निषेधाज्ञाको फाइदा उठाउँदै चरा !

 जेठ २०, २०७८ बिहिबार १६:२२:५३ | दीपा तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – उज्यालो रेडियो नेटवर्कको कार्यक्रम उज्यालो फल्चामा चराविद् डाक्टर हेमसागर बरालसँगको कुराकानी सुन्दै गर्दा विराटनगरकी दीपा काफ्लेले म्यासेज गर्नुभयो– ‘उहाँको कुरा सुन्दै गर्दा यो अडियो याद आयो । मेरो कोठाबाट कोइलीको आवाज रेकर्ड गरेको, काठमाण्डौ आउनु अघिल्लो दिनको ।’ 

दीपा काफ्लेले कोइलीको आवाजलाई रेकर्ड गर्नुभएको थियो । अहिले उहाँ जस्तै धेरैले कोइलीको सुरिलो स्वर सुन्छन् । एकैछिन सुस्ताउन झ्यालमा नजिकै बस्दा होस् या करेसाबारीतिर टहल्दा नै किन नहोस्, कोइली जस्ता चराको सुरिलो स्वरसँगै रङ्गीबिरङ्गी चरा यताउता उडेको, नाचेको र जोडी बनेर बसेको बाक्लै देखिन्छ । 

गाउँ–घरमा मात्रै होइन यति बेला सहर–बजारमा पनि चराको सुमधुर स्वर प्रष्टै सुनिन थालेको छ । 

अहिले विश्वका विभिन्न ठाउँबाट कुक्कु कोइली, जुरे कोइली, स्वर्ग चरी, मुरली चरी, सुनचरी जस्ता धेरै प्रजातिका चरा नेपाल भित्रिएका छन् । 

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले मानिसको चहलपहल र ध्वनि प्रदूषण कम हुँदा यी चरा अहिले खुलेर रमाइरहेका चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो । उहाँका अनुसार हो–हल्ला र कोलाहल कम भएसँगै चराको चिरबिरले वातावरण गुञ्जायमान हुन थालेको छ ।

निषेधाज्ञामा मानिसलाई कठिन, चरालाई फाइदै फाइदा

कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै जनजीवन कठिन बन्न थालेको छ । सङ्क्रमण हुने जोखिम, सङ्क्रमित भएपछि उपचार नपाउने समस्या, अक्सिजनको अभाव, अस्पतालमा शय्याको अभाव, आफन्त गुमाउँदा पनि सँगै बस्न नपाउनु लगायत यावत् समस्या बढ्दै गएको छ । निषेधाज्ञामा पशु चौपायालाई पनि खुवाउन समस्या परेको छ । तर चरालाई भने फाइदै फाइदा छ ।  

चराविद् डाक्टर हेमसागर बराल भन्नुहुन्छ, ‘निषेधाज्ञामा मानिस र पशु चौपायालाई कठिन भए पनि चराका लागि भने निकै उपयुक्त बनेको छ, मानिसको चहलपहल रोकिँदा चराले ढुक्कसँग बच्चा कोरल्न पाएका छन् ।’ 

६० देखि ६२ प्रकारका ग्रीष्मकालीन चरा नेपाल भित्रिए

नेपालमा अहिले ६०–६२ प्रकारका ग्रीष्मकालीन आगन्तुक चरा भित्रिएका छन् । ढिलो गरी आउने प्रजातिका चरासमेत नेपाल भित्रिसकेको चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । जुरे कोइली सबैभन्दा ढिलो गरी नेपाल भित्रिने प्रजातिको चरामा पर्छ । अहिले यो चरा पनि नेपाल आइसकेको छ । 

जुरे कोइली भित्रिएपछि बर्खा सुरु हुन्छ भन्ने मान्यता पनि छ । जुरे कोइली मनसुनको हावाको गतिसँगै नेपाल भित्रिने भएकाले यो चरा भित्रिएको केही समयपछि बर्खा सुरु हुने विश्वास गरिन्छ ।

अहिलेको समयमा जुरे कोइलीसँगै भारत, श्रीलङ्का, अफ्रिकालगायत दक्षिण–पूर्वी एसियाबाट बच्चा कोरल्न चराहरू नेपाल आउने गर्दछन् । यसरी आउनेमा धेरैजसो कोइली प्रजाति हुन्छन् भने अन्य मुरली चरी, सुन चरी लगायत हुन्छन् । 

किन आउँछन् चरा ?

अहिलेको समय चराको बच्चा कोरल्ने समय हो । सन्तुलित आहारा र उपयुक्त वातावरणमा बच्चा कोरल्न यति बेला चरा नेपाल भित्रिन्छन् । यी चराहरू ६ महिनासम्म विभिन्न डाँडाकाँडा र रुखमा बस्छन् । गुँड बनाउने, बच्चा कोरल्ने र हुर्काउने उनीहरूको दिनचर्या हो । 

बच्चा कोरल्नका लागि नेपालको हावापानी उपयुक्त मानिन्छ । दिन लामो हुने भएकाले प्रशस्त आहारा खोजीका लागि चरालाई सजिलो हुने र पानी परेपछि किरा, फट्याङ्ग्रा पनि धेरै पाइने भएकाले यो बेला नेपाल चराका लागि उपयुक्त मानिन्छ । 

धमाधम बच्चा कोरल्दै चरा

नेपाल भित्रिएका यी चरा अहिले धमाधम बच्चा कोरल्दै छन् । केहीले बच्चा कोरलिसकेका छन् भने केहीले कोरल्दै छन् । अहिले कोरोनाको महामारीका कारण भएको निषेधाज्ञाले मानिसको आवतजावतसँगै अन्य गतिविधि कम हुँदा यी चरालाई बच्चा कोरल्न वातावरण अनुकूल बनेको छ । वातावरण राम्रो भएको र वन जङ्गलमा हुने मानवीय क्षति पनि रोकिएकाले चरालाई बच्चा कोरल्न सहज भएको चराविद् डाक्टर बरालले बताउनुभयो ।   

भँगेरा, जुरेली, गौँथली लगायतका साना चराले सन्तुलित आहार र उपयुक्त वातावरण पाए यो अवधिमा दुई पटकसम्म बच्चा कोरल्ने चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । यी चराले एक महिनामा पहिलो पटक कोरलेको बच्चालाई हुर्काएर फेरि दोस्रो पटकसम्म बच्चा कोरल्ने गर्दछन् । 

निषेधाज्ञा भएकाले चोरी सिकार कम भएको छ भने चरालाई गुँड बनाउन र आहार खोज्न पनि सजिलो भएको विज्ञले बताएका छन् । बच्चा कोरल्ने समयमा चरा अलि आक्रामक हुने पनि चराविद् डाक्टर बरालले बताउनुभयो । यही कारण नेपाल आएका केही चरा र यहाँ रहेका रैथाने चराबीच प्रतिस्पर्धा बढ्ने र आपसमा झगडा हुनेसम्म हुन्छ । 

तर बच्चा कोरल्ने समयमा धेरैजसो चराले आफ्नो सहने क्षमताको विकास गर्छन् । बच्चालाई असर गर्ने भएकाले चराले सकेसम्म सहेर झगडा नगर्ने बानीको विकास गर्ने विज्ञले बताएका छन् ।

अहिले धमाधम बच्चा कोरल्दै गरेका यी चरा आफ्नो बच्चा हुर्काएर असोज महिनासम्ममा पुरानै बासस्थानमा फर्कन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान वन र यस आसपासका घाँसे मैदान र कृषि भूमि हुन् । 

गौँथली प्रजातिका चरा कतै आराम नगरि सिधै आउँछन् । यस्ता प्रजातिका चरा निकै लामो दुरी पार गरेर आउँछन् । उनीहरू पाँच–छ हजार किलोमिटर पार गरेर नेपाल आउने गर्छन् । गौँथली प्रजातिका चरासँग वर्षाैँसम्म पनि थकान नमारिकन उड्न सक्ने भएकाले बसाइँसराइ गर्दा यिनले थकान नमार्ने चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो । यी चरा सानो समूहमा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्छन् । विशेषगरी यी चरा जोडी–जोडी भएर उड्ने गर्दछन् । अस्ट्रेलियाबाट आउने यी गौँथलीले नेपालमा बच्चा कोरल्छन् वा कोरल्दैनन् भन्ने यकिन भने छैन ।

हरेक वर्ष समस्यामा चरा

बढ्दो वन विनाश र चोरी सिकारका कारण हरेक वर्ष चरा सङ्कटमा पर्ने गरेका छन् । अन्य देशबाट हरेक वर्ष बसाइँ सरेर चरा नेपाल आए पनि बासस्थान विनाश हुँदा उनीहरू सङ्कटमा पर्न थालेका चराविद्ले बताउँदै आएका छन् । 

नेपालमा हिउँद र ग्रीष्मकालीन समयमा चरा आउँछन् । हिउँदे आगन्तुक चरा आएर फर्किने बेला ग्रीष्मकालीन आगन्तुक चरा नेपाल भित्रिने गरेका छन् । तर बासस्थान विनाश र चाेरी सिकार जस्ता कारण नेपाल आउने चराको सङ्ख्या घट्न थालेको छ । ‘यसले चरा संरक्षणमा चुनौती बढ्दै छ’, चराविद् डाक्टर हेमसागर बराल भन्नुहुन्छ, ‘चरालाई मान्छे नभए पनि फरक पर्दैन तर मान्छेलाई चरा भएन भने फरक पर्छ ।’ 
चराले धेरै कुरालाई फाइदा दिन्छ । खेतबारीमा पाइने किरा फट्याङ्ग्रा चराले खाइदिन्छ । यस्तै जुरे कोइली भित्रिएको केही समयपछि मनसुन भित्रिन्छ भन्ने मान्यता पनि रहिआएको छ । 

विज्ञका अनुसार नेपालमा विश्वको झण्डै नौ प्रतिशत अर्थात् आठ सय ८७ प्रजातिका चरा पाइन्छन् । यस्तै विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा नेपालमा पाइन्छन् ।  आन्तरिक रूपमा एक सय ६८ प्रजातिका चरा सङ्कटमा परेका छन् । यी चरा एक पटक देखिएपछि फेरि नदेखिएका विज्ञ बताउँछन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया