सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
'दुई तीन दिनमै दश रुपैयाँ बढ्यो ?!'
कीर्तिपुरको एउटा खाद्य पसलमा एक लिटर खानेतेल किन्न पुगेका सुरेश महर्जनले पसलेलाई सोध्नुभयो ।
'बढ्यो नि के गर्नु भोलिदेखि यही पनि पाइँदैन होला' पसलेले जवाफ दिए ।
'कोरोना सङ्क्रमणभन्दा पनि महँगीले पो मरिने भयो' बनावटी हाँसो हाँस्दै सुरेश तेलको प्याकेट बोकेर पसलबाट बाहिरिनुभयो ।
एकैछिनमा त्यही पसलमा एक जना महिला खाना पकाउने ग्यास खोज्दै पुगिन् ।
'ग्यास छ ?' उहाँको प्रश्न पसलेले सुने, नसुनेझैँ गरे ।
'पसलमा ग्यास आएको छ ?' दोस्रो पटक अलि चर्को स्वरले सोधेपछि पसलेले अहिले आएको छैन भन्ने सिधा उत्तर दिए । महिलाले कहिलेसम्म ग्यास पाइएला भनेर जिज्ञासा राखिन् । पसलेले अलि कड्कँदै खै थाहा छैन भन्ने जवाफ दिए, 'बेलाबेला बुझ्न आइराख्नुस् न' महिला त्यहीँबाट फर्किइन् ।
कीर्तिपुर पाँगा बस्ने सरस्वती कुँवरलाई पनि कोरोनाभन्दा निषेधाज्ञामा खान नपाएर मरिन्छ की भन्ने चिन्ता छ । निषेधाज्ञा अगाडिको भन्दा अहिले बजारमा सामानको मूल्य बढेको उहाँले सुनाउनुभयो । ‘खानेतेल ३ सय रुपैयाँ लिटर थियो अहिले १० रुपैयाँ बढेछ, १ सय २० रुपैयाँ धार्नी आलु दुई, तीन दिनमै १ सय ६० रे’ उहाँले एकैपटक सुनाउनुभयो ।
पोहोर सालको लकडाउन, काठमाण्डौमै बिताएकी उहाँलाई यो वर्षको निषेधाज्ञा कसरी कट्छ भन्ने चिन्ता बढेको छ । ‘सरकारले गाउँ जान दिएको समयमा गाउँ फर्किन सकिएन, अब काठमाण्डौमा कसरी बस्ने होला ?’ चिन्तित हुँदै उहाँले भन्नुभयो ।
यी त केही प्रतिनिधिमूलक पात्र मात्र हुन् । निषेधाज्ञालाई बहाना बनाएर र महामारीको मौका छोपेर केही व्यापारीहरुले सामानको मूल्य बढाउने गरेका छन् । पसलैपिच्छे सामानको भाउ फरकफरक छ । निषेधाज्ञा भएको २/३ दिनमै खाद्य सामग्रीको भाउ छोइसक्नु छैन ।
सरकारले प्रभावकारी अनुगमन गर्न नसकेकाले पसलेहरुले कृत्रिम अभाव सिर्जना गरेर सास्ती दिएको उपभोक्ताको गुनासो छ ।
नियमित बजार अनुगमन भइरहेको छ : सरकार
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन भइरहेको जनाएको छ ।
पहिला उपभोक्ताको गुनासोको आधारमा अनुगमन गर्ने गरेकोमा अहिले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिएर अनुगमनलाई अगाडि बढाइएको विभागको भनाइ छ । पहिला एक वा दुई टोलीले नियमित बजार अनुगमन गर्ने गरेकामा अहिले ६ वटा टोली बनाइएको छ । ६ वटै टोलीले नियमित बजार अनुगमन गर्ने र आवश्यक परे थप जनशक्ति र गाडी परिचालन गर्ने तयारीमा रहेको विभागले जनाएको छ ।
‘नियमित तरिकाले वस्तुको उपलब्धता भयो भने कालोबजारी हुँदैन भन्ने हो, त्यही भएर वस्तुको उपलब्धतालाई पहिलो प्राथमिकता दिएका छौँ’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भन्नुभयो । रेग्मीका अनुसार पहिलो प्राथमिकता ढुवानी प्रक्रियालाई नै दिइएको र अबको दिनमा अनुगमनलाई तीव्र गतिमा अगाडि बढाइने छ ।
अहिलेसम्म कालोबजारी नै भयो भनेर खासै नागरिकको गुनासो नआएको प्रवक्ता रेग्मी बताउनुहुन्छ । ‘अनौपचारिक रुपमा सानातिना गुनासो भने आएकाले आएका छन् । अनौपचारिक रुपमा आएको गुनासो खाद्यान्नमा भन्दा पनि मास्क र स्यानिटाइजरमा बढी मूल्य लिएको भन्ने खालका गुनासा हुन् । मास्क र स्यानिटाइजरको माग १ वर्षदेखि नै बढेको हो । अहिले एक्कासी बढेको होइन’ उहाँले भन्नुभयो । अनुगमनको क्रममा बढाएको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयको भनाइ छ ।
व्यापारीले उपभोक्ताबाट बढी मूल्य लिएर बिक्री गरी ठगी गरेको पाइएमा तत्काल कारबाही गरी ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार उपभोक्ता संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेको छ ।
कोरानाको त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छ भन्दै हल्ला फैलाएर कालोबजारी गर्ने, मूल्यभन्दा बढी लिइ सामान बिक्री गर्ने लगायतका क्रियाकलाप गरेको पाइएमा कालोबजारी ऐनमा टेकेरसमेत कारबाही गरिने व्यवस्था छ ।
‘आपूर्ति नियमित भइरहेको छ’
सामान्य अवस्थामा जसरी नै ग्यास तथा खाद्य सामग्रीको आपूर्ति भइरहेको उद्योग वाणिज्य ताथ आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताउनुभयो ।
अत्यावश्यक सामग्रीको उत्पादन, ढुवानी र वितरण नियमित प्रक्रिया अनुसार नै भइरहेको छ । अहिलेसम्म त्यसमा कुनै पनि अवरोध छैन । दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सहज छ भने मौज्दात पनि पर्याप्त रहेको उहाँले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग अहिले २९ हजार ७ सय २२ मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै, खाद्यसँग नै दुर्गम जिल्लामा थप २ हजार ९ सय ५३ मेट्रिक टन चामल मौज्दात छ ।
त्यस्तै, गहुँ ४ हजार ३ सय ८८ क्विन्टल मौज्दात रहेको छ । खाद्य संस्थानले अहिले काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ ठाउँमा रहेका बिक्री केन्द्रबाट समय सीमा तोकेर दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्री गरिरहेको जनाएको छ ।
खाद्यले महामारीमा उपभोक्तालाई सहज बनाउन बासमती र जुम्लाको मार्सीलगायत चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु, स्यानिटाइजर बिक्री गरिरहेको छ जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ११ महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ । चिनी पनि पर्याप्त रहेको जनाएको छ । कम्पनीले महामारीमा उपभोक्ताले टोलमै बसेर नुन र चिनी किन्न सक्ने गरी डेलिभरी भ्यानमा राखेर माइकिङ गर्दै बिक्री गरिरहेको दाबी गरेको छ ।
यस्तै नेपाल आयल निगमसँग अहिले खाना पकाउने एलपी ग्यास ४६ हजार ३ सय ३२ मेट्रिक टन मौज्दात छ । त्यस्तै, डिजेल, पेट्रोल र मट्टीतेल गरी ४८ हजार २ सय ४५ किलोलिटर मौज्दात रहेको निगमले जनाएको छ ।