मेलम्ची बजार बाढीकाे जाेखिममा, हेलम्बुमा हराएका ६ जना अझै सम्पर्कविहीन

 असार २, २०७८ बुधबार ६:१०:२७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको छ । इन्द्रावती र मेलम्चीमा आएको बाढी हिजो हेलम्बु बजारमा पसेको र बिहान मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

हिजो बेलुकी मेलम्ची खोलामा पानीको सतह निकै घटेकोमा बिहानीपख बढ्न थालेको र कतै खोला थुनिएर खुल्न थालेको आशंकामा स्थानीयबासिन्दा त्रसित रहेका उहाँले बताउनुभयो । बजारका बासिन्दाले घर छाडेर केही माथि सरेका छन् । हिजो हेलम्बुमा बाढी पसेको बेला भागेकामध्ये ६ जना अहिले पनि सम्पर्कविहीन छन् । नेपाली सेना र नेपाल प्रहरीले उनीहरुले खोजी गरिरहेको तर मोबाइल बन्द रहेकाले राति भेटाउन नसकेको र आज बिहानैदेखि खोजी भैरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

बाढीले हेलम्बुका थुप्रै घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको उहाँले बताउनुभयो । मनसुन नेपाल भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै चार–पाँच दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

पानी परेसँगै विभिन्न नदीमा पानीको सतह पनि बढेको छ । अहिले नारायणी नदीमा पानीको वहाव बढेकोले म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया