कालीकाेटमा सहुलियतकाे चामल लिनेकाे घुइँचाे

 जेठ २६, २०७८ बुधबार १५:११:२५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो । 

एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी चामल बिक्री भएको शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

‘कोरोना पीडित नागरिकलाई छुटले विशेष राहत भएको छ’, लामिछानेले भन्नुभयाे, ‘काम गर्न नपाएर मर्कामा परेका नागरिकले अहिले सहुलियतको चामल लिइरहेका छन् ।’ स्थानीय प्रशासनको सल्लाहमा सोमवारदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र चामल बिक्री गर्न थालिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धित वडाको सिफारिस र नागरिकताको आधारमा २५ किलोको एक बोरा चामल दिने गरेको छ ।

सरकारले छुटको घोषणा गरेपछि चामल लिनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । कम्पनीले २० प्रतिशत छुट गर्नुअघि २५ किलोको अरुवा मोटा चामल प्रति बोरा एक हजार एक सय ८७ रुपैयाँमा बिक्री गरिरहेको थियो । अहिले नाै सय ५० रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै एक हजार पाँच सय पर्ने अरुवा मध्यम चामल एक हजार दुई सय, एक हजार ६ सय ५० पर्ने जिरा मसिनो चामल छुटपछि एक हजार तीन सय २० र यसअघि एक हजार चार सय ४० मा बिक्री हुने मकवानपुर चामल एक हजार इक सय ५२ रुपैयाँमा बिक्री भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया