पानी परे पनि प्रदूषणमा सुधार आएन : काठमाण्डौ प्रदूषित सहरको शीर्ष दुईमा

 वैशाख ४, २०७८ शनिबार ११:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी परे पनि वातावरण प्रदूषणको अवस्थामा भने खासै सुधार आउन सकेको छैन ।

हिजो परेको असिनासहितको पानीले वायु प्रदूषणलाई घटाउन सक्ने भनिए पनि काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा वायु प्रदूषण अस्वस्थकर अवस्थामा नै रहेको छ ।  

वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईले अहिले पनि काठमाण्डौ प्रदूषित ९४ सहरमध्ये शीर्ष दुईमा देखाएकाे छ ।

नेपालमा आज बिहानको एक्यूआई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सरकारले तोकेको मापदण्डभन्दा बढी छ । यतिबेला रुपन्देहीको सिद्धार्थनगरको एक्यूआई एक सय ७१ छ । काठमाण्डौ, बुटवल, पोखरा र नेपालगन्जमा आज एक सय ५० भन्दा बढी एक्यूआई मापन गरिएको छ ।

डब्ल्यूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ अर्थात राम्रो, ५१ देखि १ सयसम्मलाई सामान्य, २ सय एकभन्दा माथिलाई धेरै अस्वस्थकर, ३ सय एकभन्दा माथिलाई घातक मापदण्ड तोकेको छ । गएको चैत महिनायता काठमाण्डौको एक्यूआई चार सय ७० पुगेको थियो ।

वातावरणविद् भूषण तुलाधरले एक/दुई पटक पानी परेर तत्काल प्रदूषण केही घटे पनि पूरै हटेर नजाने बताउनुभयो । वातावरण प्रदूषणका स्रोतमा कमी नआउँदासम्म प्रदूषणमा कमी नआउने उहाँको भनाइ छ ।

वातावरणविद् तुलाधरले हिजोको पानी र अस्तिको हावाहुरीसहितको छिटफुट वर्षाले डढेलोमा केही कमी आए पनि सबै ठाउँमा डढेलो नियन्त्रण नहुँदासम्म र ठूलो पानी नपरेसम्म प्रदूषणको मात्रामा खासै सुधार नआउने बताउनुभयो ।

यसैबीच, हिजो र अस्ति पारेको पानीले डढेलोमा केही कमी आएको छ । लामो खडेरीका कारण चैत दोस्रो हप्तापछि एकैदिन ५ सय ठाउँसम्म डढेलो लागेको थियो । अहिले देशका १८ वटा जिल्लाका एक सय २० ठाउँमा डढेलो लागिरहेको छ ।

सबैभन्दा धेरै बर्दियामा २०, सुर्खेतमा १८, कैलालीमा १७ र जाजरकोटमा १४ ठाउँमा डढेलो लागिरहेको छ । अरु १४ जिल्लामा एक/दुई ठाउँमा डढेलो लागेको छ । पानी पर्नुभन्दा अघि एक सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागेको थियो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया