‘विदेशमा रहेका श्रमिकलाई कुनै अप्ठ्यारो नहोस् भनेर बोर्ड सजग छ’

 जेठ ४, २०७८ मंगलबार १७:४९:८ | राजनप्रसाद श्रेष्ठ
unn.prixa.net

अहिले विश्वमा कोरोनाको दोस्रो लहर छाएको छ । त्यसको बढी असर भारत लगायत दक्षिण एसियामा परेको छ । त्यसैले पनि अघिल्लोपटकको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । ​

अघिल्लोपटक नेपालमा भन्दा पनि नेपाली श्रमिक कार्यरत मलेसिया लगायत खाडी देशहरुमा कोरोना एकदमै तीव्र रुपमा फैलिएको थियो । त्यहाँ अवस्था भयावह थियो । नेपालमा पनि लकडाउन जारी थियो । त्यो कारणले गर्दा विदेशमा रहेका नेपाली श्रमिकहरुलाई कसरी सुरक्षित साथ नेपाल ल्याएर व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले भ्याए जति काम गर्यौं । दूतावासमार्फत खान बस्न यता ल्याउने लगायतका कामहरु हामीले गर्यौं । तर अहिले परिस्थिति फरक छ ।

मलेसिया लगायत खाडी देशहरुमा कोरोनाको दोस्रो भेरियन्टको प्रभाव तुलनात्मक हिसाबले कम देखिएको छ । अहिलेको नयाँ प्रजातिको कोरोनाबाट नेपाल भारत लगायतका दक्षिण एसियाली देशहरु बढी आक्रान्त छन् । अहिले नेपालमा रहेका हामीहरु बढी पीडित छौं । तर पनि विदेशमा समस्यामा पर्नुभएका नेपाली श्रमिकहरुलाई नेपाल फर्काउने तथा उद्धार गर्ने विषयमा हामी एकदमै केन्द्रित छौं । 

बोर्डमा अनलाइनमार्फत निवेदन दिनुहोस्

विदेशमा विविध कारणले ज्यान गुमाउनुभएका श्रमिकका परिवारलाई आर्थिक सहायता दिने लगायतका कामहरु नियमित गरेका छौं । यो अनिवार्य दायित्व हो । यसबाट हामी पन्छिन मिल्दैन । अहिले श्रम स्वीकृति, बिमाको रकम पनि मोबाइलबाटै सिधै तिर्न सकिने व्यवस्था मिलाएका छौं । यस्तै बोर्डबाट पाउने आर्थिक सहायता जस्तो, मृत्यु भएको, अंगभंग, छात्रवृत्ति लगायतका सेवाहरु पनि अनलाइनबाटै प्रदान गर्ने व्यवस्था मिलाएका छौं । त्यसको लागि पीडितले अनलाइनमार्फत निवेदन दिने र यताबाट प्रदान गरिने आर्थिक सहायता पनि पीडितकै बैंक खातामा पठाइदिने गरेका छौं । 

इमेल गर्न जान्ने पीडित हुनुहुन्छ भने आवश्यक डकुमेन्टसहित बोर्डमा मेल गर्न सक्नुहुन्छ । यदि मेल गर्न आउँदैन, पढेलेखेको हुनुहुन्न भने आफ्नो पालिकामा गएर त्यहाँबाट निवेदन दिन सक्नुहुन्छ । पालिकाले त्यतिबेलै स्क्यान गरेर होस् या हुलाकमार्फत होस्, या इमेल गरेर होस् हामीलाई पठाइदिनुहुन्छ । त्यसरी पालिकाबाट र अनलाइनबाट प्राप्त निवेदनलाई हामीले प्रमाणित गरेर स्थानीय तहले नै किटानी सिफारिस गरेको पीडितको खातामा सिधै पैसा जम्मा गरिदिने गरेका छौं ।

अहिले निषेधाज्ञा छ । बोर्डमा पनि सीमित कर्मचारी मात्रै हुनुहुन्छ । अन्तर्राष्ट्रिय उडान बन्द छन् । त्यसैले उडान पुनः सञ्चालनमा नआएसम्म केही समय हामीले धैर्य गर्नुपर्ने अवस्था छ । विदेशमा ज्यान गुमाउनुभएका श्रमिकका परिवारले पनि अहिले धैर्य गर्नुपर्ने हुन्छ । उडान सहज भएपछि उद्धार गर्नको लागि हामी तयारी अवस्थामा छौं ।

अहिले अघिल्लो वर्षको जस्तो नेपाल ल्याउन नपाएर विदेशमै शवहरु अलपत्र परेको अवस्था छैन । हामीले अन्तर्राष्ट्रिय उडान बन्द भएको दिनसम्म पनि एकदुईवटा शवहरु ल्याइएका थिए । त्यसरी ल्याइएका शवहरुलाई हामीले परिवारको जिम्मा पनि लगायौं । अघिल्लो वर्षको जस्तो उल्लेख्य संख्यामा शव नेपाल ल्याउनुपर्ने अवस्था अहिले छैन । विभिन्न देशमा विविध कारणले दैनिक सरदर एकदुई जनाको ज्यान गएको अवस्था छ । तर यो संख्या एक महिनासम्म त बढेर धेरै हुन्छ । त्यसको लागि उद्धार उडान गर्नुपर्छ भन्ने हामीलाई थाहा छ र त्यसको तयारीको लागि हामी लागिरहेका छौं ।

यस्तै विदेशमा समस्यामा परेर, जागिर गुमाएर फर्किनु भएका श्रमिकहरुलाई लक्षित गरेर हामीले पुन:एकीकरणको लागि केही कामहरु गरिरहेका छौं । सातै प्रदेशमा स्थानीय तहसँग मिलेर स्थानीय तहमै सीपमूलक तालिम सञ्चालन गरेका थियौं । तर निषेधाज्ञाको कारणले केही रोकिएको अवस्था छ । तर कतिपय अनलाइन गर्न सकिने कुराहरु अनलाइनमार्फत नै भइरहेका छन् । कोरोनाको संक्रमण बढ्दै गएकाले अहिले आफ्नो ज्यान जोगाउनु नै ठूलो कुरा हो । त्यसैले महामारीको प्रभाव सामान्य हुँदै गएपछि, श्रमिकहरुलाई पुन:एकीकरण गर्ने सीप प्रदान गर्ने तथा अन्य कुराहरु प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजानेछौं ।

खाडीमा रहेका तपाईँलाई धन्यवाद

विदेशमा रहनुभएका नेपाली श्रमिक अहिले आफ्नो ज्यान जोगाउने भन्दा पनि नेपालको अवस्थाबारे चिन्तित हुनुभएको छ । महामारीको असर नेपालमा व्याप्त छ । उहाँहरुलाई आफ्नो परिवारको चिन्ताले पिरोलेको होला । त्यसैले पनि आफ्नो गाँस कटाएरै उहाँहरुले अक्सिजनका सिलिण्डरहरु नेपाल पठाइरहनुभएको छ । केही दिन पहिले मात्रै ओमानबाट त्यति धेरै अक्सिजन सिलिण्डर पठाउनुभयो । एकदमै सह्रानीय काम गर्नुभएको छ । उहाँहरुप्रति हामी एकदमै कृतज्ञ छौं ।

तर पनि वैदेशिक रोजगार बोर्डको पनि यतिबेला विदेशमा रहेका आफ्नो देशका श्रमिकहरुप्रति जिम्मेवारी हुन्छ । उहाँहरुलाई कुनै अप्ठ्यारो नहोस् भन्नको लागि बोर्ड एकदमै सजग छ । तत्काल कुनै समस्या परेको अवस्थामा आफूले के सहयोग गर्न सक्छौं भनेर हामीले सम्बन्धित देशका दूतावासहरुमा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेर ‘अपडेट’ लिने काम गरिरहेका छौं । नियोगहरुबाट जानकारी नआएसम्म यही समस्या छ भनेर यकिन गर्न सक्ने अवस्था त हुँदैन । सहयोग गर्न सक्ने अवस्था हुँदैन । अहिले त्यहाँको वस्तुस्थिति बुझ्ने काम गरिरहेका छौं । 

अहिलेको अवस्थामा विदेशबाट कति जना नेपाली श्रमिक स्वदेश फर्किन चाहिरहेका छन् भन्ने कुराको यकिन तथ्यांक त हामीसँग छैन । तर दैनिक तीन चार सय देखि बढीमा सात सयको हाराहारीमा फर्किने विगतको अवस्थालाई हेर्ने हो भने पनि अब पाँच छ सयको मात्रामा संख्या बढ्दै जाने देखिन्छ । अन्तर्राष्ट्रिय उडान सहज हुने अवस्था सिर्जना भएन र नेपाल फर्किने श्रमिकको संख्या धेरै भयो भने पक्कै पनि उद्धार उडान गर्ने नै छौं ।

(वैदेशिक राेजगार बाेर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँग गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजनप्रसाद श्रेष्ठ

श्रेष्ठ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • Kushal kc

    May 18, 2021, 6:15 p.m.

    यो मात्र होइन, फ्लाइटको कारण म जस्ता हजारौं युवा यता न उता भएका छन् / भीसाको मिति सकिन लागेको छ, नयाँ भिसाको लागि प्रक्रिया गर्नुपर्छ / उता लाखौ युवा नेपाल आउन भनेर टिकट काटेर बसेका छन्, भएको जागिर पनि फर्कने भनेर छोडिसके / हजारौं युवाको भिसाको समय सकिन लागेको छ , यसको विकल्प सबै फ्लाइट सिल्ड गर्नुमात्र होइन /भारतसंगको फ्लाइटले के कुना रोक्छ र ? भारत भन्दा अरु देशको फ्लाइट त झन सुरक्षित छ होइन र / त्यसैले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर फ्लाइट चाहिं खोल्नुपर्छ , आखिर देशमा पर्दा सहयोग गर्ने विदेशिएका युवा नै हुँ / देशको ढुकुटी चल्ने सबै रेमिटेन्सले हो , तर तीनै युवाको पीडालाई कसैले सुन्दैन , आखिर किन ?? विकल्प खोजौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया