एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
विद्यार्थीलाई चिठी ।
मिति-२०७८/०२/१९ गते
प्रिय विद्यार्थी भाइबहिनीहरू,
लामो समयको मिठो सम्झना...
अध्ययनको सिलसिलामा आफ्नो महान् लक्ष्य र अभिलाषा बोकी उज्ज्वलमय भविष्य निर्माणका निम्ति अहोरात्र सङ्घर्ष गर्दै यहाँसम्म आउन सफल जनकको जस्तो ज्ञान, सीताको जस्तो शील र बुद्धको जस्तो हृदय भएका ज्ञानै ज्ञानका कुबेर यी दुई आँखाका नानी जस्तै हरपल हाम्रो आँखा अगाडि नाचिरहने मायाका पात्र, राष्ट्रका कर्णधार, विकासका पूर्वाधार, जागरणका आधार, सिर्जना र स्राेतका संवाहक प्रिय विधार्थी भाइबहिनीहरू ।
म यहाँ मान्यजनहरूको आशीर्वाद, ईश्वरको कृपा र प्रिय भाइबहिनीहरूको अपार मायाको कारण विभिन्न अभावमा पनि आत्मसन्तुष्टिका साथ पारिवारिक, शारीरिक, मानसिक र संवेगात्मक रूपमा कुशल छु एवम् प्रकारको कुशलताको कामना गर्दै सुन्दर भविष्यको कामना गरी आफ्नो जन्मभूमि र कर्मभूमिलाई विश्वसामु चिनाउन महान् कार्य गर्ने प्रेरणा र उत्साह मिलिरहोस् भन्ने कामना गर्दै तपाईँहरूको धेरै सम्झना आएर यो पत्र लेख्दैछु।
प्रिय विधार्थी भाइबहिनीहरू, अहिले तपाईँहरूको सुनौलो भविष्यको रेखा कोर्ने अत्यन्तै महत्त्वपूर्ण समय आउँदै गर्दा विश्वव्यापी रूपमा फैलिएको नोभल कोरोना भाइरस (COVID-19) को कारणले "सुत्केरी त होइन सुतिरहने बनायो, अपराधी पनि होइन लुकिरहने बनायो, खै ! के आयो-आयो सबैतिर घुम्दै, छिमेकी, आफन्त र आफैसँग डराइरहने बनायो ।" हामी सबै डर, त्रासले भयभित भएका छौँ । यस अवस्थामा विद्यालयहरूमा अध्ययन/अध्यापन गर्ने औपचारिक कार्य रोकिएका छन् । भौगोलिक विकटताले गर्दा आधुनिक प्रविधि तथा इन्टरनेटको सबै ठाउँमा पहुँच नपुगिसकेको हुँदा प्रिय विधार्थी भाइबहिनीहरूलाई औपचारिक रूपमा ज्ञान दिन नसकिरहेको यस अवस्थामा हामी आफैँ सजग र सचेत बनी आफ्नो दैनिक क्रियाकलापहरूलाई सकारात्मक सोच लिँदै शारीरिक मानसिक तथा संवेगात्मक रूपमा स्वस्थ्य भइ आफूसँग उपलब्ध भएका वैकल्पिक प्रविधिको प्रयोग गरी स्व-अध्ययन कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ ।
प्रिय विधार्थी भाइबहिनीहरू, हामीलाई थाहा छ रुखको हाँगामा बसेको चराले हाँगामा होइन आफ्नो पखेटामा विश्वास गर्छ । त्यसैले हामी पनि स्व-अध्ययन कार्यलाई बुद्धि, विवेक र सामर्थ्य प्रयोग गरी दृढ विश्वासका साथ सधैँ नर्भिक, साहसी र उत्साहित बन्दै स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालन गरी घरमै बसेर सबै क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ ।
सुन्दर राष्ट्रको उज्ज्वल सम्भावना बोकेका सम्पूर्ण प्रिय विधार्थी भाइबहिनीहरू तपाईँहरूले कठोर परिश्रम, नित्य साधना, लगनशीलता, कर्तव्य परायणता र जिज्ञासु स्वभावलाई अँगाल्दै आलस्य, अहङ्कार, आडम्बर र उच्छृङ्खलतालाई त्याग्दै हिमाल जस्तो चिसो दिमागले, धर्ती जस्तो चाक्लो छातीले र आकाश जस्तो खुला मनले अदम्य साहस बोकेर छातीभरि उत्साहका सगुनहरू बोक्दै नोभल कोरोना भाइरसविरुद्ध विजय प्राप्त गरी आफ्नो सुनौलो भविष्य निर्माण गर्ने अभिलाषाका साथ अगाडि बढ्नु नै अहिलेको समयको माग रहेको छ ।
प्रिय विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई थाहा छ अनुशासन र कर्तव्य असल विद्यार्थीका सुन्दर गुणहरू हुन् भने सादा जीवन र उच्च विचार उच्च आदर्श हुन् । कर्तव्य जीवनको गन्तव्य हो भने अनुशासन त्यहाँ पुग्ने राजमार्ग हो ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, शिक्षा र विद्यार्थी एक अर्काका परिपूरक हुन् । विद्यार्थीविना शिक्षा र शिक्षाविनाको विद्यार्थीको कुनै अर्थ हुँदैन । शिक्षाले मानिस महान् र अमर हुन्छ । शिक्षा ज्ञानको ज्योति हो । शिक्षाले नै मानिसलाई कर्तव्य पथमा हिँडाउँछ । शिक्षाविना मानिस अपाङ्ग र अन्धो हुन्छ । शिक्षा जीवनका लागि हो । शिक्षाले व्यक्तिको चरित्र निर्माण गर्दछ । यसले व्यक्तिमा अन्तर्निहित शक्तिलाई प्रस्फुटन गर्दछ । त्यतिमात्र होइन समाजमा आफ्नो अस्तित्व बनाउन सिकाउँछ । यसले देशभक्ति नागरिक तयार पार्दछ साथै शिक्षाले अहिंसा, शान्ति र मानवताका पुजारी गान्धी, बुद्ध र सन्दुक रुइत जस्ता विश्व प्रसिद्ध महामानवहरू जन्माउँछ ।
प्रिय विधार्थी भाइबहिनीहरू, शिक्षा विध्वंसक होइन रचनात्मक हुनुपर्छ । यसका लागि विद्यालय चौघेराभित्र रहेर भन्दा स्वतन्त्रपूर्वक स्व-अध्ययन कार्यलाई निरन्तरता दिने हो भने अझ प्रभावकारी देखिन्छ । भनिन्छ, अध्ययन मनोरञ्जनको उत्कृष्ट माध्यम पनि हो । नेता नेल्सन मन्डेलाले पनि आफ्नो कारावासको २७ वर्ष पुस्तक पढेर बिताएका थिए । पुस्तक पढेर मानिसले जस्तो सुकै कष्ट पनि सहन सक्छ । भिक्टर ह्युगोले भनेका छन्, "समझदार मानिस दु:खको समयमा पुस्तक अध्ययनबाट नै सान्त्वना पाउँछन् ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, जसरी लुगा मैलिएपछि धुन र शरीर मैलिएपछि नुहाउन जति आवश्यक हुन्छ त्यति नै आफ्नो मनोविकार हटाउन पुस्तक पढ्नु पर्छ । विद्यार्थी भाइबहिनीहरू संस्कृतमा एउटा भनाइ पनि छ, "विद्या धनम् सर्व धनम् प्रधानम् ।" (विद्या नै सबैभन्दा ठूलो धन हो ।) "विद्या ददाति विनयम् विनयाद्याति पात्रताम् । पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मस्तत: सुखम् ।।" (विद्याले नै शिष्टाचार सिकाउँछ, शिष्टाचारले सत्पात्रता प्राप्त हुन्छ, योग्यताकै कारण धन प्राप्त हुन्छ, धनबाट धर्मार्जन हुन्छ र धर्म गरेपछि यस लोक र परलोक दुवैमा सुख पाइन्छ ।)
अन्त्यमा प्रिय विधार्थी भाइबहिनीहरू, मलाई विश्वास छ तपाईँहरू देशभक्त, अहिंसा र मानवताका पुजारी गान्धी, बुद्ध र सन्दुक रुइत आदि जस्ता महामानव बन्नु हुनेछ र यो प्रेरणा तपाईँहरूलाई मिलिरहोस् भन्ने कामना गर्दै आजलाई यो पत्रबाट बिदा हुन चाहन्छु ।
उही तपाईँहरूलाई सधैँ माया
गरिरहने गुरु : तीर्थराज पोख्रेल
श्री प्रभात मावि, झिम्रुक-३,
आहालखोला प्युठान।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाेखरेल श्री प्रभात मावि प्युठानका शिक्षक हुनुहुन्छ ।