कर्णालीमा ३६ अर्ब ५४ कराेडकाे बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

 असार १, २०७८ मंगलबार १९:३४:५८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज प्रदेश सभाको बैठकमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । 

सरकारले पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीयतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको हो । 

सरकारले स्वास्थ्य क्षेत्रलाई बजेटमा पहिलो प्राथमिकता दिएको छ । कोरोना रोकथाम नियन्त्रण, उपचार तथा  प्रतिकार्यमा ५३ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्ट  र अन्य जिल्लामा मिनि अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै कोरोना सङ्क्रमितको निःशुल्क उपचार र खोपका लागि बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । समग्र स्वास्थ्य सुदृढीकरण गरी गुणस्तर सेवामा पहुँचका लागि सरकारले दुई अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिने, सुर्खेत, जुम्ला, रुकुम पश्चिममा विशिष्टकृत नमुना शिक्षालय सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रियालगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन भएको छ । शहिद, घाइते, अपाङ्ग भएका व्यक्तिका छोराछोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने व्यवस्था, बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमलाई निरन्तरता दिएको छ । 

यस्तै प्रदेश सरकारले खेल पूर्वाधार निर्माण गर्न ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  मुख्यमन्त्री रोजगार अन्र्तगत प्रत्येक घर, स्वरोजगार कार्यक्रम अघि बढाइने उल्लेख छ । सहुलियत कर्जामार्फत कृषि, पशुपालन साना उद्यम र ब्याज उपलब्ध गराउन एक अर्ब रुपैयाँ विनियोजन गरिको छ ।  

यस्तै केन्द्रदेखि मुख्य र जिल्ला सदरमुकाम जोड्ने सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । 

खानेपानी र सरसफाइका लागि एक अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन गरिको छ ।  विद्युत् विकास कम्पनी स्थापना गरी कार्य अघि बढाइने पनि बजेटमा उल्लेख छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया