चुनावअघि नै सबैलाई खाेप लगाइ सक्ने गरी सरकार लागिपरेकाे छ : प्रधानमन्त्री ओली

 जेठ ९, २०७८ आइतबार १९:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले घाेषणा गरिएकाे मध्यवधि चुनाव अगाडि नै सबै नागरिकलाई खोप लगाइ सक्ने ढङ्गले सरकारले काम गरिरहेको बताउनुभएको छ । बालुवाटारमा आइतवार प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण बिगार्नेहरूले खोप र सार्वभौमसत्ताको प्रयोगका बारेमा नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीले यसलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नाम लिएर उनीहरूले चलाएको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ भनी टिप्पणी गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणालीभित्रै छिरेर लोकतन्त्रलाई हुँडल्ने काम गरेको दाबी प्रधानमन्त्रीले गर्नुभयो ।

उहाँले भन्नुभयो, सरकारले चुनाव भए पनि खोप ल्याउँछ, खोप लगाउँछ । चुनाव नभए पनि खोप ल्याउँछ, खोप लगाउँछ । आफ्नो सार्वभौमसत्ताको प्रयोग र खोपलाई सँगै जाेड्नु हुँदैन । यो नागरिककाे भवनासँग खेलबाड गरिएको कुरा हो । नागरिकले सार्वभौमसत्ताको प्रयोग गर्ने कुरा अहिले वातावरण बिगार्ने, चुनाव हुनै हुँदैन भन्ने, चुनावसँग तर्सिने आफ्नो हालत कमजोर भएका प्रचण्ड र माधव नेपाल जस्ताहरूकाे खेती हो यो । चुनाव भयो भने बेहाल हुन्छ । बेहाल त हुन्छ हुन्छ । वामपन्थी भनेको छ । देशभक्त भनेको छ । लोकतान्त्रिक भनेको छ । लोकतन्त्रका विरुद्ध लड्यो लड्यो, लोकतन्त्रलाई पराजित गर्न नसकेपछि भित्रै छिरेर अनि भित्रैबाट हुँडल्ने काम गर्ने अनि लोकतन्त्रका नारा दिने ?

उहाँले नेपाली नागरिकले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहीन, अराजकता र मर्यादाहीन क्रियाकलापमा संलग्न, दलीय प्रणालीलाई उल्लङ्घन गर्ने र अरू पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तिनका अगुवाको मूल्याङ्कन गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो सार्वभौमसत्ताको सही ढङ्गले प्रयोग गर्नुपर्ने बेलामा भावनामा ल्याएर सार्वभौमसत्ता प्रयोग गर्नबाट वञ्चित गराउने काम गर्नु ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, जनताको भावनासँगको खेलबाड हो । सेन्टिमेन्टल ब्ल्याकमेलिङ हो यो । सार्वभौमसत्ताको प्रयोग र नागरिककाे उपचार पाउने हक बेग्लाबेग्लै कुरा हो । नागरिककाे उपचार पाउने हकलाई सम्मान गर्न सरकार लागिपरेको छ दिनरात । त्यसका लागि भोट वा मताधिकार नागरिकले केही कुराका लागि पनि साट्दैनन् । कुनै कुरासँग पनि । तर यहाँ सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि ब्ल्याकमेलरहरू छन् । दूषित उद्देश्यका ब्लाकमेलरहरू ।

चुनाव अगाडि नै नागरिकलाई खोप लगाइ सक्ने ढङ्गले मित्र राष्ट्र तथा खोप उत्पादकहरूसँग सरकारले कुरा गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सही कुराको जानकारी गराएर भ्रम छर्नेहरूबाट नागरिकलाई जोगाउन सञ्चार जगतसँग आग्रह पनि गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया