लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

 बैशाख ९, २०७८ बिहिबार १९:३८:३६ | किरण लोहनी
unn.prixa.net

गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ ।

गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको थियो । लाप्राकको पुरानो बस्ती पहिरोको जोखिममा रहेको र २०७२ सालको भूकम्पपछि थप जोखिम बढेकाले अहिलेको बस्तीभन्दा दुई किलोमिटर माथिको गुप्सीपाखामा एकीकृत बस्ती बनाइएको हो । 

एउटा घर निर्माणमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ । एकीकृत नमुना बस्तीमा निर्माण भएका सबै घर एकै प्रकारका छन् । लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार एनआरएनएले २ तले ४ कोठे घर बनाएको हो ।

तर, एकीकृत बस्तीमा झ्यालढोका गुणस्तरीय नभएको स्थानीयले गुनासो गर्दै आएका छन् । बस्तीका घरका लाभग्राही छनाेट गोलाप्रथाबाट गरिएको हाे । केही लाभग्राही नयाँ घरमा आएर बस्न थालिसकेका छन् । बस्तीका एक घरबाट अर्को घरमा जाने बाटो, ढल निकास, भूसंरक्षण लगायतका काम भने बाँकी रहेको छ ।

ती काम पुनर्निर्माण प्राधिकरणमार्फत छिट्टै सुरु हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताउनुभयो। बस्तीका लाभग्राहीलाई घरको लालपुर्जा उपलब्ध गराउने काम पनि सुरु भइसकेको छ । एउटा घरले ३ आना २ पैसा अर्थात १ सय वर्गमिटर क्षेत्रफलको लालपुर्जा पाउने छन् । घर आफ्नो स्वामित्वमा आए पनि उनीहरुले १० वर्षसम्म बेचबिखन गर्न नपाउने जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।

अहिले बस्तीका घरहरु समुदायलाई हस्तान्तरण गरिएको र अब बाँकी सबै संरचना निर्माण पूरा गरेर औपचारिक उद्घाटन गरिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया