‘नेपाल र भारत प्रतिस्पर्धी हाेइनन् मित्र देश हुन्, सबै खाले समस्या समझदारीमा हल गर्न सकिन्छ’

 बैशाख ३, २०७८ शुक्रबार १६:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाल–भारत मैत्री सङ्घका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतबीच देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताउनुभएको हो ।

इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमालगायतका कतिपय सन्धि सम्झौताहरूमा नमिलेका विषयलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्या, इतिहासले नसुल्झाइदिएका र अधुरै छाडेका समस्या छन् । सीमालगायतका कतिपय सन्धि सम्झौताहरूमा नमिलेका विषय छन् जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौँ । पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौँ भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्यालाई समाधान गर्न कुनै गाह्रो छैन ।’ 

नेपालले भारतसँग भएका कुनै पनि समस्या समाधान गर्न सकिँदैन भन्ने नठानेको पनि स्पष्ट पार्नुभयो । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी देश नभइ मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतसँग कुनै पनि समस्या छन्, ती विषयमा छलफलद्वारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनै पनि विषय छन् भन्ने हामी ठान्दैनौँ । किन भने नेपाल र भारत प्रतिस्पर्धी होइनन् । नेपाल र भारत मित्रहरू हुन् । प्रतिस्पर्धीका बीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ । मित्रका बीचमा समस्या छन् भने समाधान गर्न गाह्रो हुँदैन ।’

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिडविरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताउनुभयो । नेपालका लागि भारतले कोभिडविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको पनि बताउनुभयो । यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरूको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिडविरुद्धको हाम्रो लडाइँमा भारतले विभिन्न ढङ्गले सहयोग पुर्‍याउँदै आएको छ । अरू विभिन्न खालका लजिस्टिकहरू, मेडिकल सामग्रीहरू, स्वास्थ्य सामग्रीहरूका साथै हामीले राम्रो सहयोग पायौँ भारतबाट । भारतमै उत्पादित कोभिशिल्ड १० लाख डोज भारतले हामीलाई हस्तान्तरण गर्‍याे र हामीले दक्षिण एसियाकै भारत सँगसँगै आफ्ना नागरिकलाई खोप उपलब्ध गराउन सक्यौँ । त्यो अभियान अहिले पनि निरन्तर जारी छ । दुई देशको बीचमा १८ सय किलोमिटर लामो खुला सिमाना छ । खुला सिमानाबाट नागरिकहरूको आवतजावत तीव्र हुने हुनाले दुवै देशले मिलेर मात्रै यो महामारीविरुद्ध हामी अगाडि बढ्न सक्छौँ । यस सन्दर्भमा दुवै देशको बीचमा निरन्तर संवाद पनि भइराखेको छ र कसरी यो लडाइँलाई जित्न सकिन्छ भन्ने चुनौती खडा गरेको छ । यो चुनौतीको सामना हामी कसरी मिलेर गर्न सक्छौँ भन्नेबारेमा हामीले छलफल गरिरहेका छौँ । सहकार्य गरिराखेका छौँ । ’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । भनाइ र भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सीमित नगरि व्यावहारिक रूपमा लागू गर्नुपर्ने बताउनुभयो । नागरिककाे विश्वास टुट्न नदिन पनि दुवै देशको बीचमा भएका समस्यालाई छिट्टै हल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकासको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको पनि बताउनुभयो । त्यही कारण अहिले देशमा विकास निर्माणका कार्यक्रम अगाडि बढेको दाबी उहाँकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया