महामारीमा सहयोगी हातहरू : सङ्क्रमितलाई अस्पताल र अक्सिजन खोज्ने अभियान

 बैशाख २४, २०७८ शुक्रबार १२:१०:४१ | जानुका दुवाडी
unn.prixa.net

कोरोना सङ्क्रमण दिनहुँ बढिरहेको छ । धेरैले अस्पतालमा शय्या नपाएको गुनासो  गरिरहेका छन् । यस्तो बेला नागरिकका प्रतिनिधि भने सत्ता स्वार्थको खेलमा व्यस्त छन् ।

सरकार र जिम्मेवार दलहरुको ध्यान महामारी रोकथाम र नियन्त्रणमा भन्दा राजनीतिक दाउपेचमा केन्द्रीत भइरहेकाे बेला केही सामाजिक अभियन्ताहरु नागरिकको जीवनरक्षामा जुटेका छन् । उनीहरुले सामूहिक रुपमा बिरामीको लागि अक्सिजनको जोहो गरिदिने, शय्या खोजिदिने, समस्यामा परेकाको गुनासो सुनेर समस्या समाधानका लागि पहल गरिदिने लगायतका काम थालेका छन् । 

महामारीको बेला स्वःस्फूर्त रुपमा सहयोग गर्न जुटेका केही संस्थाका प्रतिनिधिसँग हामीले कुरा गरेका छौँ । ती संस्थाहरुले गर्ने काम र पाइने सहयोगबारे अभियन्ताहरुका भनाइ :

अक्सिजन नपाउनेलाई सहयोग गर्न अक्सिजन फर नेपाल
अभियन्ता सुजता कोइराला 

नेपालमा पनि भारतमा जस्तै कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दै गएको छ । भारतमा अहिले कतिपय  कोरोना सङ्क्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ४० हजारको सङ्ख्यामा अक्सिजन सिलिन्डरको अभाव भएको जनाएको छ ।  

अक्सिजनको अभावलाई केही हदसम्म परिपूर्ति होस् भनेर अक्सिजन फर नेपाल अभियान सञ्चालन गरिएको हो ।  पाँच हजार  अक्सिजन सिलिन्डर खरिद गरेर गरिब तथा असहायको उपचारमा सहयोग गर्ने अभियानको उद्देश्य हो। यसका साथै खाली सिलिन्डर भरेर असहाय, गरिब लगायतको उपचारमा सहयोग गर्ने पनि अभियानको अर्को महत्त्वपूर्ण लक्ष्य रहेको छ । कतिपय मानिसहहरुले अक्सिजन सिलिन्डर घरमै लगेर राखेको देखिन्छ  ।

त्यसो गर्दा अक्सिजनको साँच्चिकै आवश्यकता भएकाहरुले नपाउने समस्या हुन्छ । अभियानले त्यसो नगर्न आग्रह पनि गर्दै आएको छ ।  अक्सिजनको सर्कुलेशन मिलाउनका लागि अक्सिजन फर नेपालले भरेको सिलिन्डर दिन्छ  र उनीहरुसँग भएका खाली सिलिन्डर भर्नका लागि सहयोग गर्छ । त्यसपछि आवश्यकता अनुसार उपलब्ध गराइन्छ । 

अक्सिजन फर नेपाल नामक फेसबुक पेज बनाइएको छ । त्यसमा आवश्यक नम्बरहरु उपलब्ध गराइएको छ । कसैलाई अक्सिजनको आवश्यकता परेमा ती नम्बरहरुमा सम्पर्क गर्न सकिन्छ । फेसबुक पेजमा गएर  अक्सिजन फर नेपालको च्याटबक्समा गएर आवश्यक जानकारी लिन सकिन्छ । यस्तै ९८०१३ ०९०८५ मा फोन गरेर पनि  आवश्यक जानकारी पनि लिन सकिन्छ । 

अभियानमा स्वयम्सेवकहरु पनि जोडिनुभएको छ । उहाँहरु पनि समस्यामा परेकाको सहयोगका लागि अहोरात्र खटिनुहुन्छ ।  अक्सिजन फर नेपालसँग अक्सिजनको सिलिन्डर सकिएको छ र कसैलाई एकदमै आवश्यक छ भने अरु सङ्घसंस्थासँग समन्वय गरेर भए पनि संस्थाले सहयोग गर्ने प्रयास गर्नेछ । 

५, ६ सय वटा जति खाली सिलिन्डरहरु चीन वा थाइल्याण्डबाट ल्याउने प्रयास भइरहेको छ । काठमाण्डौमा अवस्था भयावह बन्दै गएकाले पहिला काठमाण्डौमा  अक्सिजन उपलब्ध गराउनका लागि काम गर्ने र त्यसपछि  सम्भव भएसम्म देशका अरु ठाउँमा पनि सहयोग गर्ने लक्ष्य अभियानको छ । 

नेपालमा अक्सिजन उत्पादनमा खासै समस्या छैन । तर अक्सिजन के मा राखेर बिरामीलाई दिने भन्ने अहिलेको मुख्य चुनौती हो । नेपालमा  अक्सिजनको भाँडो  पर्याप्त छैन । कुनै बिरामी आईसीयूमा गइसकेपछि उसलाई १५ देखि ६ सय लिटरसम्म अक्सिजनको आवश्यकता पर्छ । 

बाहिरी देशमा प्रयोगमा आइसकेका मेडिकल सामग्रीहरु नेपालमा ल्याउन नपाउने कानुनी व्यवस्था छ । अक्सिजनको सिलिन्डर ल्याउनका लागि मात्रै भए पनि सरकारले यो कानुनी ब्यवधान हटाइदिनु पर्याे  भनेर पहल भइरहेको छ । अहिले युरोप, अमेरिका लगायतका देशमा कोरोना भाइरस सङ्क्रमणको धेरै चाप छैन । यस्तो अवस्थामा ती देशबाट अक्सिजन सिलिन्डर  नेपाल ल्याउन सकियो भने धेरै जनाको ज्यान बचाउन सकिन्छ । 

महामारीको यो अवस्थामा सरकारलाई मात्र गाली गरेर समस्याको समाधान हुँदैन । आफ्नो क्षमता अनुसार आफ्नो ठाउँबाट आफूले सक्ने सहयोग गर्न कोशिस गर्नुपर्छ । अक्सिजन फर नेपालमा आबद्ध हुनुभएकाहरुले राति १०, ११ बजेसम्म पनि काम गरिरहनुभएको हुन्छ । अरुले पनि यसैगरी काम गर्नुपर्छ । महामारी नियन्त्रणमा हामी सबैको ठूलो भूमिका रहन्छ ।  

भोकालाई खुवाउने र बिरामीलाई सेवा दिने अभियानमा ‘हाम्रो सानो प्रयास’
अभियन्ता तुलसी श्रेष्ठ

नेपालमा पहिलो चरणको कोरोना भाइरस नियन्त्रणको  लागि गरिएको लकडाउनका बेलादेखि नै हाम्रो सानो प्रयास अभियानमार्फत् विभिन्न खालका कामहरु हुँदै आएका छन् ।

पोहोर गरिएको लकडाउनका बेला पनि हातमुख जोर्न समस्या भएका मानिसहरुलाई खाना खुवाउने काम गरिएको थियो । अहिलेको दोस्रो लहरमा अस्पतालमा शय्या र अक्सिजन नपाएका मानिसहरुका लागि  सहयोग गर्दै आएका छौं ।

युवाहरु एकजुट भएर कसैले अक्सिजन, कसैले एम्बुलेन्स सेवा उपलब्ध गराउने काम भइरहेका छन् । जटिल समयमा तँ र म  अथवा तेरो र मेरो नभनी सबैजनालाई सहयोग गर्नुपर्ने हुन्छ । शय्या र अक्सिजनको अभावमा छटपटिरहेको हेरेर बस्न सकिँदैन । त्यही कारणले गर्दा एकजुट भएर काम गरिएको र गर्नुपर्छ ।  यो  अभियानमार्फत् अस्पतालहरुलाई निःशुल्क अक्सिजन सेवा उपलब्ध गराउने, बिरामीहरुलाई एम्बुलेन्स सेवा उपलब्ध गराउने लगायतका काम हुँदै आएको छ । अभियान आफैँले पनि काठमाण्डौको गोकर्णेश्वर नगरपालिका र होटल प्यागोडा लगायतका ठाउँमा अक्सिजनसहितको आइसोलेशन सेन्टर सञ्चालन गरेको छ । अस्पतालहरुमा भएका शय्याको अवस्था पत्ता लगाएर सम्पर्कमा आएका बिरामीको उपचारमा सहयोग गर्ने काम पनि संस्थाले गर्दै आएको छ । 

सहयोगको अपिल गरेर अभियानमा संलग्न भएकाहरुलाई सकेसम्म सहयोग  गर्ने गरिएको छ । अभियानमा आबद्ध भएकाहरुबाट नै विभिन्न क्षेत्र छुट्याइएको छ । र जसलाई जे सम्बन्धी सहयोग चाहिन्छ, त्यही व्यक्तिलाई सम्पर्क गर्न सकिन्छ । कसैलाई अक्सिजनसहितको आइसोलेशन चाहिएको छ भने ९८ ६३३ २२ ७ ९३ मा सम्पर्क गर्न सकिन्छ । यसैमा सम्पर्क गरेर थप जानकारी लिन सकिन्छ । 

कतिपय बिरामीहरु कोरोना पोजेटिभ हुने बित्तिक्कै अक्सिजनको आवश्यकता नभए पनि  आत्तिने गर्छन् । अक्सिजनको आवश्यकता भएकाले मात्र सम्पर्क गरेमा अरु साँच्चिकै अक्सिजन आवश्यक भएकाहरु यसबाट वञ्चित नहुन् भन्ने हो । त्यसैले अक्सिजन आवश्यक भएकाले मात्र सम्पर्क गर्नुहुन अनुरोध छ । 

अहिले काठमाण्डौ उपत्यकामा मात्र सेवा उपलब्ध गराइए पनि यो भन्दा अगाडि बाँकेको नेपालगञ्जमा पनि ५४ वटा अक्सिजन सिलिन्डर र  १० हजार मास्क उपलब्ध गराइएको थियो । सेवाको भावना भएका मानिसहरुले मात्र यस्ता संस्थामा संलग्न भएर काम गर्न सक्छन् । जसरी डाक्टर तथा नर्सहरु बिरामीको सेवामा खटिनु भएको छ,  सुरक्षाकर्मीहरु सुरक्षाका लागि खटिनुभएको छ, त्यसैगरी हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक हुन्छ ।  

कोभिडको जिज्ञासा मेटाउन र समस्या समाधान गर्न ‘कोभिड अलायन्स फर नेपाल’ 
अभियन्ता कविन मलेकु 

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मानिसहरुमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न खालका जिज्ञासाहरु हुन्छन् ।  यो बेलामा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु धेरै नै व्यस्त हुने गर्छन्  ।  कोरोना सङ्क्रमण भएमा के गर्ने ? के नगर्ने ? लगायतका प्रश्नको उत्तर दिनका लागि  कोभिड अलायन्स नेपालले हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । 

नेपाल सरकारले सञ्चालनमा ल्याएको हटलाइन धेरै नै व्यस्त हुन्छ । त्यही भएर  सरकारलाई पनि सहयोग होस् भनेर छुट्टै हटलाइनको व्यवस्था गरिएका हो ।   ९८८० ०३५००० यो नम्बरमा फोन गरेर विभिन्न खालका जिज्ञासा राख्न सकिन्छ । 

ज्वरो आयो यो कोरोना हो या होइन ?  म गर्भवती छु कोरोना भयो अब के गर्ने ?  लगायतका सामान्यदेखि श्वासप्रश्वाससम्बन्धी जटिल खालका स्वास्थ्य समस्याका बारेमा या हटलाइन नम्बरमा फोन आउने गरेको छ ।  यस्ता प्रश्नको जवाफ कोभिड अलायन्स फर नेपालका टिमले दिने गर्छ । 

तर अहिले शय्या र आईसीयू चाहियो के गर्ने भन्ने खालका समस्या र प्रश्न धेरै आउने गरेका छन् । त्यस्ता प्रश्नको पनि उत्तर दिने प्रयास भने भइरहेको छ । विशेषगरी कोरोना र कोरोनाको शङ्का लागेकासँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने गरिएको छ ।

आकस्मिक अवस्थामा नजिकैको स्वास्थ्य संस्था वा अस्पताल जान सुझाव दिने गरिएको छ । संस्थाले अहिले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिँदै आएको छ । सेवा दिने अवधि  बढाउने तयारी भइरहेको छ ।  
प्रश्नका जवाफ दिनेहरु तालिम लिएका स्वास्थ्यकर्मीहरु नै धेरै छन् । उनीहरुलाई गुनासोको सम्बोधन कसरी गर्ने भनेर पनि तालिम दिइएको छ । 

सरकारले मात्रै सबै प्रश्नको जवाफ दिन नसक्ने भएकाले प्रविधिको प्रयोग गरेर सहयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । सरकारको क्षमतालाई परिपूरकको ढङ्गबाट लिने गरी सञ्चालन गरिएको हो । कोरोना र रुघाखोकी लगायत रोगका कतिपय लक्षणहरु मिल्दाजुल्दा हुन्छन् ।  कोरोनाकै पनि थुप्रै लक्षणहरु रहेका छन् । यस्तो अवस्थामा मानिसहरु अलमलमा पर्नु स्वाभाविक नै हो । कोरोनाको शङ्का लाग्नेबित्तिक्कै फोन गरिहाल्नुपर्छ । 

कसैलाई कोरोना नै लागेको छ भने पनि आत्तिहाल्नु पर्दैन । कोरोनाबाट बच्ने उपाय  लगायतको  बारेमा जानकारी टिमले दिने नै छ । सामान्य टाउको दुख्यो र कोरोनाको शङ्का लाग्छ भने पनि फोन गर्न हिचकिचाउनु हुँदैन । 

पीडित र सम्बन्धित निकायलाई जोड्ने ‘कोभिड कनेक्ट नेपाल’
अभियन्ता एदा रिजाल 

कोभिड कनेक्ट नेपालले बिरामीका  समस्या र गुनासो सुन्ने गर्छ ।  बिरामीले विभिन्न  माध्यमहरु इन्स्टाग्राममा, ट्वीटर, वेबसाइट  र हटलाइन नम्बरहरुबाट सम्पर्क गरेर आफूलाई चाहिएको सेवाको बारेमा अनुरोध गर्न सकिन्छ । अहिलेको लागि शय्या, अक्सिजन र गाडीको उपलब्धताकाबारेमा बिरामी वा बिरामीका आफन्तले संस्थामा अनुरोध गर्न सक्छन् । 

यो अभियानले देशभरका अस्पतालहरुसँग सम्पर्क गरेर, अस्पतालमा भएका शय्या, अक्सिजन लगायतका अवस्थाका बारेमा जानकारी लिएको हुन्छ । त्यसपछि बिरामीको मागको आधारमा खाली भएका ठाउँमा बिरामीहरुलाई पठाउने गर्छ । अहिलेसम्म बुटवल, धनगढी, विराटनगर, डडेल्धुरा र नेपालगञ्ज लगायतका ठाउँबाट अनुरोधहरु आएका छन् । 

नेपालका जुनसुकै ठाउँबाट पनि सम्पर्क गर्न सकिन्छ । अभियानले सकेसम्म उपलब्ध गराउने कोशिस गर्नेछ । शय्याहरु खाली भएसम्म उपलब्ध गराउन सकिन्छ । 

अक्सिजन सर्पोट वा एम्बुलेन्स चाहिएमा  

९८६०४७१६७५ एम्बुलेन्स नम्बर 
९८४३३८९४१२ मा बिहान ६ बजेदेखि ८ बजेसम्म
९८४२८६३०९३ मा बिहान ८ बजेदेखि ११ बजेसम्म
९८६५२५७४२०  मा  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र 
९८०३१०३८६९ मा दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

अप्ठ्यारो परेको बेला मानिसलाई कहाँ जाने, के गर्ने भन्ने थाहा हुँदैन । समस्याको अवस्थामा आफैँले निर्णय लिन गाह्रो हुन्छ । त्यो बेलामा यी नम्बरहरुमा सम्पर्क गर्न सकिन्छ । यो संस्थामा अहिले ४० जना सहयोगी टिम छ भने ८० जना स्वयम्सेवीहरु हुनुहुन्छ । सहयोगी र स्वयंसेवीमार्फत् अप्ठ्यारोमा परेकाहरुलाई कनेक्ट गराउने काम हुन्छ । 

शय्या अभाव छ । तर पनि  शय्या खोजिदिन भन्दै अनुरोधहरु आइरहेका छन् । अहिले अस्पतालहरुको यथार्थ अवस्था थाहा पाउनका लागि समस्या भइरहेको छ । डाक्टरहरुलाई नै उपचारकै लागि भ्याइनभ्याइ भएकाले शय्या भए, नभएकोबारे जानकारी लिन समस्या छ  । मानिसहरुले रोइकराइ फोन गरेका हुन्छन् तर स्रोत साधन पर्याप्त छैन । यसले गर्दा  चुनौती भइरहेको छ । 

कोभिड अलायन्स फर  नेपाल, हाम्रो सानो प्रयास अभियान लगायतसँग  पनि सहकार्य गरेर काम गर्ने गरिएको छ । आईसीयूको शय्या खाली भएका खबरहरु प्रकाशन तथा प्रसारण भइरहेका छन् तर  हाम्रो अभियानलाई शैया खाली भएको  कसैले पनि जानकारी दिएका छैनन्  । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि कुराकानी गरिएको हो । मन्त्रालयले  भएका सबै तथ्याङ्कहरु सार्वजनिक गर्ने गरेको जानकारी गराएको छ । कुन ठाउँमा, कुन शय्या खाली छ भन्ने जानकारी समयमै भएदिए काम गर्न सजिलो हुनेथियो ।  

गण्डकी प्रदेशबाट वेबसाइटमा नै डाटा सहयोग गर्ने कुराहरु भएका छन् । यस्तै सहयोग केन्द्र सरकार र सबै प्रदेशबाट भएमा राम्रो हुने थियो । कतिपय जीउ दुख्ने बित्तिक्कै कोरोना भयो, अक्सिजन र शय्या चाहियो भनेर भन्नु हुन्छ । तर गाह्रो हुनेबित्तिक्कै सबैलाई आईसीयू र  अक्सिजन चाहिँदैन । सामान्य समस्याको लागि मात्रै फोन गर्नु हुँदैन ।  बरु अरु खालका केही जानकारी चाहिएमा मेडिकल टिमले सल्लाह दिनुहुन्छ। सङ्क्रमित भएको बेलामा  घरमा कसरी सजिलोसँग बस्ने ? के कस्ता औषधि खाने ? भन्नेबारे उहाँहरुले जानकारी दिनुहुन्छ  ।  सामान्य समस्या हुँदैमा आत्तिहाल्नु हुँदैन ।आत्तिएमा त्यसले झन् नराम्रो असर पार्न सक्छ ।

फोनमार्फत् डाक्टर तथा विज्ञसँग सल्लाह लिनुपर्छ । आवश्यक परेमा  शय्या खोज्नका लागि हामी पहल गर्छौँ ।  कतिपयले घरमा अक्सिजन सिलिन्डर राखिसकेको पाइएको छ । घरमा राख्दा अक्सिजन साँच्चिकै चाहिएका मानिसले पाइरहेका छैनन् । 

पोखरा, बुटवल लगायतका ठाउँहरुमा स्वयम्सेवी रुपमा कोरोना नियन्त्रणका लागि सघाउ पुर्याउने महत्त्वपूर्ण कामहरु भइरहेका छन् । अरु ठाउँमा पनि यस्तै सहयोगी हातहरु अगाडि बढ्नु खुसीको कुरा हो ।  सबैले सक्रिय रुपमा लागेर काम गरे कोरोना नियन्त्रण गर्न सजिलो हुन्छ । कसैले प्रविधिको प्रयोग गरेर केही गर्न चाहेको छ भने उनीहरुलाई पनि हाम्रो  संस्थाले पनि सहयोग गर्छ । 

सहयोग गर्न चाहनेले फेसबुक, इन्स्टाग्राममा जहाँ म्यासेज गर्दा पनि हुन्छ । हटलाइन नम्बरबाट पनि सहयोग गर्न चाहेकोबारे जानकारी गराउन सकिन्छ  । अहिलेको महामारीको समयमा  कोभिड कनेक्ट नेपालले देशलाई सहयोग गर्ने काम गरिरहेको हो । तपाईँहरु पनि यसमा  संलग्न भएर सहयोग गर्न सक्नु हुनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया