मर्स्याङ्दी नदीमा पानीकाे बहाव बढ्याे, सतर्कता अपनाउन प्रशासनको आग्रह

 असार १, २०७८ मंगलबार २०:१८:४७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मर्स्याङ्दी नदीमा पानीको बहाव बढेको छ । यस नदी किनारामा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाइ सुरक्षित ठाउँमा बस्न लमजुङ प्रशासनले अनुरोध गरेको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिका क्षेत्र भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएकाले यस ठाउँका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र आसपासका शाखा नदीहरूमा समेत वर्षायाममा बाढी आउने र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीयवासीलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेलले जानकारी दिनुभयो ।

मनसुनजन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका साथै राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन जिल्लामा रहेका सबै राजनीतिक दल, स्थानीय सङ्घ–संस्था, सञ्चारकर्मी तथा पालिकामा उपलब्ध जनशक्तिलाई तयारी अवस्थामा रहनसमेत लमजुङ प्रशासनले आग्रह गरेको छ ।

जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखलाई मनसुनजन्य विपद्का सूचना छिटो–छरितो बनाउन टेलिफोन, मोबाइल फोन, इमेल, इन्टरनेट लगायत उपलब्ध हुन सक्ने सञ्चारका सबै माध्यमलाई क्रियाशील राख्नसमेत प्रशासनले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया