कोरोना निको हुनेको सङ्ख्या बढे पनि गम्भीर बिरामीको सङ्ख्या उस्तै

 जेठ १३, २०७८ बिहिबार ८:३०:८ | जानुका दुवाडी
unn.prixa.net

पछिल्लो केही दिनयता दैनिक कोरोनामुक्त हुनेको सङ्ख्या बढिरहेको छ । सङ्क्रमित हुनेको सङ्ख्या अपेक्षाकृत रुपमा घट्न नसके पनि निको हुने दर बढ्नुलाई सकारात्मक रुपमा लिइएको छ। तर अर्कोतिर आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने अर्थात् गम्भीर खालका बिरामीको सङ्ख्या बढ्नुले तत्कालै कोरोना नियन्त्रणमा आइहाल्ने लक्षण नदेखिएको स्वास्थ्य विज्ञहरु बताउँछन् । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु र नयाँ भेरियन्टको सङ्क्रमणदर बढी हुनुले पनि चिन्ता थपिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पनि कोरोनाका गम्भीर खालका बिरामीको सङ्ख्या बढ्दै गएको देखाउँछ । वैशाखको अन्तिमसम्म आईसीयू र भेन्टिलेटरमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा तल थियो । तर जेठको दोस्रो हप्तादेखि यो सङ्ख्या बढ्दै दुई हजारमाथि पुगेको छ । जेठ ६ गतेयता आईसीयू र भेन्टिलेटरमा भर्ना हुने सङ्क्रमितको ग्राफ दैनिक उकालो लाग्दैछ । 

जटिल खालका बिरामीको सङ्ख्या नघट्नुको कारण 

सङ्क्रामक रोग विषेशज्ञ डा. अनुप बास्तोला धेरै जना सङ्क्रमित भएकाले गम्भीर  खालका बिरामीको सङ्ख्या बढेको बताउनुहुन्छ । थोरै सङ्क्रमित हुँदा थोरै व्यक्ति सिकिस्त हुने भए पनि धेरै सङ्क्रमित हुँदा धेरै व्यक्ति सिकिस्त भएका  उहाँको भनाइ छ । 

'अस्पतालमा बेड छैन भनेपछि कतिपय मानिसहरु अक्सिजनको व्यवस्थापन गरेर घरमै आइसोलेशनमा बसे'  उहाँले भन्नुभयो  'घरमै बस्दा अवस्था एकदमै जटिल भएपछि मात्रै अस्पताल जाँदा अवस्था झनै जोखिम बन्दै गएको हो भन्न सकिन्छ ।' यसरी उपचार बिना घरमै बसेका कारण पनि कोरोनाका जटिल समस्या भएका बिरामीहरु बढेका हुन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन पनि दोस्रो लहरमा देखिएको भाइरस निकै सङ्क्रामक अनि घातक भएको बताउनुहुन्छ । 

'नेपालमा अहिले देखिएको भाइरस निकै सङ्क्रामक अझ घातक छ । तर अनुसन्धान भएको छैन' उहाँले भन्नुभयो । अनुसन्धान बिना भन्न नसकिए पनि  अहिलेको  अवस्था हेर्दा यही सङ्केत गर्ने उहाँ बताउनुहुन्छ । ढिला गरी मात्रै अस्पताल पुगेका कारण पनि गम्भीर खालका बिरामीको सङ्ख्या बढेको उहाँको भनाइ छ । 

अवस्था जटिल हुन नदिन अपनाउनुपर्ने उपाय 

सङ्क्रामक रोग विषेशज्ञ डा. अनुप बास्तोलाको सुझाव छ : 

कोरोना सङ्क्रमण भइसकेपछि कुनै खालको लक्षण देखिएको छैन भने आत्तिन हुँदैन । अलिअलि लक्षण देखिएको छ भने पनि तनाव लिन हुँदैन भने अनावश्यक रुपमा औषधिको सेवन गर्न हुँदैन । केही दिनमा सामान्य खोकी र ज्वरो हराएर जाने भएकाले तनाव लिने र आत्तिने गर्नुहुँदैन ।

सामान्य रुघाखोकीका लागि सिटामोल र खोकीको औषधि लिन सकिन्छ । लामो समय अर्थात् पाँच, सात दिनसम्म पनि ज्वरो आइरहेमा वा  खोकी लागिरहेमा अस्पतालमा गएर डाक्टरको परामर्श लिनुपर्छ । अस्पताल गइसकेपछि स्वास्थ्यकर्मीले एक्सरे लगायत रगतको जाँच गरिसकेपछि थप उपचार कसरी अगाडि बढाउने भनेर केही अनुभव लिन सजिलो हुन्छ ।  

होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितले अनावश्यक रुपमा औषधिको सेवन गर्नुहुँदैन । तनाव लिनु हुँदैन । लक्षण अनुसारको उपचार गर्दै जाँदा लक्षण घट्दै गएमा आत्तिनु पर्दैन । अहिले निषेधाज्ञाको समय भएकाले  उपचारको लागि अस्पतालसम्म जानका लागि पनि समस्या छ । 

कोरोनाको जोखिम धेरै भएको अहिलेको समयमा बिरामी र उसका आफन्तलाई कुन अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली छ, कहाँ जाने, कसरी जाने भन्ने अन्योल भएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सार्वजनिक गरेको हटलाइन नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

सङ्क्रमितको सङ्ख्या तथ्याङ्कमा केही कम देखिए पनि आईसीयू र भेन्टिलेटरको माग घट्न नसकेको डाक्टरहरु बताउँछन् ।  स्वास्थ्यमा केही समस्या देखिनेबित्तिकै अस्पताल पुगे कोरोनाले निम्त्याउने जटिलताबाट बचाउन सकिने डा. बास्तोला बताउनुहुन्छ ।  

सकेसम्म घरमै डाक्टरको परामर्शमा बस्ने, खानपानमा ध्यान दिने, श्वास फेर्न गाह्रो भए या कुनै अप्ठ्यारो हुनेबित्तिकै अस्पताल जाने गरियो भने जटिलताबाट बचाउन सकिने डा. बास्तोला बताउनुहुन्छ । अहिले अस्पतालमा भर्ना हुने बिरामी निकै गम्भीर खालको मात्र भएका उहाँले बताउनुभयो । उहाँका अनुसार धेरैजसो बिरामी त होम आइसोलेशनमा बस्ने गरेको र गाह्रो भएपछि मात्र अस्पताल जाने गरेका छन् ।  

धेरैजसो सङ्क्रमितहरुले आफूखुशी भटाभट एन्टिबायोटिक खान थालेकाले पनि समस्या निम्तिएको उहाँ बताउनुहुन्छ । त्यसरी आफूखुशी औषधि नखान तथा सामाजिक सञ्जालमा भनिएका भरमा औषधि सेवन नगर्न डा. बास्तोलाको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया