दाङ : नेपाल-भारत सीमानाकामा थप कडाइ

 बैशाख १८, २०७८ शनिबार ११:३९:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना भाइरसकाे सङ्क्रमण दर बढेसँगै भारतसँग सीमा जोडिएको दाङका सबै नाकाहरूमा कडाइ गरिएको छ ।

मुख्य सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण मानिसहरु वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्दै आइरहेकाले नाकामा कडाइ गरिएकाे दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । 

दाङ कोरोना भाइरस सङ्क्रमणकाे जोखिममा रहेकाले सुरक्षित राख्न, सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि कोइलाबास नाका लगायत अन्य खुला क्षेत्रबाट हुने आवागमन बन्द गरिएको पौडेलले बताउनुभयो ।

‘भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । नेपालमा उच्च सतर्कता अपनाउने उद्देश्यले भारतसँग जोडिएका नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी थप कडाइ गरिएको हाे '  पौडेलले भन्नुभयो ।

यस्तै कोइलाबास नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

मजदूरीका लागि गएका नेपाली नागरिकहरु भारतमा लकडाउन भएलगत्तै नेपाल भित्रिन थालेपछि कोइलाबास नाकामा स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो।

‘भारतीय नागरिकलाई नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ । नेपाली नागरिकहरुलाई भने सीमाक्षेत्रमा स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गराइएको छ' अध्यक्ष यादवले भन्नुभयो।

जाँचको क्रममा भेटिएका बिरामीलाई तुरुन्तै गढवामा रहेकाे नेपाली सेना बस्ने भवनमा पालिकाले निर्माण गरेकाे अक्सिजनसहितको आइसोलेशनमा पठाइने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया