राहतमा ‘पत्रु खाना’ वितरण नगर्न आग्रह, शिशुलाई आमाको दूध नै सबैभन्दा प्रभावकारी

 जेठ ११, २०७८ मंगलबार ९:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि वितरण गरेको गुनासो आएपछि मन्त्रालयले राहतवितरण गर्दा बालबालिकालाई यस्ता खानेकुरा नदिन आग्रह गरेको हो ।

आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु निःशुल्क वितरण गर्ने वा अनुदानमा दिने गर्दा स्तनपानलाई निरुत्साहित गर्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु अनुदानमा वितरण वा बिक्री गरे कारबाही हुने महाशाखाले जनाएको छ ।

स्तनपान गराउँदा बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास हुने महाशाखाका निर्देशक डाक्टर तारानाथ पोख्रेलले बताउनुभयो । आमाको दूधबाट कोरोना भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको र कोरोना सङ्क्रमण हुनेभन्दा स्तनपान नगराउँदा शिशुलाई बढी जोखिम हुन सक्ने भएकाले आमा सङ्क्रमित भए पनि व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएर स्तनपान गराउन उहाँको सुझाव छ। त्यस्तै शिशुलाई सङ्क्रमण भएको अवस्थामा पनि स्वास्थ्य मापदण्डलाई अपनाएर स्तनपान गराउन महाशाखाले अनुरोध गरेको छ ।

आमालाई कोरोना सङ्क्रमणको जटिल अवस्था रहेमा शिशुसँग प्रत्यक्ष सम्पर्कबाट टाढा राख्ने, स्तनपान नगराउने तर दूध निचोरेर चम्चाबाट खुवाउन सकिने उल्लेख छ । त्यस्तै आमाले कोरोनाविरुद्धको खोप लगाएको अवस्थामा पनि स्तनपानलाई निरन्तरता दिन सकिने डाक्टर पोख्रेलले बताउनुभयो । शिशु जन्मेको ६ महिना पूरा भएपछि उमेरअनुसार विभिन्न प्रकारका स्वच्छ तथा पोषणयुक्त पुरक खाना पर्याप्त मात्रामा खुवाउन सकिने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया