हप्ताभरिको लागि खाद्यान्न भित्र्याउने भनेको कि कोरोना ?

 जेठ १३, २०७८ बिहिबार १०:२५:९ | जानुका दुवाडी
unn.prixa.net

‘पर्सिदेखि त खाद्यान्न पसल पनि बन्द हुन्छ अरे नि त ?’ छिमेकी भाउजु आत्तिँदै मेरो कोठा बाहिरबाट बोल्नुभयो । 

‘हो त बन्द हुने कुरा छ ।’

‘त्यसो भए त एक हप्ताको लागि सामान किनेर राख्नुपर्ने भयो होइन ?’ मलाई पनि हो जस्तै लाग्यो । 

‘हो नि अरु कुरा त जेनतेन काम चलाइएला तर नुन, तेल र अति आवश्यक खाद्यान्नको जोहो गरिएन भने त काठमाण्डौ जस्तो ठाउँमा त्यसमा झन् यस्तो महामारीको बेला खान नपाइ मरिएला भन्ने डर ।’

‘भोलि भीड धेरै होला आजै जाउँ न त ।’

 म पनि जान तयार भएँ । 

हामी दुईजना बाहिर निस्केका मात्र के थियाैँ, छिमेकी अर्को काकीले बोलाउनुभयो । ‘तिमीहरु पनि बजार जाने हो ? पर्ख है म पनि आउँदै छु ।’

म केही बोलिनँ । उहाँ नातिनी लिएर बाहिर निस्कनुभयो । अब भने मलाई जाउँ कि फर्कौँ भयो । 

भीड कम होला भनेर जान लागेको, घरबाट हुल बाँधेर जाने भयो । केही  दिन अगाडि ती काकीको श्रीमानलाई कोरोना पोजेटिभ आएको कुरा सम्झिएँ । मनमनै डर लाग्यो । 

‘कान्छी बुहारी पनि सामान किन्नुपर्यो भनेर भन्दै थिइन् कति समय लगाएकी होलिन ?’ 

अब भने मलाई पर्खिनु उपयुक्त हुँदैन भन्ने लाग्यो । म त हिँडे है भन्दै सरासर बाटो लागेँ ।   

कीर्तिपुरको मुख्य चोकमा निकै भीडभाड थियो । कोही सामान किन्दै, काेही सामान किन्ने पालो पर्खँदै । चोकमा उभिएका सुरक्षाकर्मीले मास्क लगाए, नलगाएको हेर्दै थिए । सकेसम्म भीडभाड नगर्न अनुरोध गर्दै थिए । कतिको अनुहार हेर्दा लाग्थ्यो कि उनीहरुले मास्क पनि सुरक्षाकर्मीको लागि लगाइदिएको हो । सुरक्षाकर्मीले विना काम भीड नगर्न अनुरोध गर्दा झगडा गर्न पनि पछि नहट्ने र सुरक्षाकर्मीसँग झगडा गर्नुलाई बहादूरी सम्झनेहरुको पनि कमी छैन । 

अरु दिनभन्दा आज धेरै नै भीड देखेकाले पसलमा जाउँ कि नजाउँ लाग्यो । यस्तो भीडभाडमा कसरी सुरक्षित हुने होला ? मनमनै सोचेँ, हामीले सधैँ सरकारलाई मात्रै दोष दिन्छौँ नागरिकको दायित्व बुझ्दैनौँ । हामीले पनि सावधानी अपनाउनुपर्छ भन्ने ख्याल गर्दैनौँ । एक मन सामान नकिनी फर्कौँ कि जस्तो लाग्यो । फेरि आइसकेपछि सुरक्षित तरिकाले सामान किनेर चाँडो जानुपर्यो भन्ने पनि लाग्यो । 

सधैं सामान किन्ने पसलमा टाढैबाट लामो लाइन देखेँ । नजिकैको तरकारी पसलमा पनि उस्तै लाइन थियो । खाद्यान्न पसल मात्र एक हप्ताका लागि बन्द हुने भनिएको थियो, तरकारी पसल होइन ।  तर धेरैले प्रशस्त तरकारी किनिरहेका थिए । धेरै चाहिने भएर होला नि यति धेरै तँछाडमछाड र भीडभाड गरेर तरकारी किनेका भन्ने लाग्यो । आफू पनि चाहिने तरकारी किनेर खाद्यान्नको पसलतिर लागेँ । 

खाद्यान्न पसलमा गएपछि  देखेको मानिसको भीडले त एकपटक सातै लियो ।  एक हप्ताका लागि सामान जोहो गर्न भनेकाले होला मानिसको भीड धेरै थियो ।  पसलमा डोरी बाँधिएकाले पसलभित्र मानिस नछिरे पनि  बाहिर लाइन थियो । ‘लाइनमा बस्नुस् है भीड नगर्नुस्’ बेलाबेला पसलका साहुजी कराउँदै थिए । तर लाइनमा उभिनेहरुले त्यसमा खासै ध्यान दिएका थिएनन् । 

मास्क सबैले लगाएको भए पनि कतिपयले लगाएको मिलेको थिएन । भीडभाड निक्कै थियो । 

त्यो भीड देखेपछि सरकारले केही गरेन भन्नेहरुप्रति दया लागेर आयो । सरकारले  गरेन वा गर्न सकेन त्यो आफ्नो ठाउँमा होला । तर भीडभाड गर्नुहुँदैन भन्नेसम्म  नबुझेको देख्दा हामीले आफ्नो कमजोरी महसुस नगरेको जस्तो लाग्यो । 

यो सबै देख्दा लाग्यो सुरक्षित हुन्छु भन्नेले पनि सुरक्षित रहने ठाउँ छैन । हामी सबै यति लापरवाह छौँ  । सङ्क्रमणका अनेकौँ सम्भावनाहरु छन् । बजार, घर छरछिमेक सबैतिरबाट सङ्क्रमणको उत्तिक्कै सम्भावना छ । कालीमाटी बस्ने एक जना साथीले केही दिनअघि टेलिफोनमा गरेको कुराकानीको याद आयो । मेरी साथी बस्ने घरको घरबेटीलाई कोरोना लागेको रहेछ । अक्सिजन नै दिनुपरेको रे । तर  केही दिनमा अलि सञ्चो भएर घरमा ल्याइएको छ । 

तर उनको श्रीमतीको परीक्षण गरिएको छैन । लक्षण नदेखिएकाले परीक्षण नगरिएको होला । ‘सावधानी त अपनाउनुपर्छ नि’ साथीले एकैपटक टेलिफोनमा गुनासो गरिन्, ‘आफूले मात्र सावधानी अपनाउँछु भनेर नहुने रैछ । के गर्नु।’ 

‘उसको सानो छोरो छ । खेल्दै कोठामा आउँछ नआइज भन्न पनि मिलेन । मेरो छोरासँग खेल्न आउँछ । मेरो छोरा पनि भर्खर हिँड्न थालेकाले उसको कोठामा जाने भनेर जिद्दी गर्छ । लैजानै पर्यो, अहिले ज्वरो आएको छ ।’ मलाई कोरोना भयो कि भनेर रातभर निद्रा लाग्दैन’ उनले भनिन् । 

के गरौँ होला भनेर सल्लाह मागिन् । मैले पनि केही डाक्टरको नम्बर दिएर सल्लाह लिन सुझाव दिएँ र परीक्षण गर्न भनेँ । उनले थपिन्, ‘मानिस अस्पतालको शय्यामा पुगेर आउँदासम्म पनि सचेत नभएको देख्दा चकित भएँ ।’ 

अक्सिजनको अभावमा अस्पतालहरुमा मानिस छटपटाएको देख्दा कसको मन रुँदैन र ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिनको तथ्याङ्क  सार्वजनिक गर्दा मन झसङ्ग भएर आउँछ । तर पनि मानिसले कोरोनालाई ​हेलचेक्र्याइँ गरिरहेका  छन् । 

सावधानी अपनाउँदा अपनाउँदै कोरोना लागेमा सरकारले नागरिकको उपचार गर्नुपर्छ । त्यो दायित्व सरकारको हो । उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन दिन सरकारलाई छुट छैन । तर हामीलाई चाहिँ हेलचेक्र्याइँ गर्न छुट छ र ?

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया