'काेराेना बिर्सिएर' सिन्धुपाल्चाेकमा एमालेकाे अगुवा कार्यकर्ता भेला

 बैशाख २०, २०७८ सोमबार १९:४२:४८ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरूको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरी ४२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा पनि आंशिक रूपमा निषेधाज्ञा लगाइएकाे छ । तर निषेधाज्ञाको असर नागरिकका लागि मात्रै जस्तो देखिएको छ । सरोकार राख्नुपर्ने र सचेत वर्ग नै काेराेना बिर्सिएर सभा र सम्मेलनमा व्यस्त भएका छन् । 

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन आम नागरिकलाई निर्देशन दिने जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाललगायकाे सहभागितामा मेलम्ची नगरपालिका ९ को ज्यामिरेमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला गरिएको हो । 

अन्य कार्यक्रम तथा अवसरमा 'जिल्लाको सबैभन्दा उच्च पदस्थ व्यक्ति म हुँ' भन्दै अगाडि आउने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको गैरजिम्मेवार काम देखिएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकमा प्रमुख जिम्मेवारीका साथ सहभागी हुने तामाङ सरकारले तोकेको मापदण्डलाई बेवास्ता गर्दै ठूला भेला गर्दै हिँडेकाे देख्न सकिनेछ ।   

जिल्लामा आंशिक लकडाउन गर्न हस्ताक्षर गरी कार्यकर्ता भेलामा व्यस्त

आफैँ सहभागी भएको बैठकमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्ने भनी निर्णय गर्ने तामाङ आफैँ प्रमुख अतिथि भएर सयौँको सङ्ख्यामा कार्यकर्ता भेला गराउनुभएको छ । कार्यकर्ता भेलामा ज्यामिरेका चार विद्यालयका प्रधानाध्यापकसमेत सहभागी थिए । जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक केदार विष्ट, मेलम्ची १० मा रहेको भूमेस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम अधिकारी, रक्तकाली आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरी र सातकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक अधिकारीलगायत भेलामा सहभागी थिए ।

सरकारले भेला तथा सम्मेलन नगर्न तथा गर्ने परे २५ जनाभन्दा बढी भेला नगर्ने निर्णय गरेकाे भए पनि सिन्धुपाल्चोक जिल्लाका अगुवाले नै याे निर्णय तोडेका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया