जिरोकिलो–मेलम्ची सडकखण्डको दुर्दशा : सडकमा यात्रा गर्नेलाई त्रास

 भदौ ७, २०७५ बिहिबार ६:५४:२४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – एम्बुलेन्सले चर्को हर्न बजाइरहेको छ । अगाडि २० वटाभन्दा बढी टिप्परको लाम छ । पहिरोले अघि बढ्ने ठाउँ छैन ।

श्रीमतीलाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल लैजान लागेका पाँचपोखरीका टेकबहादुर खड्का मलिन अनुहार लगाएर बसिरहनुभएको छ । 

‘अरुबेला भए धुलिखेल पुग्ने बेला भइसक्यो, उता बिरामी छटपटाई रहेको छ । अगाडि पहिरो छ । अरे, खै यस्तै भयो भने अस्पताल कतिखेर पुग्नु, बिरामीलाई झन गाह्रो भइरहेको छ । यसरी जाम हुँदा पन्छाउन कोही लाग्दैन । टिपर ड्राईभरहरु पनि गाडी बीच बाटोमै राखेर हिँडे, पहिरो पन्छाउन कोही आएको छैन’ उहाँले दुखेसो पोख्नुभयो ।

एम्बुलेन्स चालक सुरज भुजेल बाटो पन्छाइदिन आग्रह गरिरहनुभएको छ । तर उहाँको कुरा सुन्ने कोही छैन । ऋहिले मेलम्ची–जिरोकिलो सडक खण्डको ३२ किलोमिटरको यात्रा सबैको लागि कष्टकर बन्दै गएको छ । बेलैमा गन्तव्यमा पुग्न अघिल्लो दिन नै घरबाट निस्कनु पर्ने बाध्यता छ ।

सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा परिचित मेलम्ची, हेलम्बु जाने जिरोकिलो–मेलम्ची सडकको अवस्था दयनीय बन्दै गएको छ । ३२ किलोमिटरको सडकका धेरै ठाउँमा ठूला–ठूला खाल्डा बनेका छन् । वर्षैपिच्छे सडक विस्तार गर्नको लागि काटिएका भित्ताहरु धेरै ठाउँमा झरेर वा केही स्थानमा सडक भासिएर सडक अवरुद्ध हुने गरेको छ ।

सडकको अवस्था हेर्दा रोपाइँ गर्न तयार पारिएको खेतजस्तै देखिन्छ । सडककोे बीच भागमा पानी जमेर गाडी सहज रूपमा गुड्न सक्ने अवस्था नै छैन । जिरोकिलो–मेलम्ची सडकखण्डको अवस्था बिग्रिएको झण्डै एक दशक भइसक्यो । हरेक वर्ष सडकको लागि बजेट परे पनि सडकको अवस्था भने जस्ताको त्यस्तै छ ।

हिउँदमा धुलो र वर्षामा हिलो

सडक छेउछाउका घरहरुमा हिउँदको समयमा भान्सादेखि ओछ्यानसम्म नै धुलो पुग्छ । धुलोका कारण विभिन्न किसिमका रोगहरुको संक्रमण बढेको स्थानीयबासिन्दाको भनाई छ । 

हिउँद सकिएर वर्षा सुरु भएपछि फेरि सडक आसपासमा बस्नेहरुलाई हिलोले दुःख दिन थाल्छ । घर अगाडि नै रोपाईं गर्न मिल्ने गरी हिलो हुँदा बालबच्चा र वृद्धवृद्धाहरुको लागि थप समस्या हुने गरेको फटकसिलाकी भगवती श्रेष्ठले बताउनुभयो ।

सडककै कारण सडक छेउछाउमा बस्नेको दैनिकी पनि कष्टकर बन्दै गइरहेको छ । त्यस्तै सडकमा यात्रा गर्नेहरुको लागि न त हिउँद सजिलो हुन्छ, न त वर्षायाम नै ।

यात्रा गर्दा घाइते भइएला भन्ने डर

मेलम्चीदेखि काठमाडौंसम्म जानको लागि मेलम्ची भेगका बासिन्दाले वर्षा सुरु भएयता सास्ती खेप्न नपरेको दिन नै छैन । सडकमा दैनिक ८ सय भन्दा बढी निजी तथा यात्रुवाहक गाडी गुड्छन् ।

टिप्पर मात्रै पाँचसय भन्दा बढी सञ्चालन हुन्छन् । सडकमा टिप्परको आतंक नै रहेको छ । सडकको जीर्ण अवस्थाप्रति सरकारी निकायले चासो नदिएको स्थानीयबासिन्दाले बताएका छन् । सडकको यात्राले चालक र यात्रुलाई साह्रै पीडा दिने गरेको छ । गाडीले उचाल्ने, पछार्ने गर्दा सामान्य मान्छे पनि बिरामी हुने गर्छन् ।

गाडी नचल्दै कालोपत्रे उत्कियो

सडकखण्डको कुन्ता, ढाट खोला, फटकेश्वरलगायतको सडकमा गाडी गुडाउनका लागि निकै जोखिम छ ।

सडकको जताततै पानी नै पानी बगेको छ । जताततै खाल्डैखाल्डा छन् । सडकको मर्मत एसियाली विकास बैंक (एडीबी) र सरकारको लगानीमा भइरहेको छ । दस वर्षअघि मेलम्ची आयोजनाले गरेको कालेपत्रे प्रयोगमै नआई भत्केपछि सरकारले अर्को टेन्डर गरेको थियो ।

वर्षा र मुआब्जा वितरणको समस्याले काममा बाधा पुगेको निर्माणको जिम्मा लिएको स्वछन्द निर्माण सेवाले जनाएको छ । सरकारको १२ प्रतिशत र एडीबीको ८८ प्रतिशत सहयोगमा सडकको कालोपत्रे गर्ने योजना छ ।

झण्डै ९० करोडको लागतमा आउँदो वर्ष पूरा गर्ने लक्ष्य राखेर निर्माण कार्य भइरहेको उहाँको भनाई छ । निर्माणको जिम्मेवारी लिएको ६ महिना बितेको छ ।
वर्षातको समयमा सडकको चौडा र कालोपत्रे गर्ने काम थालिएको छ । भत्किएको कालोपत्रै, टिप्परको मनपरी र सडकमा परेको खाण्डाखुल्डीले जिरोकिलो–मेलम्ची सडकखण्डमा यात्रा गर्ने यात्रु वाक्क भएका छन् ।

क्रसरका कारण सडक झनै भत्कियो

इन्द्रावती नदी किनारमा मापदण्ड विपरित दर्जन क्रसर उद्योग सञ्चालनमा आएका छन् । क्रसरले मापदण्ड विपरित रातिको समयमा स्काभेटरको प्रयोग गरेर बालुवा गिट्टी, रोडा उत्खनन् गरिरहेका छन् ।

क्रसरले मनपरी ढंगबाट नदी उत्खनन् गर्दा स्थानीय सरकार, प्रहरी र प्रशासन मौन छन् । क्रसरका कारण टिप्परको संख्या बढ्दै गएपछि यसको भार थेग्न नसकेर सडकको अवस्था जीर्ण बन्दै गएको स्थानीयबासिन्दाले बताएका छन् ।

राजस्व उठाइएको साढे चार करोड खै ?

टिप्परलगायत गाडीबाट संकलित राजस्वअन्तर्गत साढे चार करोड सडक मर्मतमा खर्च गर्न सकिने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष टेन्डरबाट सडकका लागि ठूलो रकम खर्च हुने गरेको उहाँको भनाई छ । खर्चको प्रवाह नगरी जिल्ला समन्वय समितिले टेन्डरबाट नै राजस्व संकलन गर्ने गरेको छ ।

ठेकेदारले हिउँदमा चुपचाप बसेर बर्खा लागेपछि मात्रै काम सुरु गरेर सडकको यस्तो दुर्दशा भएको स्थानीयबासिन्दाको भनाई छ । सरकारी निकायबाटै बर्खा लागेपछि सडक निर्माण थाल्ने भएकाले बन्नुभन्दा धेरै सडक बिग्रिने गरेको छ ।

त्यसैका कारण बर्सेनि अर्बौँँ रुपैयाँ  खेर जाने गरेको छ । अब पनि यसरी नै यात्रा गर्नुपरेको खण्डमा आन्दोलन गर्नुको विकल्प नहुने स्थानीयबासिन्दाले बताएका छन् । सडकबाट उठाइएको करलाई सडकमा नै प्रयोग गरेर सडकलाई यात्रा गर्न योग्य बनाउन स्थानीयबासिन्दाले सरोकार पक्षसँग माग गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया