महानगरका ११ गाडी, एउटा गाडी एम्बुलेन्सलाई दिएपछि मेयर मोटरसाइकलमा

 बैशाख २६, २०७८ आइतबार १२:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – विराटनगर महानगरपालिकामा साना ठूला गरि ११ वटा चढ्न मिल्ने गाडी छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली  चढ्ने दुई वटा सावारी साधन छन्, एउटा ल्याण्ड रोभर र अर्को टाेयाेटाकाे फर्च्युनर । यी दुई सवारी साधनमध्ये मेयर पराजुलीले चढ्ने को १ झ ४९४ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्नुभएकाे छ ।

मेयर पराजुलीले चढ्ने अर्को बा २ झ १३१५ नम्बरको ल्याण्डरोभर गाडी भने कार्यालयमा नै रहेको छ । फर्च्युनर गाडी एम्बुलेन्सको कामका लागि दिइएको भनेर घोषणा गर्नुभएसँगै मेयर  पराजुली शनिबारदेखि मोटरसाइकलमा देखिनुभएकाे छ । उहाँ चढेको माेटरसाइकल भने उहाँका सहयोगीले चलाएका थिए ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाउनुभएकाे थियाे ।  यो सङ्कटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने विज्ञप्तिमा उल्लेख गर्नुभएका पराजुली शनिबार देखि नै मोटरसाइकलमा देखिनुभएकाे हाे ।

कहाँ छन् बाँकी गाडी ?

विराटनगर महानगरपालिकाका दुई वटा गाडी मेयर भीम पराजुलीले प्रयोग गर्दै आउनुभएकाे छ । तीमध्ये एउटा गाडी एम्बुलेन्सको लागि प्रयोग गरिएको भए पनि अर्कोमा चढ्नुपर्नेमा किन मोटरसाइकल चढ्नुभयाे भन्नेमा महानगरपालिकाका कर्मचारी नै अन्यौलमा परेका छन्  । एक कर्मचारीले भने, ‘दुईवटा गाडी नै मेयर साबले प्रयोग गर्नुहुन्थ्यो, एउटा गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भनेपछि अर्को गाडीमा चढ्नु पर्ने हो मोटरसाइकलमा चढेर के देखाउन खाेज्नुभएको हाे, कुरा बुझिएन ।’  

मेयरले आफ्नै दुवै गाडी नचढे पनि  महानगरमा भएका अन्य गाडीहरु पनि यो बेला कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्रयोग हुनु पर्नेमा नभएको पाइएको छ ।  विराटनगर महानगरपालिकामा प्रमुखले प्रयाेग गर्ने २, उपप्रमुखले प्रयोग गर्ने निसानकाे १, प्रमुुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने अर्को पनि निसानकै गाडी छन्  । कार्यालयमा रहेको दुईवटा टाटासुमोमध्ये एउटा परियोजनाको काममा इन्जिनियर भरत न्यौपानेले प्रयोग गर्दै आउनुभएकाे छ भने अर्को टाटासुमो  शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले प्रयोग गर्नुहुन्छ ।

अहिले महानगरको काम कोराेनाले रोकिएको अवस्थामा ती सवारी पनि प्रयाेगविहीन भएका छन् । नगर प्रहरीले एउटा नयाँ स्कारपियो र अर्को मिनी ट्रक प्रयोग गर्दै आएको छ ।

महानगरपालिकामा भएका दुई वटा एम्बुलेन्समध्ये एउटा नि:शुल्क सुत्केरीको उद्धारका  लागि प्रयोग भएको छ भने अर्को एम्बुलेन्स महानगरपालिकाले कोरोना सङ्क्रमित बोक्ने काममा प्रयोग गरको महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया