मनाङमा बाढीले जलविद्युत् आयाेजनाकाे पावर हाउस र झोलुङ्गे पुल बगायो

 असार ३, २०७८ बिहिबार १८:२३:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा धेरै क्षति पुर्‍याएकाे छ । नदीमा आएको बाढीले आज (बिहीवार) पनि ङिस्याङ गाउँपालिका ४ सब्जी खोलामा रहेको एक जलविद्युत् आयोजनाको पावर हाउस बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो ।

यस्तै भर्खरै बाढीले मनाङ चामे गाउँपालिका ३ कोतो बजार र नार्पाभूमि १ जोड्ने एकमात्र झोलुङ्गे पुल पनि बगाएको उहाँले बताउनुभयो ।

लगातारको वर्षासँगै आएको बाढीले मङ्गलवार तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेकाे घट्टे खोलाको पक्की पुलका साथै काठे पुलसमेत बगाएको थियाे । यस्तै बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको थियाे । 

यस्तै मनाङको शिरानतालमा रहेका २४ जना र नासोँ गाउँपालिका ५ थोँचे गुम्बामा रहेका ११ जना गरी ३५ जनाको बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले जानकारी दिनुभयो ।

बाढीका कारण मनाङको ताल गाउँ, चामे लगायतका विभिन्न ठाउँका गरी एक हजारभन्दा बढी स्थानीयवासी विस्थापित भएका उहाँले बताउनुभयो ।

लगातारको वर्षासँगै आएको बाढीले पूरै जिल्ला नै प्रभावित भएको र उद्धार कार्य भइरहेको डीएसपी खड्काले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया