विना काम लखरलखर सडकमा हिँड्नेले चिदिचाैरमा टन्टलापुर घाम तापे !

 बैशाख २६, २०७८ आइतबार १९:३०:२५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – के तपाईँ विना काम सडकमा लुखुर–लुखुर अनावश्यक रुपमा हिँडिरहनुभएको त छैन ? ख्याल गर्नु होला है ! अत्यावश्यक कामबाहेक यसरी लखर–लखर हिँड्ने बानी छ भने आजैदेखि छोड्नु होला । नभए तपाईँ पनि वैशाखको टन्टलापुर घाममा घामको तातोतातो रापसँगै पसिना पुछ्दै चौरमा बस्नु पर्ला ! 

घटना आइतबार दिउँसोतिरको हो । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौरमा सामाजिक दुरी कायम गरी बसिरहेका युवादेखि वृद्ध उमेरसम्मका व्यक्ति देख्दा जो कोहीले पनि उनीहरु भारतबाट आफ्नो घर फर्केकाहरु गाडीको पर्खाइमा रहेका होलान् भन्ने जो कसैले सहजै अनुमान गर्न सक्दथे । मनमा कौतुहल जाग्यो र नजिकै गएर सुरक्षाकर्मीलाई सोध्दा उनीहरु भारतबाट आएका नभइ सदरमुकाम तम्घास बजारमा विना काम सडकमा डुलिरहेका व्यक्तिहरु रहेछन् । 

सुनसान सडकमा मस्तसँग गफ चुट्दै हिँडेका र कामको बहाना बनाएर निषेधाज्ञाको कुनै वास्ता नगरि सडकमा हिँडिरहेकालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले चिदिचौरमा आइतबार केही समय भए पनि राम्रैसँग घाम तपायो । प्रहरीले उनीहरुलाई घाम मात्र तपाएन उनीहरुलाई अब यसरी सडकमा विना काम लखर–लखर डुल्न हुँदो रहेनछ भनेर एउटा गतिलो पाठसमेत सिकायो । 

विना काम बाहिर निस्कँदा यसरी प्रहरीको फन्दामा परिन्छ र कारबाही बेहोर्नुपर्छ भन्ने उनीहरुले सोचेका थिएनन् । ‘म मिस्त्री हुँ, सामान लिन जान भनेर निस्केको थिएँ, मलाई पनि छोप्यो’, नाम प्रकाशित नगर्ने शर्तमा एक युवतीले मुन्टो निहुराउँदै भनिन्, ‘हाम्रो फोटो नखिच्नु है दाइ ?’ 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले यस्तो विषम परिस्थितिमा निषेधाज्ञाको उल्लङ्घन गरी यसरी अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गर्दै उनीहरुलाई सम्झाउँदै हुनुहुन्थ्यो । ‘पहिलो पटक आज हामी हजुरहरुलाई पाठ सिकाएर सम्झाएर पठाउँदै छौँ भोलि पनि यसैगरी अनावश्यक रुपमा बजारमा लखर–लखर डुल्दै गरेको भेटिएमा हामी हजुरहरुलाई थप कारबाही गर्न बाध्य हुनेछौंँ’, सम्झाउने क्रममा उहाँले भन्दै हुनुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतवारदेखि यसरी अनावश्यक रुपमा सडकमा हिँड्नेहरुलाई कारबाही गर्न सुरु गरेको छ । यो अभियान सामाजिक सञ्जालमा पोस्ट भएपछि नागरिकले यसलाई सकारात्मक रुपमा लिएका छन् ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया