काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घट्यो

 वैशाख २३, २०७८ बिहीबार ८:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घटेको छ । उत्पादन बढ्नुको साथै निषेधाज्ञाको कारण माग पनि घट्दा तरकारीको भाउ घटेको हो ।

सबैजसो तरकारीको भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार धेरैजसो तरकारीको भाउ पाँचदेखि १० प्रतिशतसम्म घटेको छ भने केही तरकारीको भाउ निकै घटेको छ । १५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको भाउ अहिले सिमीको प्रकार अनुसार २५ देखि ७० रुपैयाँँमा झरेको छ ।

घिरौँला ४० रुपैयाँँबाट घटेर २५ रुपैयाँँ खुद्रा मूल्यमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक सय ५० देखि तीनसय रुपैयाँसम्म रहेको च्याउको मूल्य घटेर अहिले एक सयदेखि दुई सय २० रुपैयाँमा झरेको छ । यस्तै आलुको पनि मूल्य घटेको छ । अहिले कालीमाटी तरकारी बजारमा दैनिक ५ देखि ६ सय टन तरकारी भित्रिने गरेको छ ।

सामान्य समयमा दैनिक सातदेखि नौ सय टनसम्म तरकारी खपत हुने गरेको थियो । कोरोना सङ्क्रमणबाट जोगिन बिहान नौ बजेसम्म कारोबार गरिसक्नुपर्ने हुँदा खपत कमजोर भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । कालीमाटीमा धादिङ, काभ्रे, मकवानपुर लगायत छिमेकी र तराईका जिल्लाबाट तरकारी भित्रिने गरेको छ ।

माग घटेर मूल्य घटे पनि बजारमा अहिलेसम्म तरकारी खेर जाने अवस्था भने नरहेको समितिले जनाएको छ । तर बर्खे तरकारीको सिजन सुरु भएकाले उत्पादन बढी हुने र खपत कम हुने हुँदा तरकारी कुहिएर जाने किसान चिन्तामा रहेको श्रेष्ठको भनाइ छ ।  फलफूलको भाउ भने खासै घटबढ भएको छैन ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया