नवलपरासी : सीजी उद्योगमा लागेको आगो पाँच घण्टामा नियन्त्रणमा आयाे

 जेठ १९, २०७८ बुधबार १४:५०:४७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी : बर्दघाट– सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेकाे चौधरी उद्योग परिसरमा लागेकाे आगो नियन्त्रणमा आएको छ । बुधवार बिहान साढे आठ बजेकाे समयमा उद्योग परिसरभित्रको सीजी ब्रुअरीमा लागेको आगो झन्डै पाँच घण्टामा पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात वटा दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप कुमार गिरीले बताउनुभयो ।

सीजी ब्रुअरीकाे गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको डीएसपी गिरीले जानकारी दिनुभयो ।  

आगलागीबा​ट तयारी अवस्थामा रहेको बियर, अन्य पेय पदार्थ, उत्पादनका लागि राखिएका कच्चा पदार्थ लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएकाे छ । विद्युत् शर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 

आगलागीबाट के–कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेकाे प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।    

अन्तिम अपडेट: चैत ६, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया