कोरोना महामारीमा पनि बालबालिकाको नियमित खोप अनिवार्य

 जेठ ६, २०७८ बिहिबार १०:२४:४२ | डा. तारानाथ पोखरेल
unn.prixa.net

बालबालिका र गर्भवती महिलालाई लगाइने खोप अत्यावश्यक सेवा अन्तर्गत पर्छ ।  यो सेवा नियमित र एकदमै प्रभावकारी रुपमा सञ्चालन भइरहेको सेवा हो । अब पनि रोकावट हुनु हुँदैन । रोकावट नहोस् भनेर नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परिपत्र र सूचना जारी गरेको छ । 

सूचना र जानकारी सबै पालिका र स्वास्थ्य संस्थामा पुग्ने गरी प्रवाह गरिएको छ । खोप सेवालाई कसरी निरन्तरता दिने, कुन अवस्थामा सञ्चालन गर्ने ? खोप लगाउन आउनेको व्यवस्थापन, स्वास्थ्यकर्मीको सुरक्षा सबै कुराहरु समेटिएको अन्तरिम निर्देशिका पनि  जारी गरिएको छ ।  

बालबालिकाको खोप सेवा रोक्नै हुँदैन  

केही ठाउँहरुबाट खोप सेवा प्रभावित हुन लागेका भन्ने गुनासाहरु आएका छन् । खोप सेवा अत्यावश्यक सेवा भएकाले कुनै पनि अवस्थामा प्रभावित हुनु हुँदैन भनेर स्पष्ट भनिएको छ ।  विशेष कारण प्रभावित भएमा खोप लगाउन नपाएका बालबालिकालाई फेरि खोप लगाउन पाउने व्यवस्था गरिनुपर्छ । 

बालबालिकाले नियमित खोप पाएनन् भने अर्को महामारीको शिकार हुनुपर्ने अवस्था आउँछ। त्यही कारण खोप लगाउनबाट  कुनै  बालबालिका छुट्नु हुँदैन । यदाकदा स्वास्थ्यकर्मी सङ्क्रमित भएको अवस्था आयो, खोपको उपलब्धता हुन सकेन भने अर्को तालिका बनाएर खोप दिने व्यवस्था मिलाउनुपर्छ ।  तर कुनै पनि हालतमा खोप अभियान रोक्नु हुँदैन । खोप अभियानलाई राष्ट्रियरुपमा स्थगित गर्नु वा सार्नु हुँदैन । त्यो गरिएको पनि छैन । स्थगित गर्नका लागि आदेश निर्देशन केही भएको छैन । 

अन्तरिम निर्देशिकाहरुले स्पष्टरुपमा अत्यावश्यक सेवाहरु नरोक्न भनेको छ । बालबालिकाको खोप सेवा अस्पतालहरुमा भन्दा पनि समुदाय वा खोप केन्द्रहरुमा हुने सेवा हो । अरु बिरामीको उपचारका कारण बालबालिकाको खोप सेवालाई  प्रभावित गर्दैन । कुनै कारणले रोकावट भएमा १५ दिन वा एक महिनाको अर्को तालिका बनाएर खोप अभियानलाई निरन्तरता दिनुपर्छ । प्रायः खोपहरु एक, एक महिनामा लगाइने भएकाले छुटेका बालबालिकालाई बोलाएर नै लगाउनु पर्छ । 

अर्को महामारी निम्तन नदिऔँ 

बालबालिकाको खोप सेवा प्रभावित भएमा अर्को महामारी निम्तन सक्छ भनेर विज्ञहरुले पनि भन्दै आएका छन् । अर्को महामारी ननिम्तियोस्  भन्नका लागि  बालबालिकालाई पहिले नै खोप लगाएर सुरक्षित राख्नु पर्छ । त्यसका लागि नियमित खोप सेवा सञ्चालन गरिनुपर्छ । र अभिभावकले पनि आफ्ना बालबालिकालाई सरकारले भनेका सबै खोप समयमै  दिनुपर्छ । कोरोना जोखिमको अहिलेको अवस्थामा सुरक्षा सावधानी अपनाउन भने उत्तिकै आवश्यक हुन्छ । 

स्वास्थ्यकर्मीले मास्क लगाउने, बेलाबेला स्यानिटाइजरको प्रयोग र साबुनपानीले हात धुने गर्नुपर्छ । खोप  केन्द्रमा जानेहरुले मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने र दूरी कायम गर्नुपर्छ ।  भीडभाड हुने देखिएमा खोप केन्द्रको संख्या थपेर भए पनि व्यवस्थापन गर्नुपर्छ । तर भीडभाड हुन दिनु हुँदैन । अर्को खोप केन्द्र थप्नुपर्ने भएमा जिल्लासँग समन्वय गरेर पालिकाले थप्न सक्छन् । तर कुनै पनि अवस्थामा खोप सेवा रोकिनु हुँदैन । यो नेपाल सरकारको सूचना, जानकारी, सन्देश र निर्णय पनि हो । 

अहिले बालबालिकालाई नियमित दिइने खोपहरु भनेका दादुरा, रुबेला लगायत सरुवा रोगविरुद्धका खोपहरु रहेका छन् । खोप अभियान रोकिएमा फेरि त्यही रोगको महामारी फैलन सक्छ । जस्तै, दादुराको खोप बालबालिकालाई लगाउन नपाएमा दादुराको महामारी फैलन सक्छ ।

खोप नलगाउने बालबालिकाको संख्या बढ्दै गयो भने महामारी फैलने जोखिम पनि बढ्दै जान्छ । पोलियोको विरुद्धको खोप प्रभावित भएर धेरैले लगाउन नपाएमा नेपालमा फेरि पोलियो रोग फर्किएर आउने सम्भावना रहन्छ । विभिन्न खालका सरुवा रोगको विरुद्धमा दिइने खोपहरु फेरि महामारीको रुपमा फैलने सम्भावना रहन्छ । दुई, चार जना बच्चा छुटेमा केही दिनमा दिँदा फरक पर्दैन । तर ठूलो संख्यामा छुटे भने महामारी फैलन खतरा बढेर जान्छ।  

धेरै स्वास्थ्यकर्मीले कोरोनाको खोप लगाइसकेकाले डराउनु पर्दैन 

खोप केन्द्रमा जाने अभिभावक र स्वास्थ्यकर्मी सबैले जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ । तर गएको वर्षजस्तो डराइहाल्नुपर्ने अवस्था यो पटक छैन । स्वास्थ्यकर्मी, पत्रकार लगायतका अग्रपङ्क्तिमा रहेकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । 

उहाँहरुलाई खोपको दोस्रो मात्रा पनि दिइसकेकाले डराइहाल्नुपर्ने अवस्था छैन । तर खोप लगाइसकेको भए पनि स्वास्थ्य मापदण्डको पालना भने गर्नुपर्छ । तर पनि कोरोनाको पहिलो लहरमा जस्तो डराउनुपर्ने अवस्था अहिले छैन।

कोरोनाका कारण डराएर स्वास्थ्य संस्था बन्द गरेर घरमा बस्नुपर्ने अवस्था अहिले छैन । झण्डै २३ हजार स्वास्थ्यकर्मी गाउँगाउँमा छन् । बाँकी मात्र ठूला अस्पतालहरुमा छन् । आफूलाई पनि जोगाउँदै र अरुलाई पनि जोगाउनका लागि काम गर्नुपर्छ । स्थानीय प्रशासनले, बालबालिकाको खोप कार्ड देखाएमा केन्द्रसम्म जान रोक्नु हुँदैन । एक जना वा दुई जनालाई भीड नगरिकन जान दिनुपर्छ । 

अहिले पनि बालबालिकाहरुलाई खोप अभियानमा शतप्रतिशत समावेश गर्न सकिएको छैन । केही कारणले बालबालिका छुटेका भए एक वर्षसम्म खोप लगाइदिनुपर्छ । एक वर्षभित्रमा नलगाएको बच्चा भेटियो भने फेरि खोप सेवा सुरु गर्नुपर्छ । खोप नै नलगाउनु भन्दा केही ढिला भए पनि लगाउनुपर्ने हुन्छ । त्यसले पनि काम गर्छ । तर सकेसम्म समयमै खोप लगाउनुपर्छ । अहिले निषेधाज्ञाका कारण बालबालिकाहरु खोप लगाउनबाट छुटेका भए अर्को महिना बोलाएर लगाइदिनुपर्छ ।    

(स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत १४, २०८०

डा. तारानाथ पोखरेल

डा. तारानाथ पोखरेल स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया