फौजदारी अभियोगमा सजाए पाएका मन्त्रीलाई बर्खास्त गर्न माग, प्रदेश सभा बैठक रोकियो

 जेठ २४, २०७८ सोमबार १६:२६:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत – फौजदारी अभियोगमा सजाए पाएका मन्त्रीलाई तत्काल बर्खास्तको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजदेखि सुरु भएको कर्णाली प्रदेश सभा बैठक रोकेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा अदालतबाट फौजदारी मुद्दा पुष्टि भएर सजाए पाएका व्यक्ति भएकाले सरकारले तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो । 

एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकाले त्यो नसच्चाएसम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले एमालेले सरकारलाई रचनात्मक सहयोग गर्ने तर राजनीतिक अपराधी सरकारमा संलग्न भएको मूकदर्शक भएर हेर्न नसकिने भन्दै तत्काल बर्खास्त गर्न माग गर्नुभयो । मन्त्री थापा मन्त्रीमा नियुक्त भएपछि किर्ते जालसाजी मुद्दामा सजाए पाएको कुरा बाहिरिएको थियो । सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 

एमाले संसदीय दलका नेता कँडेलले राजनीतिक निर्णय लिन पाइने तर राजनीतिक अपराध गर्न नपाइने भएकाले सरकारले सच्याउनुपर्ने बताउनुभयो । अदालतले अभियोग पुष्टि गरिसकेका व्यक्ति झण्डा हल्लाउँदै यो सम्मानित सभामा आउँदा सभाको मर्यादा नहुने भन्दै सरकारले तत्काल सच्याउनुपर्ने उहाँको भनाइ छ । 

मन्त्री थापाले 'फ्लोर क्रस' गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिएपछि गएको वैशाख ४ गते मन्त्रीमा नियुक्त हुुनु भएको थियो ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया