पहिरोका कारण देशका धेरै राजमार्ग ठप्प, पानी परिरहेकाले पहिरो हटाउन समस्या

 असार १, २०७८ मंगलबार १७:६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – केही दिनदेखि लगातार परेको पानीका कारण देशका धेरै ठाउँमा पहिरो गएको छ । पहिरोका कारण धेरै राजमार्ग ठप्प भएका छन् ।

पहिरोले बैतडीको पुर्चौडी नगरपालिका ६ ढोलेको खोड्पे–बझाङ सडक खण्ड बन्द भएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण बाग्लुङ–पोखरा सडक खण्ड पनि ठप्प छ ।

गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक खण्ड पनि पहिराेका कारण ठप्प भएको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ को भगाँरी खोलामा साेमवार राति पहिरो खसेपछि सडक बन्द भएको हो ।

त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका २ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ । सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।

ठाउँ–ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको इन्द्रेगौँडा–वामीटम्सार, रुद्रवेणी–पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकसमेत बन्द भएका छन् ।  

यस्तै दुई दिनदेखिको वर्षाका कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड पनि ठप्प भएको छ । पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे–धुन्चे सडक खण्डको मूलखर्कमा ठूला–ठूला ढुङ्गा झरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशुली खोला, सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु–रसुवागढी सडक खण्ड अन्तर्गत तातोपानीमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।

यस्तै पहिरोका कारण काठमाण्डौ–फाकेल सडक खण्ड पनि बन्द छ । नवलपरासीको दाउन्नेमा भने मङ्गलवार बिहान खसेको पहिरो केही हटाएर एकतर्फी बाटो खुलाइएको छ । त्यसैगरी पृथ्वी राजमार्गको जोगीमारमा पनि पहिरो हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया