एनसेलले परिमार्जन गर्‍याे १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क

 जेठ २६, २०७८ बुधबार ८:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्क नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका एनसेलले जनाएको छ ।

गएको जेठ ९ गते  नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो । प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ । 

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क करबाहेक प्रति मिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क करबाहेक ३० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट ४ रुपैयाँ ९९ देखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको छ एनसेलले जनाएको छ ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएको छ । साथै यस अघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो । 

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७ दशमलव ५ करोड रुपैयाँभन्दा बढी नोक्सान भोगेको एनसेलले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया