कोरोना महामारीमा बढेको छटपटी यसरी कम गर्नुहोस्

 असार ३, २०७८ बिहिबार १३:४५:५६ | डा. पशुपति महत

कोरोनाको दोस्रो लहरमा धेरै मानिस सङ्क्रमित भएको र मृत्यु हुनेको सङ्ख्या पनि धेरै भएको हुँदा  मानिसमा डर बढी नै भएको छ ।

एउटा समय त एकदमै डर त्रासको स्थिति रह्यो । अक्सिजन नपाउने, बिरामीहरूले अस्पतालमा बेड नपाउने, अक्सिजन नपाएर ज्यान गुमाउन परेको जस्ता खबरहरू आए । जसको कारणले गर्दा मानिसमा ‘प्यानिक एन्जाइटी’ अर्थात् धेरै नै डराउने, आत्तिने समस्या भयो । जसको कारण सास फेर्न गाह्रो हुने हुँदा धेरैले मलाई पनि कोरोना नै पो लाग्यो कि भन्ने त्रासमा भएका धेरैले हाम्रो संस्थामार्फत हामीलाई सम्पर्क गर्नुभयो । 

अर्को चाहिँ डिप्रेसनको केस पनि एकदमै बढेको छ । किन भने कोरोनाको कारणले लकडाउन भयो । कतिपय मानिसले आफन्त गुमाएको अवस्था छ । शोकले पनि धेरै व्यक्तिहरू शोकाकुल अवस्थामा रहेको पाइयो । महामारी नआएको भए मैले आफन्त गुमाउन पर्दैन थियो भनेर डिप्रेसनको समस्या भएको पनि पाइयो ।

योसँगै यो महामारीको समयमा हामीले एन्जाइटी र आत्महत्याको प्रयासको केश पनि पाइयो । यस्तो समस्या भएका व्यक्तिहरूले हेल्प लाइनमा फोन गरेर पनि सेवा लिनुभएको छ ।

अहिलेको यो समयमा कोरोना, कोरोनाको कारणले सिर्जित आर्थिक समस्या लगायतका कारणले एक खालको तनावमा मानिसहरू रहेको अवस्था छ । तर यो समस्या सबैमा छैन । छटपटी, बेचैनी, बाहिर निस्कन पनि डर लाग्ने, निद्रा नलाग्ने कसैको फोन आयो भने पनि न आफन्तलाई पो केही भयो कि भन्ने खालको त्रास मानिसमा छ ।

परिवार समस्या हुँदा परदेशीलाई तनाव

गएको वर्ष गन्तव्य देशहरूमै कोरोनाको कारण श्रमिकहरू समस्यामा पर्नुभएको अवस्था थियो । तर अहिले हाम्रो नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा पनि खोप पाइएको छ । मृत्युदर पनि कम छ । दोस्रो लहरमा त कोरोनाबाट नेपालीले ज्यान गुमाएको घटना पनि सुनिएको छैन । 

तर अहिले नेपालमा भएका परदेशीका आफ्ना आफन्तलाई सङ्क्रमण भएको छ । उपचार पाइरहेको अवस्था छैन । अक्सिजनको अभाव, कतिपयले त आफन्त कोरोनाकै कारण पनि गुमाउनुभएको छ । जसको कारण परदेशमा रहेकाहरूमा तनाव भएको अवस्था छ ।

यो बेला त श्रमिकले नेपालमा भएको क्षति कम गर्न बरु सहयोग गर्नुभएको छ । आफन्तहरू प्रभावित भए भनेर उनीहरूले आफ्नो गाँस कटाएर भए पनि नेपालमा सहयोग गरेको अवस्था छ ।

यता भएकालाई पनि मैले मेरो आफन्त भेट्न पनि पाउँदिन कि भन्ने अवस्था छ । कोरोनाकै कारणले कतिपय परदेशीले आफन्त गुमाउनुभएको छ र पनि उहाँहरू आउन पाउनुभएको छैन । यसले गर्दा एक खालको मानसिक तनाव परदेशीमा पनि छ ।  गन्तव्य देशमा अहिले कोरोना लागेर, खान नपाएर समस्या भएको चाहिँ त्यति सुनिएको छैन । बरु भिसा सकिएकाहरू पनि घर फर्कन नपाउँदा कम्पनीले फेरि काममा लगाएको भन्ने कुराहरू पनि सुनिएको छ । 

यो बेला त श्रमिकले नेपालमा भएको क्षति कम गर्न बरु सहयोग गर्नुभएको छ । आफन्तहरू प्रभावित भए भनेर उनीहरूले आफ्नो गाँस कटाएर भए पनि नेपालमा सहयोग गरेको अवस्था छ । केही समय अघि मात्रै उहाँहरूले अक्सिजन सिलिन्डर नै पठाउनुभयो । 

मानसिक समस्याको व्यवस्थापन

यो महामारी हाम्रो बसको कुरा होइन । यो महामारी हाम्रो नियन्त्रणको कुरा होइन भनेर हामी सबैले बुझ्न जरुरी छ । यो सधैँ आउने पनि होइन । यो विरलै आउने कुरा हो । त्यसैले हामीले हाम्रो भाषामा के भन्छौ भने यो असामान्य परिस्थिति हो ।

यो असामान्य परिस्थितिमा मानिसलाई डर लाग्नु, निद्रा नलाग्नु, छटपटी हुनु, के गरौँ कसो गरौँ हुनु सामान्य प्रतिक्रिया हो । यसलाई मानसिक रोग नै भइसकेको भनेर लिन मिल्दैन । जब परिस्थिति सामान्य परिस्थितितिर फर्कन्छ तब हाम्रो मन र शरीरले पनि सबै कुराहरू बिर्सेर सामान्यतर्फ नै आउँछ ।

जस्तो पहिलो लहरमा पनि हामी निकै नै डरायौँ तर हामीले बिस्तारै यो समयलाई पार गर्दै गर्दा ती डरहरू पनि हराउँदै गयो र हामी निकै नै आत्मविश्वासी भयौँ । जसको मूल्य पनि अहिले हामीले चुकाइरहेका छौँ । पहिलो लहर कम हुँदै जाँदा सावधानीहरू कम अपनाएकै हो । तर अहिले पनि दोस्रो लहर घट्दै गएको छ । यो समय पनि बिस्तारै सामान्यतर्फ जाने छ नै ।

त्यस कारण यति बेला हाम्रो मन र शरीरले महसुस गरेका तनावहरू जुन छ त्यसलाई पनि सहने विभिन्न प्रकारका स्वस्थ तरिकाहरू छन् । एउटा त आफ्नो मनलाई धैर्य राख्न पर्यो । यो समय बिस्तारै हटेर जानेछ । यो सधैँ रहँदैन । खोप आएको छ यसले सहयोग गर्छ । अरू देशमा पनि बिस्तारै नर्मलतर्फ जाँदै छन् भनेपछि हामी पनि बिस्तारै नर्मलतर्फ जान्छौँ भनेर आफूलाई आशावादी बनाउन सकिन्छ ।

आफ्नो मनमा डर त्रास के छ त्यो आफ्नो परिवारका सदस्यसँग साट्न सक्ने एउटा वातावरण बनाउन पर्छ र हरेक दिन आधा घण्टाजस्तो बसेर आफ्नो कुराहरू साटासाट गर्नुपर्छ । यसले परिवारमा हामी सबै स्वस्थ छौँ भन्ने सन्देश पनि दिन्छ र शान्ति पनि मिल्छ । 

अर्को चाहिँ आफ्नो मन र शरीरको तनाव घटाउने विभिन्न तरिकाहरू हुन्छन् । जस्तै योग, ध्यान, त्यो पनि गर्न सकिँदैन भने व्यायमहरु गर्न सकिन्छ । बिहान बेलुका सुरक्षाका उपायहरू अपनाएर ‘वाक’मा निस्कन सकिन्छ । घरमा भएको र खेतबारीमा भएको काम गर्न, किताब पढ्न, आफूमा कुनै सीप छ भने त्यसको प्रयोग गर्न सकिन्छ । 

सबैभन्दा ठुलो कुरा चाहिँ आफ्नो परिवारका सदस्यहरू बसेर आफ्नो मनको भावनाहरु साटासाट गर्न पर्छ । आफ्नो मनमा डर त्रास के छ त्यो आफ्नो परिवारका सदस्यसँग साट्न सक्ने एउटा वातावरण बनाउन पर्छ र हरेक दिन आधा घण्टाजस्तो बसेर आफ्नो कुराहरू साटासाट गर्नुपर्छ । यसले परिवारमा हामी सबै स्वस्थ छौँ भन्ने सन्देश पनि दिन्छ र शान्ति पनि मिल्छ । 

सबैलाई सँगै देख्दा मनको डर पनि घट्छ । हाम्रो नित्य कर्म समयमै गर्नुपर्छ । समयमा सुत्ने, उठ्ने, खाना खाने, दिनको समयमा बाहिर निस्कन हुँदैन भने पनि के गर्ने भनेर घरभित्रै गर्न सकिने कामको योजना बनाउन सकिन्छ । सबैले काम बाँडफाँड गरेर परिवारका सदस्यसँगै बसेर गर्ने गर्दा हुन्छ ।

यदि सकिन्छ भने मास्कको प्रयोग गरेर नै समूहमा काम गर्न म सुझाव दिन्छु । यस बेला झोल कुराहरू खाने, प्रशस्त पानी पिउने गर्नुपर्छ  । किन पानी धेरै खान पर्छ भने तनावले गर्दा हाम्रो शरीरमा भित्र रासायनिक प्रतिक्रिया हुन्छ । यसले गर्दा हाम्रो शरीर भित्र भित्रै सुख्खा भएको हुन्छ । जसको कारण डिहाइड्रेड हुन्छ । यसले गर्दा अरू हानी गर्छ ।

यो समयमा नआत्तिऔँ । अहिले जागिर गुमेको होला, आर्थिक घाटा भएको होला, अन्य विभिन्न समस्या भएका होलान् । तर त्यो भन्दैमा निराश भएर बस्यो भने भोलिको दिनमा हामी माथि उठ्ने बेलामा झन् धेरै बिरामी भएर केही गर्न नसकिने हुनसक्छ ।

एक त यो गर्मीको समय छ । त्यस कारण प्रशस्त पानी खाने, झोलिलो खानेकुराहरू खाने, फलफूलहरू पनि खानुपर्छ । यो समयमा उपलब्ध के छ त्यसअनुसार सकेसम्म खानुपर्छ । दाल तरकारीहरू मिलाएर खान पर्छ । शरीर पनि स्वस्थ हुन्छ, मनको तनाव पनि घट्छ । अहिले त प्रविधि छ ।

आफ्ना मानिसको कुरा सुन्नका लागि भेट्नुपर्छ भन्ने पनि छैन । आफ्नाको कुराहरू विभिन्न माध्यममार्फत सुन्ने र साट्न सकिन्छ । एक आपसमा दुःख वेदना टेलिफोनमार्फत नै साट्ने गर्दा हुन्छ ।

हाम्रो सधैँ भेट्ने बानी ए भेट्न जाऊ भनेर जान हुँदैन । किनकि अहिले कतिपय मृत्युहरु परीक्षण नगरेको भए पनि कोरोनाबाट भएको हुन सक्छ । त्यो भएर सावधानी अपनाउँदा राम्रो हुन्छ । अवस्था सामान्य भएपछि भेटेर कुरा गर्ने भनेर भाका राख्दा पनि हुन्छ । 

अर्को महत्त्वपूर्ण कुरा भनेको यो समयमा नआत्तिऔँ । अहिले जागिर गुमेको होला, आर्थिक घाटा भएको होला, अन्य विभिन्न समस्या भएका होलान् । तर त्यो भन्दैमा निराश भएर बस्यो भने भोलिको दिनमा हामी माथि उठ्ने बेलामा झन् धेरै बिरामी भएर केही गर्न नसकिने हुनसक्छ । संसार भरी नै यो खालको क्षति छ । त्यसलाई कसरी सहने भनेर विभिन्न उपायहरू त छ नै ।

गुमेको कुरा सम्झेर धेरै दुःखी हुने भन्दा पनि यो विपद्को बेला नेपालीहरूको एउटा उखान छ नि ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ भन्ने । हो यो महाव्याधिको बेलामा आफू सुरक्षित भइयो भने  भोलि सबै कुरा विकास गर्न सक्छौँ ।

गुमाएका व्यक्तिलाई ल्याउन सकिँदैन । तर भएका हामीले गुमेका अन्य कुराहरूको विकास गर्न सकिन्छ  । हामी आफू जति स्वस्थ हुन सक्छौँ त्यति नै आफू र अरूलाई पनि सहयोग गर्न सक्छौँ । बढी आत्तिएर रुँदै कराउँदै, सङ्क्रमितहरुकोमा जाने गरियो भने अझ क्षति हुन्छ । त्यस कारण हामी सबैले जो जहाँ भए पनि यी उपायहरू अपनाऔँ ।

फोनमार्फत यसरी लिनुहोस् सेवा

महामारीको यो समयमा तपाईँहरूलाई अस्पताल जान डर लागेको छ तर मनमा यसअघि उल्लेख गरिएकाजस्तो समस्याहरू छन् भने अहिले त विभिन्न नम्बरहरूमा निःशुल्क फोन गरेर निःशुल्क सेवा लिन सकिन्छ । हाम्रो संस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको टोल पिर् नम्बर १६६०८५०८० मा र महिला आयोगको निःशुल्क हटलाइन नम्बर ११४५ मा सम्पर्क गरेर सहयोग लिन सकिन्छ । 

अहिले विभिन्न प्रदेशहरूले पनि आफ्नो हेल्प लाइन नम्बरहरू तोकेका छन् । विभिन्न विज्ञको नम्बरहरू पनि छन् । तपाईँहरूले हाम्रो संस्थाको वेबसाइट https://www.cmcnepal.org.np गएर पनि लिन सक्नुहुन्छ ।

फोनमार्फत समस्याहरू सुनेर डाक्टरहरूले औषधी यो खानुस् भनेर म्यासेजमा लेखि पठाउनुहुन्छ । त्यो देखेपछि औषधी पसलले पनि औषधीहरू दिन्छन् । कतिपय पालिकाहरूसँग पनि यसरी समन्वय गर्नुहोस् भनेर सुझाव दिने गरेका छौँ ।

सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत देशका ३९ जिल्लाका १५२ पालिकामा १५२ जना नै मनोपरामर्शकर्ताहरु पनि हुनुहुन्छ ।

अहिले त धेरैजसो उपचारहरू टेलि मेन्टल हेल्थ भन्छौं टेलिफोनमार्फत नै परामर्श प्रदान गरिरहेका छौँ । आइसोलेसनमा बसेका व्यक्तिहरूलाई फोन गरेर पनि सेवा दिइरहेका छौँ । पहिलो चरणमा क्वरेण्टीन सेन्टरमा गएर पनि परामर्श प्रदान गरिएको थियो ।

अहिले पनि पालिकाहरूले मनोपरामर्शकर्ताहरुको नम्बरहरू उपलब्ध गराएका हुन्छन् । सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत देशका ३९ जिल्लाका १५२ पालिकामा १५२ जना नै मनोपरामर्शकर्ताहरु पनि हुनुहुन्छ । तपाईँहरूले आफ्नो जनप्रतिनिधि मेयर, उपमेयर अध्यक्षहरूसँग मलाई गाह्रो भयो, मनोपरामर्श चाहियो भन्नुहोस् । उहाँहरूले पनि परामर्शकर्तासँग तपाईँलाई जोडिदिनुहुन्छ । तपाईँले नम्बर पाउनुभएको छ भने सिधै फोन गर्नुहोस् । यस्तो समस्या नलुकाउनुहोस् भन्न चाहन्छु ।

(चिकित्सा मनोविद् महतसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख १४, २०८१

डा. पशुपति महत

महत चिकित्सा मनोविद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया