ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण बढ्नु जोखिमपूर्ण हुन्छ

 जेठ १६, २०७८ आइतबार ११:३:२० | डा. समिर अधिकारी
unn.prixa.net

तुलनात्मक रुपमा केही दिनयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घटिरहेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या केही घट्यो भन्दैमा कोरोनाको जोखिम कम हुँदै गयो भन्ने सक्ने अवस्थामा हामी छैनौँ । 

लक्षणहरु सुधारोन्मुख छन् । सङ्क्रमणदर कम हुँदै जानुमा निषेधाज्ञाले केही भूमिका त पक्कै खेलेको छ । तर निषेधाज्ञा लागू भए पनि प्रभावकारी रुपमा निषेधाज्ञाको पालना नभएको अध्ययनहरुले देखाएका छन् । ग्रामीण क्षेत्रहरुमा सङ्क्रमणदर बढ्दै  गएको देखिन्छ । 

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्दै जाने र सहरी क्षेत्रमा निषेधाज्ञाको पूर्णरुपमा पालना नगरेका कारण अपेक्षा गरेअनुसार सङ्क्रमणको दर नघटेको हो । अब बिस्तारै घट्दै जाने सङ्केतहरु देखिए पनि घट्न थालेकै हो भन्ने निष्कर्षमा पुगिएको छैन । 

अहिले सङ्क्रमण सबैतिर छ । जनस्वास्थ्यको मापदण्डको  पालना त्यति नहुने भएकाले  ग्रामीण क्षेत्रमा सङ्क्रमण बढ्नु अलि जोखिमपूर्ण हुन्छ । पढाइ र रोजगारीका लागि युवा र बालबालिका सहरी क्षेत्रमा भएकाले ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक धेरै छन् । स्वास्थ्य सेवाहरु पर्याप्त मात्रामा छैनन् । त्यही कारणले गर्दा ग्रामीण क्षेत्रमा धेरै जोखिम छ ।

यस्तो अवस्थामा सङ्क्रमणको रोकथाम अर्थात् महामारीको रोकथामबाहेक अर्को विकल्प प्रभावकारी हुनै सक्दैन । विश्वका सम्पन्न राष्ट्रहरुले समेत उपचार खोज्छु भनेर नसकेको बेला हाम्रो जस्तो राष्ट्रले सक्ने अवस्था हुँदैन । जनस्वास्थ्य मापदण्डको  पालना र व्यवहार परिवर्तनका  आधारमा हामीले सङ्क्रमण रोक्नुपर्छ । 

सघन रुपमा उपचार, खोप लगायतका विषय फरक पाटो होलान् । तर रोकथामको प्रभावकारी उपाय भनेको जनस्वास्थ्य मापदण्डको पालना र दूरी कायम गर्नु नै हो । कोरोना नियन्त्रणको लागि  कुनै निकाय, कुनै संस्थाभन्दा पनि व्यक्ति आफूले सबैभन्दा बढी भूमिका निर्वाह गर्न सक्छ । व्यक्तिले गरेको भूमिकाले नै कोरोना भाइरस नियन्त्रण गर्न सम्भव छ । सङ्क्रमण नल्याउन र सङ्क्रमण नफैलाउन व्यक्तिको महत्त्वपूर्ण भूमिका रहन्छ  । 

व्यक्तिको भूमिकाले नै आफू, परिवार, सहकर्मी र छरछिमेकीलाई सङ्क्रमण हुनबाट जोगाउन सक्छ । यसले गर्दा सङ्क्रमण नियन्त्रणमा सघाउ पुर्याउँछ ।  

यही कुराहरुलाई सहजीकरण गर्ने, व्यवस्थापन गर्ने र बुझाउने कामहरुमा पालिकाहरुको भूमिका रहन्छ । नागरिकसँग नजिक रहेको सरकारको हैसियतले पालिकाको भूमिका बढी महत्त्वपूर्ण हुन्छ । पालिकाका जनप्रतिनिधि र कर्मचारीले  बुझाएको भाषा स्थानीय रुपमा सजिलोसँग बुझ्न सहयोग पुग्छ । त्यो व्यवहार परिवर्तन गराउन पालिकामा रहेका जनप्रतिनिधिहरु सक्षम पनि हुनुहुन्छ । भाषा, संस्कृति र प्रभावका हिसाबले पनि उहाँहरुको भूमिका महत्त्वपूर्ण हुन्छ ।  

बाध्यकारी नियम बनाउने वा नबनाउने भन्ने आधिकारिक निकायहरुको आफ्नो क्षेत्राधिकार भित्रको कुरा हो । कडाइ गर्नुपर्ने अवस्थामा गर्नुपर्छ । कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरुबारे हामीले धेरै बुझिसकेका छौँ । हामी संवेदनशील भयौँ भने बाध्यकारी नियमहरु लागू गर्नुपर्ने अवस्था नहुन पनि सक्छ । 

सबै मानिसलाई अनुरोध र आग्रह गर्नु राम्रो कुरा हो । जनस्वास्थ्यको मापदण्ड पालना गर्दा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्नका लागि सहयोग पुग्छ भन्ने कुरा बुझाउनु बाध्यकारी नियम लागू गर्नुभन्दा बढी प्रभावकारी हुन्छ । 

म गर्छु भनेर जबसम्म मानिसहरु तयार हुन सक्दैनन्, तबसम्म बाध्यकारी नियम बनाएर पनि प्रभावकारी हुन सक्दैन । बाध्यात्मक बनाएर मात्रै सबै समस्याको समाधान हुँदैन । त्यसले केही समय परिणाम दिएजस्तो देखिए पनि मानिसहरुलाई दीगो रुपमा व्यवहार परिवर्तन गर्ने गरी र आत्मग्रहण गर्ने गरी बुझाउन सक्नुपर्छ ।  

(स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख १०, २०८१

डा. समिर अधिकारी

डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया