पाकिस्तान र भारतमा देखिएको सलह नेपाल आउने सम्भावना कति ?

 जेठ १४, २०७८ शुक्रबार १०:१४:४ | जानुका दुवाडी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँकाे भनाइ यस्तो छ : 

थोरै सङ्ख्यामा मात्र सलह देखिएकाले तत्काल नेपाल छिर्ने सम्भावना छैन । गएको वर्षजस्तो ठूलो सङ्ख्यामा नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । भारतकै उत्तरप्रदेशमा पनि देखिएको कुराहरु बाहिर आएका भए पनि  सलह किराबारे आधिकारिक जानकारी दिने निकायहरुले त्यो कुरा उल्लेख गरेका छैनन् ।   

सलह किरासम्बन्धी जानकारी दिने विभिन्न निकायहरुको रिपोर्ट प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले हेर्दै आएको छ । भारतको कृषि विभागले एक, एक हप्तामा  सलह किराबारे विस्तृत रुपमा  जानकारी दिँदै आएको छ। 

उनीहरुको रिपोर्टमा अहिले देखिएको ठाउँमा ठूलो झुण्ड छैन भनिएको छ ।  तर पनि किसानलाई सचेत रहन भने आग्रह गरिएको छ । त्यसैले नेपालमा तत्काल सलह किरा छिर्ने सम्भावना छैन । नेपाल छिर्न सक्ने कुनै पनि लक्षण देखियो भने त्यसबारेमा जानकारी गराइन्छ ।

भारतमा सलह देखिनेबित्तिक्कै नेपालमा पनि आइहाल्छ भन्ने होइन । मौसम, तापक्रम,  सलहको सङ्ख्या तथा हावाको वेगमा भर पर्छ ।  धेरैको सङ्ख्या भएर नियन्त्रण गर्न नसकेको अवस्थामा नेपाल छिर्ने सम्भावना रहन्छ । सबै पक्षको विश्लेषण गरेर मात्रै निचोडमा पुग्न सकिन्छ । तर त्यो भनेर नेपाल आउँदैन ढुक्क भएर बस्दा पनि हुन्छ भन्न खोजिएको होइन । सतर्कता अपनाइरहनुपर्छ ।  उडेर आउने किरा भएको र हावाको वेगको आधारमा उड्ने भएकाले  सावधानी अपनाइरहनुपर्छ भनिएको हो ।  अहिलेको अवस्था हेर्दा तत्काल आइहाल्छ भन्ने अवस्था पनि छैन भने आउँदै आउँदैन भन्न सकिने अवस्था छैन । 

भारतमा कति सङ्ख्यामा बढिरहेको छ भन्ने कुरा पनि सम्बन्धित निकायले जनाएपछि मात्र विश्लेषण गर्ने हो । नेपालमै बसेर हचुवाको भरमा भन्न पनि भएन । सम्बन्धित निकायले निकालेको सलहको अपडेट हेरेर नै थाहा पाउने हो। भारतको कृषि विभागले पनि त्यसको रिपोर्टहरु निकाल्छ । 

गएको वर्ष नै  सलह किराबारे प्रदेश र पालिकाहरुलाई जानकारी गराइएको छ । यससम्बन्धी तथ्य, तथ्याङ्क र पुस्तिकाहरु निकालिएको छ । सलह नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकाले के गर्ने भनेर योजनाहरु पनि बनाइसकिएको छ । अघिल्लो वर्षकै यी कुराहरुको आधारमा सम्बन्धित निकायले आफ्नो तयारी गरेर बस्नुपर्छ । 

झण्डै सय वर्षदेखि नै विश्वका विभिन्न ठाउँहरुमा सलह किरा देखिने गरेका छन् । गएको वर्ष नेपालमा पनि देखियो ।  कुनै वर्ष त्यसको सङ्ख्या  ह्वात्तै बढ्छ भने कुनै वर्ष त्यति  बढ्दैन । हावाको वेग, तापक्रमलगायतका  पक्षले साथ दियो भने धेरैको सङ्ख्यामा बढ्ने सम्भावना रहन्छ ।  

लामो समयको अन्तरालपछि गएको वर्ष नेपाल छिरेको भएर हामीलाई सलह सम्बन्धी धेरै विषयमा जानकारी  प्राप्त भयो । अहिलेका पुस्ताले सलह किराको बारेमा प्रत्यक्ष भोग्ने मौका पाए । त्यसैले  भारत, पाकिस्तानलगायतका देशमा देखिएकाले नेपाल छिरिहाल्छ कि भन्ने जिज्ञासा र चासो भएको हो ।  

गएको  वर्ष  असार १३  गते सलह किरा नेपाल छिरेको थियो ।  देशका विभिन्न ५२ वटा जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा धेरै नोक्सानी  पुर्याएको थियो । सलह चिसो ठाउँमा बाँच्न सक्दैन । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा गएको वर्ष धेरै मरेको थियो ।

सलह हावासँगै प्रतिदिन १ सय ५० किलाेमिटर टाढासम्म उड्न सक्छ । बिहान घाम लागेपछि सक्रिय हुन्छ । त्यसले आहारा खान थाल्छ ।  एउटा किराले आफ्नो औसत शरीरको तौल बराबरको झण्डै  दुई ग्राम खान्छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया