देशमा ‘पाइला–पाइलामा’ मा षड्यन्त्र भइरहेको छ, उचित समयमा सबै खुल्छ : नेता भट्टराई

 जेठ २४, २०७८ सोमबार १७:३६:२२ | किरण लोहनी
unn.prixa.net

गोरखा – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा पाइल–पाइलामा षड्यन्त्र भइरहेको बताउनुभएको छ । गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुरा गर्दै नेता भट्टराईले यस विषयमा प्रमुख दलका सबैजसो प्रमुख नेताहरू जानकार रहेको बताउनुभयो । 

‘मलाई प्राप्त भएको सूचना प्रधानमन्त्रीलाई पनि थाहा छ तर सबै तैँ चुप मै चुप भएका हुन्, यो धेरै लुकेको विषय होइन’, भट्टराईले भन्नुभयो,  ‘बन्द कोठामा त अरु पनि बोल्छन् तर पूर्वप्रधानमन्त्री र देशलाई माया गर्ने मान्छे भएको र यी शक्तिहरूको तागत र अवस्था देखेको भएर अब खासखुस गरेर बस्नु हुन्न, नागरिकलाई सुसूचित गर्नुपर्छ, मैले चाहिँ बोलेको हो, उचित समयमा यो कुरा खुल्छ ।’

आफूले अहिले षड्यन्त्रभित्रको नीतिगत कुरा मात्रै बाहिर ल्याएको भन्दै भट्टराईले त्यसभित्रको प्राविधिक कुरा भने हार–जित नभएसम्म बाहिर भन्न नमिल्ने बताउनुभयो । आफूले प्राप्त गरेको सूचनाअनुसार देशभित्र र बाहिरका प्रतिगमनकारी शक्तिहरु मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने र देशलाई अनिश्चयको अँध्यारो सुरुङतिर धकेल्ने षड्यन्त्र भइरहेको उहाँको दाबी छ । 

जनता समाजवादी पार्टीको एक समूहको सरकारमा सहभागितालाई पनि नेता भट्टराईले प्रतिगमनकारीहरूको षड्यन्त्रका रुपमा अथ्र्याउनुभयो । ‘पहाडका नक्कली राष्ट्रवादी शक्ति र मधेशको क्षेत्रीय नारा लिएर मधेशीलाई ठग्नेहरू एक ठाउँमा आएका छन्, विपरीत ध्रुवमा उभिएकाहरू एक ठाउँमा आएका छन्, त्यसले पनि व्यवस्थालाई खतरा पार्ने षड्यन्त्रको सङ्केत गर्दछ’, भट्टराईले भन्नुभयो, ‘ती त प्यादाका रूपमा सरकारमा पठाइएका हुन् ।’ 

प्रतिगमनलाई परास्त गर्न आवश्यक पर्दा चौथो जनआन्दोलन गर्नुपर्ने पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल–खनाल समूह, जसपा र जनमोर्चाबीच कार्यगत एकता भइ सङ्घ, प्रदेश र पालिकासम्म आन्दोलन गर्नेबारे प्रारम्भिक छलफल भएको पनि नेता भट्टराईले जानकारी दिनुभयो । आवश्यक परे पूर्व माओवादीहरू एकीकृत हुन सक्ने पनि उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया