पत्रकारलाई कामबाट ननिकाल्न महासङ्घको चेतावनी

 जेठ ३, २०७८ सोमबार १५:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारकाे रोजगारी नखोस्न चेतावनी दिएको हो । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्राे लहरमा पनि पत्रकारलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारका निम्ति महासङ्घले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताउनुभयो । महासङ्घले कोभिडको दोस्राे लहरमा निष्कासनमा परेका नाै जनाको पुनर्नियुक्तिसमेत गराएको महासचिव पुरीले जानकारी दिनुभयो । त्यसैगरी पाँच सञ्चार माध्यमलाई सात दिनभित्र पत्रकारको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । दाेस्राे लहर सुरु भइसकेपछि हामीले नाै जनाको पुनर्नियुक्ति गरी समस्या समाधान गरेका छाैँ । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमूलक काम पनि पत्रकार महासङ्घले गरिरहेको छ । श्रम समस्यासँग जोडिएका पाँच सञ्चार माध्यमलाई सात दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौँ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागलाई भेटेर विस्थापित भएकालाई पुनर्स्थापित गर्ने, पेसामा रहेकालाई पेसामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने विडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे । महासङ्घले महामारीको समयमा पत्रकार फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारलाई पनि समेटेर त्यही प्रकारको सेवा, सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ । महासचिव पुरीले भन्नुभयो ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको परिभाषाभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकारलगायत सरसफाइकर्मीलाई एकै ठाउँमा राखेर सेवा, सुविधाको व्यवस्थापन र त्यही खालको समतामूलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

पत्रकार महासङ्घले कोरोना सङ्क्रमित पत्रकारलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा रहेको आवास गृहमा आइसाेलेशन बेड निर्माण गरेको गरिएको छ । 

त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सकसहितको आइसाेलेशन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिनुभयो । काठमाण्डाै उपत्यकामा सङ्क्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भइ आएका पत्रकारलाई काठमाण्डाैमा बेड मिलाउने, आईसीयू, भेन्टिलेटर मिलाउने जस्ता काम महासङ्घले गरिरहेको उहाँले बताउनुभयो ।

महासङ्घका अनुसार, जेठ २ गतेसम्म देशभर गरी झन्डै आठ सय जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । अहिले दुई सय ५० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । ४० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ । ६ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ भने सङ्क्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।  

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया