भेरी अस्पतालमा डाक्टर र नर्स कुट्नेमाथि ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता

 जेठ १४, २०७८ शुक्रबार १६:५३:३७ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके – भेरी अस्पताल नेपालगञ्जमा डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार दाङकाे तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतमाथि मुद्दा दर्ता गरिएको हो ।

भेरी अस्पतालमा दाङ तुलसीपुरका एक जना बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापर्बाही भएको दाबी गर्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु, नर्सिङ कर्मचारी सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई लखेटेर हातपात गरेको, कुटपिट गरेको अस्पतालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकमा घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिँदै सुरक्षा व्यवस्थापन गर्ने र डाक्टर  र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काममा खटिन आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन पेस गर्ने भएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया