हिमालकाे काखैमा पुगे घुम्ती गोठ !

 जेठ ४, २०७८ मंगलबार २०:३२:४९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा घुम्ती गोठमा पशुपालन गर्ने परम्परा अझै कायमै छ । यहाँका ग्रामीण क्षेत्रका किसानले वर्षाैँदेखि घुम्ती गोठमा गाई–भैँसी, भेडाबाख्रा पाल्दै आएका छन् । विशेषगरी जिल्लाको दोर्दी गाउँपालिका, क्वहोलासोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रका विभिन्न ठाउँका किसानले परम्परागत घुम्ती गोठमा पशुपालन गर्दै आएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

तीन सय हाराहारीमा घुम्ती गोठ

विज्ञ केन्द्रका अनुसार लमजुङमा तीन सय हाराहारीमा घुम्ती गोठ रहेका छन् । लमजुङमा एक सय हाराहारी घुम्ती गोठमा गाईभैँसी पालिएका छन् भने दुई सय घुम्ती गोठमा भेडाबाख्रा पालिएका छन् । घुम्ती गोठमा पालिएका भेडाबाख्रा, गाईभैँसी चराउनका लागि किसान बर्सेनि लेक–बेसी गरिरहन्छन् । 

अहिले लमजुङमा रहेका घुम्ती गोठ हिमालको काखैमा पुगिसकेकाे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर रुपेश श्रेष्ठले बताउनुभयो । ‘घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका किसान अहिले हिमालको काखैसम्म पुगिसकेका छन्’, उहाँले भन्नुभयो ।

यहाँका घुम्ती भेडी गोठ अहिले बौद्ध हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, लमजुङ हिमाल लगायतका हिमालको काखैमा पुगिसकेकाे डा. श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घुम्ती गोठमा पालिएका पशु चराउँदै किसान ठुलाकी याक खर्क, गैरी खर्क, पतीपुरे खर्क, थुर्चु खर्क लगायतका खर्कमा पुगिसकेका छन् ।

‘घुम्ती भेडी गोठ चार हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने तीन हजार मिटर उचाइसम्म मात्रै पुग्छन्’, उहाँले भन्नुभयो । 

डा. श्रेष्ठका अनुसार चैत लागेसँगै बेसीबाट उकालो लागेका घुम्ती गोठ वैशाख मसान्तसम्म हिमालको काखैमा (माथिल्लो क्षेत्रमा रहेका खर्क) मा पुगिसक्छन् । हिमालको काखैमा पुगिसकेका घुम्ती गोठ जेठ, असार र साउन महिना गरी तीन महिना यतै रहन्छन् । 

पोसिलो घाँस पर्याप्त  

यस समयमा माथिल्लो क्षेत्रमा रहेका खर्क (घाँसे मैदान) मा पर्याप्त पोसिलो घाँस हुने भएकाले पशु चरनका लागि घुम्ती गोठ हिमालको काखैसम्म पुग्छन् ।

हिमालको काखैमा रहेका घुम्ती गोठ भदौको मध्यदेखि बिस्तारै बेसी झर्न सुरु गर्छन् । कात्तिकसम्म सबै घुम्ती गोठ बेसी झरिसक्छन् । मङ्सिर, पुस, माघ, फागुन महिनाभर प्रायस घुम्ती गोठ बेसीमै रहन्छन् । 
तापक्रम, घाँसको उपलब्धतासँगै घुम्ती गोठ बर्सेनि लेक–बेसी गरिरहने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ड बताउनुहुन्छ ।‘गर्मी बढेसँगै घुम्तीगोठ उकाले चढ्छन् । चिसो बढेसँगै गोठ बेसी झर्छन्’, उहाँले बताउनुभयो ।

दुःख धेरै 

यस व्यवसायबाट मनग्य कमाउन सकिने तर दुःख धेरै हुने भएकाले पनि यस व्यवसायमा आकर्षण घट्दो रहेको विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठ बताउनुहुन्छ । ‘आम्दानी राम्रै छ तर दुःख ज्यादा हुने भएकाले घुम्ती गोठमा कामदार र गोठालाको अभाव छ । त्यसैले पनि परम्परागत घुम्ती गोठ घट्दै छ’, उहाँले भन्नुभयो ।

घुम्ती गोठका साथै पशु अनुवांशिक स्राेत संरक्षणका लागि विज्ञ केन्द्र

यसका साथै धेरै सङ्ख्यामा युवा विदेशिएका कारण पनि पछिल्लो समय परम्परागत घुम्ती गोठमा पशुपालन गर्ने परम्परा हराउँदै गएको छ । हराउँदै गएको घुम्ती गोठ संरक्षणका साथै पशु अनुवांशिक स्राेत संरक्षणका लागि विज्ञ केन्द्रले बर्सेनि घुम्ती गोठ संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।

यस वर्ष विज्ञ केन्द्रले दूधपोखरी गाउँपालिका ५ कोल्कीमा रहेकाे गैरीखर्क देउराली पेटखर्क घुम्ती भेडापालन समूह र दोर्दी गाउँपालिका ५ पाचोकमा रहेकाे गुरुङ परम्परागत सामुदायिक घुम्ती भेडाबाख्रा पालन समूहमार्फत त्यस क्षेत्रमा चरन खर्क सुधार कार्यक्रम सञ्चालन गरेको छ ।

यी दुई समूहलाई प्रति समूह पाँच/पाँच लाख रुपैयाँ प्रदान गरिएको र यस रकमबाट खर्कमा ‘सेतो क्लोवर’ जातको घाँस छर्ने, सिँचाइका लागि पाइपको व्यवस्थाका साथै काठेपुल निर्माण गरिएको डा. श्रेष्ठले बताउनुभयो ।

यसैगरी विज्ञ केन्द्रले यसै वर्ष जिल्लाका विभिन्न चार घुम्ती गोठलाई घुम्ती गोठ संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेको छ । क्वहोलासोँथर गाउँपालिका ५ सिङ्दीमा रहेको एकीकृत भैँसीपालन समूह, दोर्दी गाउँपालिका ५ पाचोकमा रहेको घले सामुदायिक कृषक समूह, मर्स्याङ्दी गाउँपालिका ५ घेर्मुमा रहेकाे ठुलाकी याक खर्क कृषक समूह र मर्स्याङ्दी गाउँपालिका १ नायुँको घनपोखरा घुम्तीगोठ कृषक समूहलाई घुम्ती गोठ संरक्षण कार्यक्रमबाट प्रति समूहलाई पाँच/पाँच लाख रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो ।

‘परम्परागत घुम्ती गोठ बढाउन सक्दो पहल गरिएको छ । भएका घुम्ती गोठ संरक्षणका साथै पशु अनुवांशिक स्राेत संरक्षणका क्षेत्रमा विज्ञ केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ’, विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले भन्नुभयो ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया