३ जना बालिका रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिनुभयो । आर्थिक वर्ष २०६७/०६८ मा १६ सय ८९ जनाको ज्यान गएकोमा १२ सय ६२ पुरुष, दुई सय २४ महिला, एक सय ४३ बालक र ६० जना बालिका छन् ।
आर्थिक वर्ष २०६८/०६९ मा १२ सय ८१ पुरुष, तीन सय १० महिला, एक सय ५४ बालक र ९२ बालिका गरी १८ सय ३७ जना र आर्थिक वर्ष २०६९/०७० मा १८ सय १६ जनाको ज्यान गएको छ । ज्यान गुमाएकामध्ये १३ सय २० पुरुष, दुई सय ९४ महिला, एक सय ३३ बालक र ६९ जना बालिका रहेका छन् ।
आर्थिक वर्ष २०७०/०७१ मा पुरुष १२ सय २२, महिला तीन सय ६०, बालक एक सय ४१ र बालिका ६४ गरी १७ सय ८७ जनाको दुर्घटनामा ज्यान गएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१/०७२ मा दुर्घटना ह्वात्तै बढेको देखिन्छ । यो आर्थिक वर्षमा १४ सय २७ पुरुष, तीन सय ५९ महिला, एक सय ४१ बालक र ६४ बालिका गरी अघिल्लो आर्थिक वर्षमा भन्दा दुई सय १७ जनाले बढेर दुई हजार चार जनाको ज्यान गएको कुँवरले बताउनुभयो ।
आर्थिक वर्ष २०७२/०७३ मा १४ सय ५५ पुरुष, तीन सय ५९ महिला, एक सय ४१ बालक र ७७ बालिका गरी दुई हजार ६ जना, २०७३ /०७४ मा १७ सय ३६ पुरुष, तीन सय ९१ महिला, एक सय ७८ बालक र ७९ बालिका गरी २३ सय ८४ जनाको ज्यान गएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा १८ सय ७४ जना पुरुष, चार सय ६ महिला, एक सय ७० बालक र ९१ बालिका गरी २५ सय ४१ जना, आर्थिक वर्ष २०७५ /०७६ मा २०६५ जना पुरुष, चार सय ६७ महिला, एक सय ६२ बालक र एक सय चार जना बालिका गरी २७ सय ८९ जना, आर्थिक वर्ष २०७६/०७७ मा १६ सय ९१ पुरुष, तीन सय ६० महिला, एक सय ३६ बालक र ६८ बालिका गरी २२ सय ५५ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
मोटरसाइकल दुर्घटना बढी
आर्थिक वर्ष २०७७/०७८ को अहिलेसम्म भएका सवारी दुर्घटनामा माेटरसाइकलकाे सङ्ख्या धेरै छ । गएको साउनदेखि अहिलेसम्म १२ हजार दुई सय २४ मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि पाँच हजार तीन सय ५९ जीप र कार दुर्घटना परेका छन्, ट्रक तथा ट्याङ्कर १५ सय ५५, १२ सय ८७ बस, चार सय ८२ टिपर, ४५ डोजर, एक सय ६६ माइक्रो बस, ६ सय ७१ ट्र्याक्टर, ६ सय ३६ टेम्पो, अरु १ हजार ५२ वटा दुर्घटना भएका छन् ।
दुर्घटना धेरै हुने मुख्य कारण तीव्र गतिमा गाडी चलाउनु
दुर्घटना हुने धेरै कारणमध्ये तीव्र गतिमा गाडी चलाउनु रहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएकाे चार हजार पाँच सय ६२ घटना रहेका छन् । यस्तै ओभरटेकका कारण दुई सय ३७ वटा, जभाभाबी ढोका खोलेका कारण १० वटा, ट्राफिक नियम उल्लङ्घनका सात सय ५२, जाँडरक्सी खाएका कारण आठ सय ५७ वटा, मोबाइल फोन प्रयोगका कारण तीन वटा र के कारणले गर्दा दुर्घटना भएको हो भन्ने पत्ता लाग्न नसकेका चार सय २१ वटा घटना भएकाे नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
सडक सुरक्षा कमजोर
सडक सुरक्षामा पर्याप्त तयारी नपुगेकाले पनि देशमा सवारी दुर्घटना भयावह बन्दै भएको सडक सुरक्षासम्बन्धी अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्त बताउनुहुन्छ । सडकमा गति मापक यन्त्र जडान नहुनु, सडक बत्ती नहुनु, सङ्केतहरूको उचित व्यवस्था नहुनु र जीर्ण सडकहरूका कारणले पनि दुर्घटना बढेको छ । दुर्घटना कम गराउन गति नियन्त्रण गर्नु अति नै आवश्यक भएको पन्त बताउनुहुन्छ ।
एक सय ५० वटा दुर्घटनामा एक सय वटा दुर्घटना तीव्र गतिको कारण हुने गरेको उहाँको भनाइ छ । यस्तै अधिकांश दुर्घटना दिउँसोको समयमा हुने गरेका छन् । हतारमा कार्यालय पुग्ने र हतारमै घर फर्किने प्रवृत्तिले पनि दुर्घटना भयावह बन्दै गएको छ ।
विश्वमा अकाल मृत्युको सबैभन्दा ठूलो कारण सवारी दुर्घटना
गएको दश वर्षमा सडक दुर्घटनामा झण्डै १७ हजार पाँच सय जनाको ज्यान गएको छ । यो दश वर्षे सशस्त्र द्वन्द्वमा मारिनेहरूको सङ्ख्याभन्दा धेरै हो ।
नेपालमा पाँचदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको ज्यान जानुको मुख्य कारण सवारी दुर्घटनालाई मानिएको छ । देशमा धेरै नयाँ सडक विस्तार भएका छन् तर राजमार्गमा हुनुपर्ने पूर्वाधारको कमी र सडक अनुशासन कार्यान्वयन नहुनु दुर्घटनाको अर्को मुख्य कारण हो ।
चिकित्सा विज्ञानको परिभाषाअनुसार सवारी दुर्घटनालाई महामारी भन्न मिल्दैन तर मानवीय क्षतिको हिसाबले हेर्ने हो भने विश्वमा अकाल मृत्युको सबैभन्दा ठूलो कारण सवारी दुर्घटना हो । सवारी दुर्घटनामा परेर विश्वभर वार्षिक १३ लाख ५० हजारको ज्यान जाने गरेका छन् । यस्तै ५० लाख घाइते हुने गरेका छन् । त्यसमा पनि नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काजस्ता न्यून र मध्यम आय भएका दक्षिण एसियाली देशमा सवारी दुर्घटनाबाट हुने मृत्युको दर बढी छ ।
राजमार्गमा हुने मृत्युमध्ये ९३ प्रतिशत गरिब देशमा हुने गरेका छन् । क्षमताभन्दा बढी यात्रु लिएर घुमाउरो र असुरक्षित सडकमा गुड्ने जीप र ट्राफिक सङ्केतजस्ता आधारभूत सुरक्षा सुविधाको अभाव रहेको राजमार्गमा तीव्र गतिमा हुइँकिने दुर्घटनाको सिकार हुने गरेका छन् । सहरी क्षेत्रमा ९० प्रतिशतभन्दा धेरै मृत्यु मोटरसाइकल चालक र पैदल यात्रीको हुने गरेको पाइएको छ ।
दुर्घटना न्यूनीकरणका लागि सक्दो प्रयास भइरहेको छ ः गृह मन्त्रालय
दुर्घटना न्यूनीकरणका लागि सक्दो प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतलाई दुर्घटना न्यूनीकरणका लागि सबै काम गर्न परिपत्र गरिएको छ । तर यसरी निर्देशन दिएर मात्र दुर्घटना न्यूनीकरण हुन नसक्ने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा बताउनुहुन्छ ।
सडक प्रयोगकर्ताले सावधानी नपनाएसम्म दुर्घटना न्यूनीकरण हुन नसक्ने उहाँको भनाइ छ । सवारी चालक, सहचालक, सवारी साधनधनी सबैले यी कुरामा ध्यान दिनु जरुरी हुन्छ । चलाउन लागेको गाडी ठिक छ या छैन, पाटपुर्जा कत्तिको ठिक छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
सडक खाल्डाखुल्डी भएमा त्यसको मर्मत सम्भारका लागि सडक विभागले ध्यान दिनुपर्छ । ट्राफिकका नियम उल्लङ्घन गरेमा कारबाही गर्ने काम ट्राफिक प्रहरीले गर्नुपर्छ । सबैले आफ्नो भूमिका सम्झेर काम गरेमा दुर्घटना न्यूनीकरण गर्न सकिने मन्त्रालयका प्रवक्ता बुढा बताउनुहुन्छ ।
सडक सुरक्षामा लगानी : बालुवामा पानी
दुर्घटना न्यूनीकरण गर्न सरकारको बर्सेनि करोडौँ रुपैयाँ खर्च भइरहेको छ । नेपाल प्रहरीले सवारी चालक, सहयोगी र यात्रुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको दाबी गर्दै आएको छ । यसबाहेक सरकारी, गैरसरकारी र नागरिकस्तरबाट पनि दैनिकजसो सवारी दुर्घटना रोकथामसम्बन्धी कार्यक्रमहरू हुँदै आएका छन् तर दुर्घटना घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ ।
दैनिक कैयौँ मानिसको ज्यान लिइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्नु हाम्रो निम्ति ठूलो चुनौती हो । दुर्घटना न्यूनीकरणका लागि केन्द्र सरकारदेखि पालिकासम्मले पहल गर्नु आवश्यक देखिन्छ । पहाडी क्षेत्रमा कच्ची सडकमा लामा सवारी साधन सञ्चालनमा रोक लगाउनुपर्छ ।
रातिको समयमा विशेष ट्राफिक सङ्केतका बोर्डहरू राख्नुपर्छ । रुट तथा सवारी क्षमताअनुसार मात्र गाडी सञ्चालन गर्न दिनुपर्छ । सबै प्रकारका सवारीको आयु तोक्ने र थोत्रा गाडी चलाउन रोक लगाउनुपर्छ । सडक सुरक्षामा काम गर्ने निकायले यसबारे कुरा गर्दै आए पनि भएका नीति, नियमसमेत कार्यान्वयन हुन नसक्दा दुर्घटना न्यूनीकरणको प्रयास प्रभावकारी बन्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।