अस्पताल निर्माणका लागि रास्काेट नगरपालिकाले गरेको ठेक्का रोक्न मन्त्रालयको पत्र

 जेठ ६, २०७८ बिहिबार २०:५:४१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – रास्कोटमा अस्पताल निमार्णका लागि नगरपालिकाले गरेको ठेक्का रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्र पठाएको छ । मन्त्रालयले ठेक्का अहिलेलाई रोक्नू/नखोल्नू भनेर पत्र पठाएपछि ठेक्का स्थगित गर्नुपरेको रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताउनुभयो । 

समुदायको लगानीमा रास्कोटको गौतुकोटमा बनेको अस्पताल नगरको स्वामित्वमा आएको दुई महिना नपुग्दै अर्को नगर अस्पताल बनाउन गरिएको ठेक्कालाई तत्काल कार्यान्वयन नगर्न मन्त्रालयले पत्रचार गरेको हो ।

‘हामीले सरकारको आदेशलाई कार्यान्वयन गर्ने हो । नगरपालिकाले सूचना गर्ने निर्णय गर्‍याे, हामीले सूचना गर्‍याैँ । पुनः मन्त्रालयका सचिवस्तरबाट रोक्नू भनेर आयो । त्यसैले हामी अहिले राेकिएकाे सूचना गर्दैछाैँ’​, प्रशासकीय अधिकृत बमले भन्नुभयाे । स्थानीयवासीकाे लगानीमा बनेको गौतुकोट अस्पताल गएकाे चैत ३१ गते समितिले नगर सरकारलाई हस्तान्तरण गरेको थियो ।

अस्पताल हस्तान्तरण कार्यक्रममा मेयर काशीचन्द्र बरालले गौतुकोट अस्पताललाई ५० बेड क्षमताकाे बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अस्पताल नगरपालिकालाई हस्तान्तरण भएको दुई महिना नपुग्दै २२ करोड रुपैयाँमा नयाँ नगरको अस्पताल बनाउन राष्ट्रीय पत्रिकामा सूचना गरिएको थियो । अर्को अस्पताल निर्माणको सूचना बदर गर्नुपर्ने भन्दै स्थानीयवासीलेसमेत नगरपालिकामा निवेदन दिएका थिए । स्थानीयवासीकाे मागअनुसार नै मन्त्रालयका सचिवले अहिले ठेक्का नखोल्नू भनेर पत्र पठाएपछि उनीहरू खुसी भएका छन् ।

निर्माण सम्पन्न भएको गौतुकोट अस्पताललाई नै स्तराेन्नति गर्नुपर्ने स्थानीयवासीकाे माग छ । अहिले सञ्चालनमा रहेको गौतुकोट अस्पतालमा दक्ष जनशक्ति दिएर सेवा दिनु नै रास्कोटका लागि हितकार हुने स्थानीयवासीको भनाइ छ । निर्माण व्यवसायीले भने ठेक्का खोल्नुपर्ने माग राख्दै रास्कोट नगरपालिकामा ताला लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया