सोलुखुम्बुको फाप्लु विमानस्थल जोखिममा, जिम्मेवारीबाट पन्छिँदै निर्माण कम्पनी

 जेठ ३, २०७८ सोमबार १४:९:६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पर्यटकीय क्षेत्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको हो । 

माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ । माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख रमेश महतले बताउनुभयो ।

विमानस्थलबाट माथिल्लो भागमा लगाइएको ग्याभिङ वालसमेत लच्किँदा जोखिम उच्च भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । भत्किएको क्षेत्रलाई तत्काल मर्मत नगर्ने हो भने बर्खामा उडान हुन नसक्ने भन्दै गएको वैशाख ११ गते प्राधिकरणलाई लिखित तथा मौखिक रुपमा समेत जानकारी गराइसकेको प्रमुख महतले बताउनुभयो ।

यस्तै नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । नागरकिलाई सेवा दिन राज्यकोषको लगानीबाट निर्मित विमानस्थल भत्किनु ठेकेदारको कमजोरी भएको उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्यन प्राधिकरण सिभिल इन्जिनियरिङ विभागका निर्देशक प्रदीप अधिकारीले अघिल्लो वर्ष निर्माण गरिएको दुवै क्षेत्र भत्किएको भन्ने जानकारी भएकाले त्यस विषयमा छानबिन हुने बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले विमानस्थलको घेराबार भत्किएको देखिएकाले तत्काल नागरिक उड्डयन प्राधिकरण फाप्लुलाई आवश्यक कदम चाल्न निर्देशन दिइको भन्दै राज्यको सम्पत्तिमा लापर्बाही गर्ने छुट कसैलाई पनि नभएको बताउनुभयो । 

निर्माण कम्पनीको गैरजिम्मेवार जवाफ  

नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख रुपैयाँको लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी काठमाण्डौले पार्किङस्थलसहित घेराबार निर्माण गरेको हो । निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीयवासीले बताएका छन् । तर निर्माण कम्पनीका प्रमुख दिनेश रिजालले भने ठेकेदार कम्पनीको कुनै पनि कमजोरी नरहेको दाबी गर्नुभयो । 

बर्खाको पानीले पर्खाल भत्किएको भन्दै उहाँले आफूहरुले सबै रकम भुक्तानीसमेत पाइसकेकाले बाँकी मर्मतको जिम्मा आफूहरुको नरहेको जिकिर गर्नुभयो । तर प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठ भने भत्केको पर्खाल निर्माणको जिम्मा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीकै रहेको बताउनुहुन्छ । 

ठेकेदार कम्पनीका प्रमुख रिजालले निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको दाबी गरे पनि इन्जिनियर श्रेष्ठले भने काम बाँकी रहेको बताउनुभयो । यसरी निर्माण कम्पनी र इन्जिनियरको भनाइ बाझिनुले पनि कामको गुणस्तरियतामा प्रश्न गर्ने आधारहरु खडा भएको छ । 

२०७६ सालको जेठमा निर्माण सम्पन्न भएको यस पार्किङस्थल असारमै भत्किएपछि फेरि मर्मत गरिएको थियोे । मर्मत गरिएको पाकिङस्थलसमेत जोखिममै रहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया