नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ २७ गते

 जेठ २१, २०७८ शुक्रबार १५:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिकता अध्यादेशको विरुद्ध परेका मुद्दाको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा आज केही बेर सुनुवाइ भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ २७ गते हुने सर्वोच्च अदालतले जनाएको छ । 

नागरिकता अध्यादेशको विरुद्धमा परेका मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा

आफूसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गर्नुभएको हो । 

वरिष्ठताकै तहमा रहनुभएका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नसक्ने भएपछि ईश्वरप्रसाद खतिवडालाई राखिएको छ । 

प्रतिनिधि सभा विघटनको विषयमा गठन गरिएको संवैधानिक इजलासमा विवाद भएपछि अध्यादेशविरुद्धको मुद्दामा भने प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा न्यायाधीश छानेर इजलास गठन गर्नुभएको हो ।

सरकारको सिफारिसमा यहीँ जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण न्याैपाने लगायतले रिट दायर गर्नुभएको थियो ।   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया