नवलपुरमा जीप दुर्घटना : एक जनाको ज्यान गयाे, १६ जना घाइते

 बैशाख १०, २०७८ शुक्रबार १९:३०:२३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको बुलिङटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको  लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका-६, अत्रौलीमा  दुर्घटना भएको जानकारी दिनुभयाे ।   

दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमा नै ज्यान गएकाे उपरीक्षक गिरीले बताउनुभयो । घाइतेमध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा र ११ जनाको डेढगाउँमा रहेकाे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्केको अवस्था गम्भीर रहेको गिरीले बताउनुभयो ।

जीपमा १७ जना रहेका थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।  ब्रेक फेल भएर जीप सडकबाट ५० मिटर तल खसेको गिरीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया