नेपाली जहाजलाई चीन उड्न किन रोक ? निगम भन्छ – शांघाई उडानको तयारी गर्दैछौँ

 भदौ ६, २०७५ बुधबार १७:५०:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमले लामो दूरीमा उडान गर्ने भन्दै दुईवटा नयाँ वाइड बडी जहाज ल्याएको छ ।

निगमको लक्ष्य जापान, दक्षिण कोरिया र साउदी अरबमा वाइड बडी विमानमार्फत उडान गर्ने हो । तर जापान र कोरियाले नेपाल वायुसेवा निगमका जहाजलाई तत्कालै उडान अनुमति नदिने संकेत मिलेपछि निगम चीनमा जहाज उडाउन छलफलमा जुटेको छ । 

‘आज मात्रै हामीले चीनमा उडान कसरी गर्न सकिन्छ भनेर आन्तरिक छलफल गरेका छौँ, हामीले थप छलफल गरेर चीनमा नेपाली जहाजले उडान भर्नेबारे त्यहाँका एअरपोर्टलाई पत्र पठाउँछौँ, त्यति गर्दा पनि समस्या समाधान भएन भने मन्त्रालयलाई गुहार्छौं’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अबको २/४ दिनभित्रै सांघाइ एअरपोर्टलाई उडान अनुमतिको लागि अनुरोध गरेर पत्र पठाइने पनि महाप्रवन्धक कंसाकारले जानकारी दिनुभयो । ‘७ वटा एअरपोर्टमा नेपाली जहाज जान पाउने सम्झौता भए पनि अहिले हामीले शांघाईमा उडानको लागि अनुमति मागेर पत्र पठाउँदैछौं, त्यहाँ उडान सुरु भएपछि बाँकी सहरको लागि पनि अनुरोध गर्ने विचारमा छौं’ उहाँले भन्नुभयो ।

चिनियाँ जहाजले दैनिक ७ वटा उडान गर्दा नेपाली जहाजलाई किन रोक  ?

अहिले चीनका ४ वटा विमान कम्पनीले नेपालमा उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाइना एअरले दैनिक २ वटा, चाइना इस्र्टनले हप्तामा १ एक दिनबाहेक २ वटा, अनि चाइना साउदर्नले पनि दैनिक २ वटा उडान गरिरहेका छन् । तिब्बत एअरले हप्तामा ५ वटासम्म उडान गर्दै आएको छ । नेपालबाट चीनका जहाजले दैनिक ७ वटा उडान गर्दै आएका छन् । चीनका मात्रै जहाजले उडान गर्ने भएपछि भाडा पनि महंगो रहेको छ ।

भारतको नयाँदिल्ली जत्तिकै टाढा रहेको ल्हासाबाट काठमाडौंसम्मको भाडा ५० हजार रुपैयाँभन्दा धेरै रहेको छ । यदि नेपाली जहाज पनि चीन उड्ने हो भने प्रतिस्पर्धाका आधारमा यो भाडा २० हजार रुपैयाँसम्म झार्न सकिने नेपाली व्यवसायीको भनाई छ ।

तर नेपालका जहाजले भने चीनमा उडान गर्न पाइरहेका छैनन । नेपाल वायुसेवा निगमबाहेक हिमालयन एअरलाइन्सले पनि चीनमा उडानको लागि पटकपटक अनुरोध गरेको छ । तर चीनका एअरपोर्टले अहिले ‘स्लट’ छैन भन्दै पन्छिने गरेका छन् । 

निगम तात्नुपर्‍याे, परराष्ट्र मन्त्रालयमार्फत कुरा राख्न तयार छौँ : सहसचिव आचार्य

नेपाल वायुसेवा निगमले पहिले जहाजको कमी भएकाले चीन उडान गर्न नसकिएको भनेर पन्छिने गथ्र्यो । तर अहिले भने चीनले प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले ढिला भैरहेको बताउँदै आएको छ । तर यो समस्या कुटनीतिक तहसम्मै पुर्‍याएर समाधान गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

‘उनीहरुका जहाजले हाम्रोबाट दैनिक ७ वटा भन्दा धेरै उडान गर्ने, तर हाम्रा जहाज जान किन दिइन्न भन्ने कुरा निकै गम्भीर छ, यदि नेपाल वायुसेवा निगमले प्रयास गर्दा पनि आफ्ना जहाज चीन उडाउन नसकेको हो भने यो कुरा सिरियस रुपमा उठाउनुपर्छ’, मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख सुरेश आचार्यले उज्यालोसँग भन्नुभयो, ‘निगमले मौखिक होइन पेपरमार्फत सिरियस्ली कुरा राख्नुप¥यो, हामी त परराष्ट्र मन्त्रालयमार्फत यो समस्या समाधानको  लागि तयार  छौँ ।’

ल्हासालगायतका केही ठाउँमा जान नेपाली जहाजलाई प्राविधिक समस्या रहेको भए पनि चीनका अन्य गन्तव्यमा नेपाली जहाजले व्यवसायिक उडानको लागि अनुमति नपाउनु बहसकै विषय भएको सहसचिव आचार्यको भनाई छ । 

‘बेइजिङ एअरपोर्टले सन् २०१९ सम्म स्लट छैन भनेको छ, नेपालका मात्र नभई अरु देशका जहाजलाई  पनि उसले अहिले अनुमति दिएको छैन भन्ने सुनिएको छ, तर अरु विमानस्थलमा पनि बेइजिङकै जस्तै समस्या त नहोला नि’, सहसचिव सुरेश आचार्यले भन्नुभयो, ‘उनीहरुका ४ वटा जहाजले नेपालमा दैनिक उडान गर्छन भने हाम्रो एउटा जहाजले त कम्तीमा उडान गर्न पाउनुपर्छ, त्यसको लागि हामीले मौखिक होइन आधिकारिक रुपमै पहल थाल्नुपर्छ ।’

निगमले साँच्चै चीन उडान गर्ने हो भने कुन जहाज उडाउने हो, हप्तामा कति दिन उडाउने अनि भाडा कति हुने लगायतका जानकारी तत्कालै दिनुपर्ने पर्यटन मन्त्रालयको भनाई छ ।  

निगमले राखेको प्रस्ताव चीनले नमानेमा आफू कुटनीतिक पहल थालिदिन तयार रहेको मन्त्रालयको दावी छ । तर चीनले नियतवश नै नेपाली जहाज उडन नदिएकाले प्रधानमन्त्रीस्तरबाटै पहल नगरेसम्म समस्या समाधान नहुने पर्यटन मन्त्रालयका कतिपय कर्मचारी बताउँछन् । 


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया