लमजुङको ‘मनमोहक’ इलम पोखरी  (फाेटाे फिचर)

 जेठ २२, २०७८ शनिबार १८:५१:१० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – उच्च ठाउँमा अवस्थित समथर भूमि । बीचैमा इलम देवीको मन्दिर । मन्दिरकाे छेउमै मनै लोभ्याउने इलम पोखरी । 

चारैतिर हरियाली जंगलले घेरेको छ पोखरीलाई । चराचुरुङ्गीको चिरबिर आवाज । बयली खेल्ने शितल पवन । यहाँको प्राकृतिक सौन्दर्यले भुतुक्कै पार्छ, यहाँ पुग्ने जोकोहीलाई पनि । प्रकृतिले फुर्सदमा सिँगारेको छ, लमजुङको दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाको सीमानामै पर्ने इलम पोखरीलाई ।

ऐतिहासिक, धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ यो पोखरी । स्थानीयहरुका अनुसार पहिले यहाँ ठूलो पोखरी थियो । पानीको श्रोत भएकाले यस ठाउँ वरपर मानिसहरु बसोबास गर्दथे । अहिले यस ठाउँमा मानिसको बसोबास खासै छैन ।

दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार पहिले पानीले भरिएको यो पोखरी अहिले भने सिम्सार क्षेत्रमा परिणत हुँदै छ । पात–पतिंगरका साथै बगेर आउने माटोले बिस्तारै पोखरी पुरिदैँ गएको छ । पोखरीको आकार घटेको छ । अझै पनि केही मात्रामा भने पानी छ पोखरीमा ।

‘यो धार्मिक स्थल हो । यहाँ पहिले ठूलो पोखरी थियो । तर अहिले मलिलो माटोले पोखरी पुरिँदै गएको छ । आकार घट्दै गएको छ,’ उपाध्यक्ष घलेले भन्नुभयो, ‘अहिले यहाँ सिम्सार बनेको छ ।’

हराउँदै ‘इलम मेला’ 

पाको पुस्ताका अनुसार परापूर्वकालमा यस ठाउँमा हरेक वर्षको चैत पूर्णिमामा ठूलो इलमपोखरी मेला लाग्ने गर्दथ्यो । मेला भर्नका लागि लमजुङ, तनहुँ, गोरखा लगायतका ठाउँबाट उल्लेख्य संख्यामा भक्तजनहरु आउँथे । रातभर जाग्राम बस्थे । मौलिक ठाडो भाका गाउँथे । नाचगान गरी रमाइलो गर्दथे । तर अहिले याे परम्परा हराउँदै गएको स्थानीय बताउँछन् ।

‘पहिले–पहिले इलम पोखरीमा ‘इलम मेला’ लाग्ने गर्दथ्यो । यसलाई ‘नेर्को बजार’ पनि भन्ने गरिन्थ्यो,’ गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयाे ।

संरक्षणमा जुट्दै स्थानीय र प्रदेश सरकार

दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिकाका साथै गण्डकी प्रदेश सरकारले अहिले यस क्षेत्रको संरक्षणमा विभिन्न प्रयासहरु गरिरहेको छ । विभिन्न भौतिक संरचनाहरु पनि बनाइएको छ । यस क्षेत्रको संरक्षणका लागि दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र गण्डकी प्रदेश सरकारले पनि सघाउँदै आएको छ । अहिले यस ठाउँमा विभिन्न भौतिक संरचना निर्माण गरिएका छन् । 

यस ठाउँमा विभिन्न समयमा आन्तरिक पर्यटकहरु पुगिरहन्छन् । धार्मिक एवं ऐतिहासिक महत्वको इलम पोखरीको संरक्षण, सम्बर्द्धन गर्नुका साथै यसको प्रचारप्रसार गर्न सकेमा यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । पर्यटकको आगमन बढाउन सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया