लुम्बिनी प्रदेशको बजेट ४० अर्ब, कोभिड नियन्त्रणमा प्राथमिकता

 असार १, २०७८ मंगलबार २०:५:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब रुपैयाँभन्दा बढीकाे बजेट सार्वजनिक गरेको छ । प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ । यस्तै पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड नियन्त्रण , उपचार , कृषि र पूर्वाधार निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ । ‘जीवन रहे त्यसलाई सजाउन र सिँगार्न सकिन्छ’ भन्ने मान्यतालाई ध्यानमा राखेर पहिले कोभिड भन्ने नीति अवलम्बन गरिएको जनाउँदै मन्त्री चौधरीले बाटोघाटो बनाउँदै गरौँला, नहर खन्दै गरौँला, तर पहिले बाँचौ र बचाऔँ भन्ने मूलमन्त्र बनाइ प्रदेश सरकारका काम कारबाही व्यवस्थित गरिएको बताउनुभयो ।

सरकारले कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन, अक्सिजनको आपूर्ति सहज बनाउन, निःशुल्क उपचारको व्यवस्था मिलाउन, थप प्रयोगशाला सञ्चालन गर्न तथा भएकाको स्तरोन्नति गर्न, पालिकाले सञ्चालन गरेका क्वरेण्टीन तथा आइसोलेशन केन्द्रको व्यवस्थापन गर्न तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि भत्तालगायत कुरामा केन्द्रित रहेर बजेट विनियोजन गरेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया