कति बेला श्रद्धाञ्जली लेखिएको आफ्नै मानिसको फोटो फेसबुकमा आउँछ पत्तो हुँदैन

 जेठ २०, २०७८ बिहिबार १२:२१:६ | नारायण कोइराला

आजकाल समाचार पढ्दा मन दरिलो बनाउन पर्ने अवस्था छ । कुन बेला कस्तो अपत्यारिलो समाचार आउने हो, पत्तो हुँदैन । 

कोरोनाको कारण कति बेला आफ्नाहरूको फोटोमा श्रद्धाञ्जली देख्न पर्ने हो कि भनेर मन डराउँछ । किनकि अहिले मृत्युको लहर चलेको छ । 

अलिकति जाने माने हस्तीको मृत्यु भएको खबरले पुरै सञ्चार माध्यम छाएको छ । ठुला मानिसको मृत्युको मिडियामा ठाउँ पाउनु ठिक पनि हो । देशको लागि आफ्नो जीवनको खुसी छोडी अरूको सेवामा लाग्नेहरू हाम्रो लागि महान् हुन् ।

यस्तै समाचार फेसबुकमा घुम्दै गर्दा मन खिन्न भइन्छ । आफू परदेश भए पनि देश र गाउँ ठाउँमा भएका यी घटनाले मन पोल्छ । नजिक हुनेलाई भन्दा टाढा हुनेलाई नै मायाले बढी पोल्छ भनेको यही होला सायद ।

केही दिन अघि फेसबुक म्यासेन्जरमा म्यासेज एउटा आयो । 

म्यासेज देख्नासाथ रिप्लाई गरिहालेँ ।  ‘के भनेको, होइन होला’ मेरो रिप्लाई यस्तो थियो ।

कुरो पक्का नै हो भन्छन्, उपचार आफ्नो सहरबाट बाहिर हुँदा हामी पहिला नै हल्ला गर्नु पनि भएन, घर ल्याएपछि जानकारी गराउँछु, म्यासेज फेरि आयो ।

मनले मानेन कुरो के रहेछ भन्ने खुल्दुली भयो । अनि अर्को साथीलाई म्यासेज गरेँ ।

साथीले पनि त्यही कुरा नै भन्यो । 

एक छिन् त सपना जस्तो पनि लाग्यो ।

मनमा उहाँसँगको सम्झनाहरू उर्लिन थाले । त्यति बेला हाम्रो विद्यालयमा कक्षाहरू तपिँदै थियो । 

नयाँ कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई आउने बाधा अर्चन हाम्रो सामुन्ने थिए । हामी पढ्ने विद्यार्थी थियौँ । उहाँ हामीलाई पढाउने गुरु हुनुहुन्थ्यो । गुरु त सबै सम्मानित नै हुनुहुन्छ । हामी सबैलाई सम्मान गर्छौँ । जसले हाम्रो मार्गदर्शन गर्नुहुन्छ । विशेष गरी अध्ययन,अध्यापनदेखि विद्यालयमा हुने अन्य क्रियाकलापमा पनि विशेष ध्यान दिने हुँदा उहाँलाई हामी खूब मन पराउँथ्यौँ । 

 एकातिर विद्यालयलाई माध्यमिक बनाउने हाम्रो सङ्घर्ष जारी अर्कोतिर पढाइमा पनि राम्रो गर्नु थियो । 

सभा, बैठक नियमित जस्तो हुन्थ्यो । यस्तो विकट परिस्थितिमा हामी थियौँ । कैयन साथीभाइ हामी र हाम्रो विद्यालयलाई छोडी पढ्न अन्त गइसकेका थिए । 

हामी विद्यालय प्रेमीहरू त थियौँ नै तर कतिका त आफ्ना बाध्यता पनि थिए । विद्यालयलाई साथ दिएका थियौ । हाम्रो गुरु सँगसँगै, बालुवा काठ पात कति बोक्यौँ । समकालीन अभिभावक र साथी भाइलाई थाहा छ । उहाँको हामी प्रतिको भरोसा अनि हाम्रो उहाँ प्रतिको आस्था दुवै मिली विद्यालयमा सहकार्य र पठनपाठन चलेको थियो ।

समयसँगै हामी लड्दै, उठ्दै, विद्यालय पनि माध्यमिक भयो । हामी नै एसएलसीको लागि पढ्ने पहिलो विद्यार्थी बन्ने अवसर पनि पायौँ । एसएलसी सकिएपछि पनि मलाई केही समय विद्यालयसँग जोडिने मौका मिलेको थियो । समय परिस्थिति अनुसार त्यो निरन्तर हुन नसके पनि आफू पढेको विद्यालय र गुरुको सम्बद्ध भने रहिरहेको छ । निरन्तर रहने पनि छ । यी कुराहरू मनमा खेल्दै थिए । 

घडीको सुई घुमिरहेको छ । रात पनि आधा हुन लागिसक्यो । बिहानै काममा जानु छ । तर  सम्झनाका यी लहरलाई थाती राख्दै निदाउन कोसिस गरेँ । तर मेरा आँखा निदाउन मानेनन् । लाग्यो सम्झना पनि जीवन रहेछ । सायद सम्झना थिएन भने मलाई दुखाउने पनि थिएन । 

सोच्दा सोच्दै निदाएछु । साथीले बिहान काममा जाने होइन र भन्दै बोलाउँदा पो झसङ्ग भएँ । 

छिटो छिटो उठेर नित्य कर्म गरी कामतिर लागेँ । खाडीमा प्रचण्ड गर्मी छ । काम गर्न यसै त कठिन हुने । झन् निद्रा नपुग्दा गाह्रो हुने रहेछ । जसोतसो दिन काटेँ ।  

 डिउटी सकिएपछि सधैँ जसो थकित शरीर लिएर कोठामा पुगेँ । मन भारी भइरहेको छ । 

फेसबुकमा हिजोको खबर पुष्टि भई सकेको थियो । जताततै मेरो गुरुको तस्बिर घुमिरहेको छ । 

मैले मेरो जीवनमा एक गुरु गुमाए भनेर मनले पत्याउन मानिरहेको छैन । नारायण भन्नुहुन्छ कि जस्तो मात्र लागिरह्यो । तर मेरो झझल्को अब यो जुनीमा सही साबित हुनेवाला थिएन । किनकि सत्य यही थियो उहाँको फोटोमाथि धेरैले श्रद्धाञ्जली लेखिसकेका छन् । 

तर म कसरी लेखूँ । सत्यलाई नकार्न सकिँदैन । सत्य मेरै अघिल्तिर थियो ।

आफैंलाई पढाउने गुरुको अपत्यारिलो मृत्युले मलाई तर्सायो । झलझली आँखामा उहाँको सम्झना आइरह्यो । उहाँसँग भएको अन्तिम संवाद सम्झिए । 

उहाँले भन्नुभएको थियो, ‘नारायण यसपालि तिमी घर आउँदा धेरै कुराहरू गर्नु छ ।’ फोनमै भए पनि तपाईँको मनको कुरा मलाई भनेको भए हुन्थ्यो नि गुरु । तर के गर्नु उहाँ मनको कुरा मनैमा लिएर जानुभयो । सायद यो नै म परदेशी हुनुको पीडा भयो ।  

कोरोनाले धनी गरिब, ठुला साना, आफ्नो पराइ कसैलाई बाँकी राखेको छैन । ती सबै मृत आत्मालाई सम्झँदै म मेरो रामजी गुरुलाई पनि भन्न चाहन्छु तपाईँको चेलाले तपाईँ र तपाईँले दिएको ज्ञानलाई कहिले बिर्सने छैन । अलविदा गुरु ।

अन्तिम अपडेट: कात्तिक ९, २०७८

नारायण कोइराला

पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया