‘मतदाता प्रभावित पार्न बजेट ल्याइएकाे हाेइन’

 जेठ १६, २०७८ आइतबार १७:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएकाे बताएकाे छ । आउँदाे आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटकाे सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभयाे । अर्थ मन्त्री विष्णु पाैडेलले सरकारले काेराेना महामारी नबिर्सिएकाे र मुख्य चुनौतीको रूपमा स्वीकार गरेर त्यहीअनुसार राजस्वका नीति र कार्यक्रमका साथमा आउँदाे वर्षकाे बजेट आएको बताउनुभएकाे हाे ।

सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली नागरिकलाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढङ्गले सरकारले काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजस्वकाे लक्ष्यहरू निर्धारण गरिएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले मतदाता प्रभावित पार्न नभइ अभिभारा पूरा गर्न बजेट ल्याएको बताउनुभयो ।

संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै अर्थ मन्त्री पाैडेलले चुनावपछि पनि नागरिककाे विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताउनुभयो । उहाँले बजेटले वर्तमान चुनौतीहरूलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरू पनि हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उहाँले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको बताउनुभएको छ ।

मन्त्री पाैडेलले भन्नुभयो, संवैधानिक प्रबन्ध भयो भएन भनेर द्विविधा राख्नुपर्ने अवस्था छैन । यो संवैधानिक प्रबन्धअनुसार नै आएको छ । देशकाे आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्याे । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।

उहाँले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोस्राे देश भए जसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्दर्भमा पनि तुलनात्मक रूपमा नेपाल अग्रपङ्क्तिमा उभिने विश्वास दिलाउनुभयो । बजेटमा नागरिकको जीवन रक्षाका लागि सम्पूर्ण स्रोत, साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री पाैडेलले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोप सेवा उपलब्ध गराउने काममा केन्द्रित भएर लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो ।    

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया