कर्णाली प्रदेशले काेराेना रोकथाम र उपचारका लागि  प्रत्येक जिल्लालाई एक करोड उपलब्ध गराउने

 बैशाख २०, २०७८ सोमबार १३:३४:३४ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक जिल्लामा एक/एक करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको  हो ।

जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको  सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

प्रत्येक जिल्लामा एक/एक करोड, प्रदेश अस्पताल सुर्खेत, चौरजहारी अस्पताल रुकुमपश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक/एक करोड तथा मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख रुपैयाँ पठाउने निर्णय भएको छ । यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा  ५० लाख रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट जम्मा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो 

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले  प्रदेश अस्पतलामा तत्काल एक सय बेड, दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिममा अक्सिजनसहित एक/एक सय बेड र अन्य जिल्लामा ५०/५० बेड तयार गर्ने गरी  काम अघि  बढाइएको छ ।

प्रदेश सरकारले अस्पतालमा भर्ना भएका बिरामीका लागि स्वस्थ र पौष्टिक खाना खर्चका लागि हुम्ला, मुगु र डोल्पाका लागि प्रतिदिन छ सय रुपैयाँ, कालीकोट र जुम्लाका लागि प्रति दिन पाँच सय रुपैयाँ र अन्य जिल्लाका बिरामीहरुका लागि प्रतिदिन चार सय रुपैयाँ खाना खर्च उपलब्ध गराउने भएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया